काठमाडौं । सोमबार अर्थात् आज जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिँदै फेरि एक पटक इतिहास रच्नेछन् ।
उनी २० जनवरी २०१७ मा पहिलो पटक राष्ट्रपति बनेका थिए । चार वर्षसम्म ह्वाइट हाउसबाट टाढा रहेपछि अब ट्रम्प अमेरिकी राष्ट्रपति कार्यालयमा फर्कदैछन् । यो यस शताब्दीको ऐतिहासिक पुनरागमन हो ।
उनी त्यसो गर्ने दोस्रो अमेरिकी राष्ट्रपति हुन् । ट्रम्पभन्दा पहिले, यो रेकर्ड ग्रोभर क्लीभल्यान्डको नाममा थियो, जो सन् १८८५ मा पहिलो पटक अमेरिकाको राष्ट्रपति बनेका थिए । सन् १८८९ मा चुनाव हारेपछि उनी सन् १८९३ मा पुनरागमन गरेका थिए ।
‘कमब्याक किङ’को रूपमा आफ्नो स्वभाव अनुसार ट्रम्पले आफ्नो पदभार ग्रहण समारोहलाई भव्य र नाटकीय बनाउने योजना बनाइरहेका छन् । यद्यपि कतिपयले यसलाई देखावटी पनि भन्न सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपतिको पुनरागमनमा थप रंग थप्ने उद्देश्यले प्रविधि कम्पनीहरूले ट्रम्पको कार्यक्रमका लागि लाखौं डलर दान गरेका छन् । फलस्वरूप यो कार्यक्रम भव्य हुने आशा गरिएको छ ।
जोइन्ट कंग्रेसनल कमिटी अन इनागुरल सेरेमनी (जेसीसीआईसी) ले आयोजना गर्ने यस समारोहको परम्परा २०० वर्ष पुरानो हो ।
सन् १७८९ मा न्यूयोर्क सहरमा जर्ज वाशिंगटनको शपथ ग्रहण कार्यक्रम भएयता समारोहले शक्ति प्रदर्शनका साथ लोकतन्त्रलाई उत्सवको रुपमा मनाउँदै आएको छ ।
स्टार ट्रम्प
सत्तामा फर्किरहेका डोनाल्ड ट्रम्पको वर्ष हुन सक्छ, यो वर्ष । ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित हुने व्यक्तिहरूको जुन सूची सार्वजनिक गरिएको छ त्यसमा विश्वका केही ठूला नेताहरू, सहयोगीहरू, मित्र भएको नाटक गर्ने शत्रुहरू र कट्टर विरोधीहरू छन् ।
तर राष्ट्रपति कार्यालयले नै पाहुनाहरूको कुनै आधिकारिक सूची जारी गरेको छैन । यो सूचीका विषयमा धेरै अड्कलबाजीहरू भइरहेका छन् । इन्डियाना विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक सुमित गांगुलीलाई विदेशी पाहुनाहरूको सूची रोचक लागेको छ ।
“यो वास्तवमै विगतका परम्पराहरूभन्दा भिन्न छ । यसले सम्भवतः नवनिर्वाचित राष्ट्रपतिको विशिष्ट प्राथमिकताहरूलाई प्रतिबिम्बित गर्दछ,” गांगुलीले भने । दक्षिण एसियाली मामिला विज्ञ माइकल कुगेलम्यान यससँग ‘नयाँ नजिर’ भन्न रुचाउँछन्, जुन ट्रम्पको हकमा अप्रत्याशित होइन ।
“विदेशी नेताहरूलाई आउन आग्रह गर्नु उनका लागि एकदमै असाधारण प्रयास हो । तर मलाई लाग्छ यो समारोह उनका लागि विशेष दिन हुनेछ । सबैको ध्यान उनीमाथि हुनेछ र यदि यसमा विश्वका सबैभन्दा शक्तिशाली नेताहरू उपस्थित भए भने त यो उनका लागि अझ बढी उपलब्धिमूलक बन्नेछ,” कुगेलम्यानले भने ।
विशिष्ट अतिथि को होलान् ?
