site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साढे दुईवर्षे आयोजना पाँचमा हिँड्दै, बल्ल गति लिँदै भूमिगत तार योजना

काठमाडौं । विद्युत् तार जसले सहर विरूप पार्दै लगेको थियो, त्यस्ता विरूप दृश्य अन्त्य गरी सुन्दर सहरको योजनासहित नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि तार भूमिगत काम थाल्यो । सहरको मुख्य सडकका तारलाई भूमिगत गरी सुन्दर बनाउने उद्देश्यसहित थालिएको ‘केबल अन्डर ग्राउन्ड’को काम अझै सकिएको छैन ।

काठमाडौंका मुख्य स्थानका तार भूमिगतको काम पूरा हुन अझै ६ महिनाभन्दा बढी लाग्ने देखिएको छ । साढे दुई वर्षमा सक्ने भनेर सुरु गरिएको परियोजनाको काम पाँच वर्षसम्म नसकिँदा लागत पनि बढेको छ ।

कोरोना महामारी, सडक विभागको स्वीकृतिलगायत कारण देखाउँदै समयमै काम नसकिएपछि ठेकेदारले भनेअनुसार म्याद थप भइरहेको छ । काठमाडौंमा तीन प्याकेजमा काम भइरहेका छन् । तीनै प्याकेजको औसत काम ८० प्रतिशतको हाराहारीमा सकिएको छ ।

Dabur Nepal
NIC Asia

प्राधिकरणले तार भूमिगत गर्दा खनेका सडकले हिउँदमा धुलो र वर्षामा हिलोले हैरान बनाउँछ । उसै त साघुँरा सडक, त्यसमाथि तार भूमिगत गर्दा बिच्छ्याउने संरचनाले गर्दा जाम बढ्ने गरेको छ ।

‘‘यसअघि सडक समयमै खन्न केही समस्या थियो, अब त्यो समस्या छैन । काम धमाधम भइरहेको छ,” परियोजना प्रमुख तारा प्रधानले भने, “धेरै ठाउँमा अनुमति आएको छ । ठेकेदारले पनि काम धमाधम गरिरहेको छ ।”

भूमिगत तारको काम कलंकीदेखि–थानकोट, त्रिपुरेश्वरदेखि–लैनचौर, माइतीघर–तीनकुनेतर्फ धमाधम काम भइरहेको प्रधानले बताए ।

“अनुमति पाएका स्थानमा कामलाई तीव्रता दिएका छौँ । महानगरपालिकासँग पनि समन्वय गरेर कामलाई तीव्ररूपमा भइरहेको छ,” उनले भने ।

काठमाडौंमा तीनवटा प्याकेज छुट्याएर काम भइरहेको छ । यस्तै, ललितपुर र भक्तपुरमा पनि काम भइरहेको छ । उपत्यकाबाहिर चितवन र पोखरामा पनि तार भूमिगतको काम भइरहेको छ ।

काठमाडौं जिल्लाअन्तर्गत लाजिम्पाटदेखि, महाराजगञ्ज हुँदै बूढानीलकण्ठ क्षेत्र र रत्नपार्क, पुतलीसडक हुँदै एयरपोर्टक्षेत्रसहित दुईवटा प्याकेजको काम भारतीय कम्पनी केईआई कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । यी दुई प्याकेजको काम करिब अन्तिम चरणमा पुगेको आयोजना प्रमुख बोधराज ढकाल बताउँछन् । 

तेस्रो प्याकेजअन्तर्गत कुलेश्वर, बल्खु हुँदै कीर्तिपुर र स्वयम्भू क्षेत्रमा एल एन्ड टी कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । यस प्याकेजको काम आउँदो वर्षाअगावै सक्ने गरी काम भइरहेको ढकालले बताए । सडक विभागले साउन, भदौ र असोज तीन महिना सडक खन्न अनुमति दिँदैन । प्राधिकरण उक्त वर्षाअघि नै प्याकेज तीनको पनि काम सक्ने कामलाई तीव्रता दिएको ढकाल बताउँछन् । काठमाडौं अलावा ललितपुर र भक्तपुर क्षेत्रको काम टाटा कम्पनीले गरिरहेको छ । 