निवर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले शपथ ग्रहण समारोह परम्परालाई पुनर्जीवित गर्दैछन् । यो परम्पराअनुसार हार्ने उमेदवारहरू विजेताहरूसँगै मञ्चमा उपस्थित हुनेछन् । पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्लु बुश र बिल क्लिन्टन पनि यस समारोहमा सहभागी हुनेछन् ।
आफ्नो बिदाइ भाषणमा बाइडेनले अमेरिका केही सूचना प्रविधि क्षेत्रका अर्बपतिहरूको प्रभुत्व रहेको कुलीनतन्त्रमा परिणत हुन सक्ने चेतावनी दिएका थिए ।
विडम्बनाको कुरा के छ भने विश्वका तीन धनी टेक टाइकुनहरू एलोन मस्क, जेफ बेजोस र मार्क जुकरबर्ग ट्रम्पको शपथ ग्रहण समारोहमा अतिथिको सूचीमा छन् । उनीसँगै गुगलका भारतीय मूलका सीईओ सुन्दर पिचाई र एप्पलका टिम कुक पनि छन् ।
शपथ ग्रहण समारोहमा बोलाइएका विदेशी नेताहरूको नामावली हेर्दा ट्रम्पको बढी झुकाव दक्षिणपन्थीतर्फ देखिएको छ । यो सूचीमा अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिली र इटालीकी प्रधानमन्त्री जियार्जिया मेलोनी पनि समावेश छन् ।
यस सूचीमा जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीका टिनो श्रुपाला र बेलायतको पपुलिस्ट पार्टी ‘रिफर्म पार्टी’ का नेता निगेल फराजको नाम पनि समावेश छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको साउथ एसिया स्टडीज्का प्राध्यापक देवेश कपूर विदेशी पाहुनाहरूबारेमा भन्छन्, “मैले भर्खरै मिडियामामा आमन्त्रित विदेशी पाहुनाहरूको सूची देखेको छु, तीमध्ये धेरैजसो दक्षिणपन्थी नेताहरू छन् ।”
सी र मोदी दुवै देखिने छैनन्
चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आमन्त्रित गर्ने ट्रम्पको निर्णयले धेरैलाई आश्चर्यचकित बनाएको थियो । किनकि ट्रम्पको पहिलो कार्यकालमा सी उनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी थिए । यसपटकको शपथ ग्रहण समारोहमा निमन्त्रणा दिए पनि सीले उपस्थित नहुने जवाफ पठाइसकेका छन् ।
ट्रम्पकी प्रवक्ता क्यारोलिन लेभिट भन्छन्, “यसले राष्ट्रपतिको सबै देशहरूसँग खुला संवाद गर्ने इच्छालाई प्रतिबिम्बित गर्दछ, चाहे तिनीहरू विरोधी, प्रतिद्वन्द्वी वा सहयोगी हुन् ।” कुनै समय ट्रम्पलाई ‘निकट मित्र’ भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुने छैनन् । किनकि ट्रम्पले उनलाई निमन्त्रणा नै गरेनन् ।
यहाँ प्रश्न उठेको छ– ट्रम्पले किन एक ‘शत्रु’ लाई बोलाए र मित्रको बेवास्ता गरे ? सुमित गांगुली यसबाट धेरै अचम्मित छैनन् ।
“मलाई लाग्छ यसले ट्रम्पको आफ्ना विरोधीहरूसँग गर्ने व्यक्तिगत कूटनीति र त्यसप्रतिको विश्वासलाई प्रतिबिम्बित गर्दछ,” गांगुलीले भने, “तर यस विषयमा उनको रेकर्ड वास्तविकताभन्दा धेरै टाढा छ । उत्तर कोरियाका किम जोङ उनसँगको उनको सम्बन्धले केही प्रतिफल दिन सकको थिएन ।”
चीनलाई प्राथमिकता
चिनियाँ राष्ट्रपति सी चिनफिङलाई निमन्त्रणा गरिएको सन्दर्भमा मिशिगन विश्वविद्यालयको स्कूल अफ इन्फर्मेसनका प्राध्यापक जोयोजित पाल भन्छन्, “अमेरिकाको एक पार्टनरको रुपमा र विशेष गरी ट्रम्पको लागि सी धेरै महत्वपूर्ण छन् ।”
पालको तर्क छ, “किनभने चीनसँगको व्यापार पूर्ण रूपमा बन्द गर्नु अमेरिकाका लागि विनाशकारी हुनेछ ।”
जोखिम भारतसँग पनि छ । अमेरिकाका लागि सबैभन्दा ठूलो जोखिम भारतीय जेनेरिक औषधि र हीराको क्षेत्रमा व्यापार सम्बन्ध बिच्छेद भयो भने हुनेछ । “यी दुवै उद्योगहरूमा भारत आफ्नो विदेशी मुद्रा राजस्वका लागि अमेरिकी आम्दानीमा धेरै निर्भर छ,” पालले भने ।
धेरै विश्लेषकहरूको विचारमा ट्रम्पको दोस्रो कार्यकाल अन्तर्राष्ट्रिय मुद्दाहरूमा बढी केन्द्रीत हुनेछ । यसमा इजरायल–हमास युद्ध, रुस–युक्रेन युद्ध र विश्वमा बढ्दो चिनियाँ प्रभावलाई रोक्ने कुराहरू समावेश हुनेछन् ।
आगामी चार वर्षसम्म ट्रम्पको धेरैजसो ऊर्जा इजरायल–हमास युद्ध, रुस–युत्रेन युद्ध र चीनलाई पराजित गर्ने मुद्दामा बढी खर्च हुने विश्वास प्राध्यापक पालको छ ।
धेरै अमेरिकी विद्वान र टिप्पणीकारहरूको तर्क छ– आगामी महिना र वर्षहरूमा ट्रम्पका लागि सबैभन्दा ठूलो चुनौती अमेरिका–चीन सम्बन्धबाट आउने छ ।
“सीलाई आमन्त्रित गर्नुको मुख्य कारण वार्ताको सम्भावनालाई संकेत गर्नु थियो । चीनसँगको द्विपक्षीय सम्बन्ध एकदमै संवेदनशील मुद्दा हो । यसविपरीत, भारतसँगको सम्बन्ध राम्रो अवस्थामा छ र यसमा विशेष ध्यान दिनु आवश्यक छैन । कम्तिमा अहिले छैन,” प्राध्यापक देवेश कपुरले भने ।
पाहुना सूचीको आधार
अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहका लागि पाहुनाहरूको सूची तयार गर्ने जिम्मेवारी जोइन्ट कंग्रेसनल कमिटी र ट्रम्पको टोलीलाई दिइएको थियो । सूची तयार पार्दा कूटनीतिक, रणनीतिक र वित्तीय मुद्दाहरूलाई ध्यानमा राखिएको छ ।
प्राध्यापक पाल भन्छन्, “समारोहका लागि पाहुनाहरूको नाम तय गर्दा नवनिर्वाचित राष्ट्रपतिको टोली र उद्घाटन समारोहसम्बन्धी जोइन्ट कंग्रेसनल कमिटिले धेरै कुराहरूलाई ध्यानमा राखेको हुनुपर्छ । यी निर्णयहरूमा ठूलो रकम चन्दा दिने दाताहरू, राष्ट्रपतिका सहयोगीहरू र उनको कोर टिम जति महत्वपूर्ण छन्, त्यति नै महत्वपूर्ण विदेशी पाहुना छन् ।”
केही विश्लेषकहरूको तर्क छ– सूचीमा मोदीको उपस्थिति वा अनुपस्थिति त्यति महत्त्वपूर्ण छैन जति लाग्ने गर्छ ।
माइकल कुगेलम्यान यो मुद्दालाई धेरै विश्लेषण नगर्न सल्लाह दिन्छन् । यस वर्षको अन्त्यतिर क्वाड शिखर सम्मेलनमा मोदी र ट्रम्पबीच भेटवार्ता हुने सम्भावना रहेको उनले बताए ।
“मोदीलाई आमन्त्रित गरिएको थिएन भन्ने तथ्यलाई बढाइचढाइ गर्नु हुँदैन । सीबाहेक अरू कसैलाई पनि विशेष रूपमा आमन्त्रित गरिएको छैन । मोदी र ट्रम्पले चाँडै भेट्ने मौका पाउनेछन्, सायद यस वर्षको अन्त्यतिर भारतमा हुने क्वाड शिखर सम्मेलनको क्रममा,” उनले भने ।
केही विश्लेषकहरू भने मोदीलाई नबोलाउने ट्रम्पको निर्णयले उनको पहिलो कार्यकालमा भारतसँगको व्यापार विवादप्रति उनको निराशालाई प्रतिबिम्बित गर्ने बताउँछन् । चीनको प्रभावको सामना गर्न भारत पछाडि परेको बुझाई पनि ट्रम्पको हुनसक्ने तर्क उनीहरूको छ ।
“यसले ट्रम्प र मोदीबीचको सम्बन्धमा चिसोपन ल्याउन सक्छ,” प्राध्यापक गांगुलीले मोदीको अनुपस्थितिका सम्बन्धमा भने ।
प्राध्यापक पाल भने समग्रमा भारतसँगको सम्बन्धमा न्यानोपन रहेको बताउँछन् । यसैकारण ट्रम्पले भारतसँगको सम्बन्ध ठीक पार्न कुनै तामझाम गर्नुपर्ने तर्क उनको छ । गत सेप्टेम्बर महिनामा भएको अमेरिका भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई भेट्न प्राथमिकता नदिएको र दुई नेताबीच भेटघाट नभएको चर्चा पनि छ ।
“यो सत्य हो कि ट्रम्प बिर्सदैनन् । उनी रिसाएको पनि हुन सक्छन् र हामी यो कुरालाई अस्वीकार गर्न सक्दैनौं कि मोदी क्वाड शिखर सम्मेलनका लागि अमेरिका आउँदा मोदीले बेवास्ता गरेको महसुस गरे,” कुगेलम्यान भन्छन्, “तर मलाई लाग्छ, यो केवल अनुमान मात्र हो । मलाई लाग्छ, शपथग्रहणको मुद्दा भारतलगायत अन्य कुनै पनि देशभन्दा चीनसँग बढी सम्बन्धित छ ।”
यसलाई मोदी वा अन्य विश्व नेताहरूप्रति भन्दा पनि चीनलाई संकेत दिने रुपमा हेरिनुपर्ने भनाई कुगेलम्यानको छ ।
रणनीतिक परिवर्तन
ट्रम्पको शपथ ग्रहण समारोहमा भारतका विदेशमन्त्री डा. एस जयशंकर, चीनका उपराष्ट्रपति हान झेङ, अधिकांश देशका राजदूतहरू उपस्थित हुनेछन् ।
यस दृष्टिकोणबाट, एकातिर सीले ट्रम्पको निमन्त्रणा अस्वीकार गरेका छन् भने अर्कोतर्फ यस वर्षको अन्त्यमा हुने क्वाड शिखर सम्मेलनमा मोदीले ट्रम्पसँग सम्बन्ध सुधार गर्ने प्रशस्त अवसर पाउनेछन् ।
विज्ञहरूबीच लगभग सहमति छ– विदेशी नेताहरू विशेष गरी दक्षिणपन्थी झुकाव भएकाहरूलाई आमन्त्रित गर्नुले ट्रम्पको कूटनीतिक शैलीमा परिवर्तनको संकेत गर्छ । यो ट्रम्पको विचारधारासँग मेल खाने नेताहरूसँग गठबन्धन बनाउने संकेत हो ।
(बीबीसी हिन्दीबाट भावानुवाद)