“काठमाडौंको लामो समय भएका कारण हामी चाँडो सक्ने गरी काममा लागेका छौँ । ललितपुर, भक्तपुरतर्फ पनि अनुमति पाएपछि काम भइरहेको छ,” ढकालले भने, “काठमाडौंमा पछिल्लोपटक एक वर्षको म्याद थप गरेका थियौँ । सबै स्थानको अन्तिम–अन्तिम अवस्थामा पुगेको छ । धेरैजसो काम सकिएको छ ।”

काठमाडौंको धेरै स्थानमा तार भूमिगतको काम सकिएको र पोल मात्रै झिक्न बाँकी रहेको उनलले बताए । “कतिपय स्थानको काम सकिएको छ । इन्टरनेटका तारहरू व्यवस्थित नभएका कारण पोल भिक्न सकिएको छैन,” ढकालले भने, “पोल झिक्न महानगरपालिका र आईएसपीसँग छलफलमा छौँ ।”

काठमाडौंको न्युरोड, कीर्तिपुर, पेप्सीकोलालगायत स्थानमा भूमिगत तरिकाले बिजुली वितरण सुरु गरिसकेको छ । रत्नपार्क र महाराजगञ्जतर्फको तार भूमिगत गर्ने काम समयमा नसकिएपछि ठेक्काको सन् २०२४ डिसेम्बरसम्म रहेको म्याद ६ महिना थप गरिएको थियो ।

प्राधिकरण सडक विभागले समयमै खन्ने अनुमति नपाएको दोष लगाउने गरेको छ । विभाग प्राधिकरणले जथाभाबी सडक खनेर समस्या गरेको दोष लगाउँदा पाँच वर्षसम्म तार भूमिगतको काम सकिएको छैन ।

०७६ मा प्राधिकरण र विभागबीच भएको सम्झौतामा खनेको १० दिनभित्र सडक मर्मत गर्ने उल्लेख छ । तर, प्राधिकरणले त्यसअनुरूप नगरेको भन्दै विभाग र प्राधिकरणबीच बेलाबेला विवाद हुने गरेको छ । 

तार भूमिगत गर्दा सडकपेटीमै ठूला वितरण बक्सले पैदलयात्रीलाई समस्या भएको गुनासो बढेपछि प्राधिकरणले त्यसको उचित व्यवस्थापनसमेत सुरु गरेको छ । काठमाडौंका कतिपय स्थानमा सडक नै ढाक्ने गरी वितरण बक्स राखेपछि आलोचित भएको प्राधिकरणले त्यसको व्यवस्थापन गर्न थालेको छ । 

“हामीले पहिला अन्तर्राष्ट्रिय अभ्यासअनुसार सडकपेटीमा नै वितरण प्यानल राख्ने डिजाइन बनायौँ । तर, अन्य देशको सडकपेटी ठूलो हुने कारण त्यहाँ केही समस्या रहेन । तर, हाम्रोमा सडकपेटी सानो भएका कारण पनि समस्या भयो,” ढकाल भन्छन् ।

उनी भन्छन्, “यसपछि यसलाई सुधार गर्न प्यानल सानो गर्ने र ठूलो स्पेस भएको ठाउँमा राख्ने गरेका छौँ । यसअघि सडकपेटी ढाकिएर राखेका प्यानलहरू केहीको व्यवस्थापन पनि गरेका छौँ । यद्यपि, हाम्रो सडकपेटी निकै सानो भएका कारण पनि यसको व्यवस्थापन गर्न समस्या भएको छ । जहाँ जत्रो अट्छ त्यत्रो राख्ने गरेका छौँ । पेटी नै ढाकिएका संरचना हटाउँछौँ ।”

ढकालका अनुसार, सडकका कतिपय स्थानमा ठूला वितरण प्यानलले सडक नै ढाकेर पैदलयात्रीलाई सास्ती भएको गुनासो आउने गरेको छ । त्यसको समाधानका लागि आयात गर्दा नै त्यसको साइज सानो बनाउन लगाउने तथा जडान भइसकेका स्थानमा समेत पूरै असहज अवस्था भए त्यसको व्यवस्थापन गर्ने ढकाल बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro