विशेष
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार ठूलो मात्रामा अवैध हुन्डी कारोबार गर्ने ३ जना र हुन्डीबाट आएको रकम लिन आएका ५ जनालाई नियन्त्रणमा लियो । प्रहरीले उनीहरुको साथबाट १ करोड ७२ लाख ३७ हजार ५ सय नेपाली र एक लाख भारतीय रुपैयाँ तथा ५९ वटा विभिन्न बैकका चेक बरामद गरेको छ । सोमबार पक्राउ पर्ने हुन्डी कारोबारीका मुख्य नाइके व्यापारी पवन अग्रवाल सरावगी हुन् । सरावगीले न्युरोडमा अनु ट्रेडिङमार्फत व्यापार गरेको देखाउँदै अवैध हुन्डी कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको पसलबाट सोमबार प्रहरीले ६३ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । त्यस्तै, प्यूखामा रहेको बिन्देश्वरी ब्याग एन्ड रेडिमेड उद्योगका सञ्चालक मोहनमान श्रेष्ठलाई १० लाख नेपाली र एक लाख भारतीय रुपैयाँसहित पक्राउ गर्यो । सोही उद्योगमा कारोबार गर्न आएका कुमार राईबाट १८ लाख रुपैयाँ, प्यूखामै रहेको माई पाथिभरा ट्रेडर्सका सञ्चालक निर्दोष प्रसाईंबाट १९ लाख ७१ हजार र कारोबार गर्न आएका राजन पौडेलबाट ३२ लाख ५० हजार रुपैयाँ, सोही ट्रेडर्समा कारोबार गर्न आएका टलबहादुर तामाङ, अमित खरेल र रोहित दुलालबाट गरी एक करोड ३७ लाख नेपाली र एक लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गर्यो ।
यसअघि प्रहरीले न्युरोडबाट अवैध हुन्डी कारोबार गर्ने धादिङका प्रकाश खत्री र सुवास खत्रीलाई ३६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।
०७३ वैशाख ३० गते काठमाडौंको न्युरोडबाट महानगरीय अपराध महाशाखाको टोलीले अवैध हुन्डी कारोबारीमा सुरेन्द्र गोयललगायत १५ जनालाई पक्राउ गर्यो । शंकर अग्रवाल, राजकुमार श्रेष्ठ, आङफुर्वा शेर्पा, अर्जुन कँडेल, निरज ढकाल, डिल्लीराम बस्नेत, सत्यप्रकाश कर्ण, अरुण अग्रवाल, उदयकुमार शर्मालगायत १५ जनाबाट महाशाखाको टोलीले १ करोड ७४ लाख ९९ हजार रुयैयाँ बरामद गरेको थियो ।
अवैध हुन्डीको कारोबार गर्ने दिलबहादुर पुन र लब पुनलाई प्रहरीले ७३ वैशाख ६ गते लैनचौरबाट १२ लाख ५० हजार नगद र ५० लाखको चेकसहित पक्राउ गर्यो ।
यी त केही उदारणमात्र हुन्, महानगरीय अपराध महाशाखाले यस्तो अवैध हुन्डीको कारोबार गर्ने तीन दर्जनभन्दा बढी स्थानमा छापा मारी करोडौं अवैध रुपैयाँ र हुन्डी सञ्चालकलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।
सुरुको समयमा हुन्डी कारोबार मारवाडी व्यवसायीले सुरुवात गरे पनि अहिले सुनदेखि नुन, र तस्करदेखि आतंककारीले समेत हुन्डीमार्फत् नेपाल हुँदै विभिन्न देश रकम लैजाने गरेको अनुसन्धान अधिकारीहरू बताउँछन् ।
कपडा पसलदेखि ब्युटीपार्लर, सुन पसलदेखि कवाडी गोदामबाट अहिले हुन्डी कारोबार हुन्छ । उपत्यकाभित्र कहलिएका रेमिट कम्पनी, मनि एक्सचेन्ज, ट्राभल एजेन्सी, रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर, ट्राभल एजेन्सी, मनि ट्रान्सफर, ब्युटीपार्लर र कवाडी गोदामबाट समेत हुन्डी कारोबार हुने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल भन्छन्, “बाहिर बोर्डमा विभिन्न व्यवसायको नाम उल्लेख गरेका हुन्छन्, तर भित्र भने हुन्डीजस्ता अवैध काम गर्छन् । यस्ता धेरै व्यापारी र कारोबारीलाई हामीले कानुनी दायरामा ल्याएका छौं ।” हुन्डी कारोबारमा ठूला व्यापारी पनि संलग्न भएको सूचना पाएको र उनीहरूलाई पनि कानुनी दायरामा ल्याउने उनले बताए । प्रहरीले गतवर्ष कात्तिकयता करिब ३ दर्जन हुन्डी कारोबार हुने स्थानमा छापा मारी करोडौं रकम बरामद गरेको छ ।
अवैध हुन्डीको कारोबार हुने देशहरुमा चीन, भारत, हङकङ, दुबई, मलेसिया, जापान, युरोपियन मुलुक र अमेरिकासमेत रहेको प्रहरीको दाबी छ ।
हुन्डी कारोबारीको कनेक्सन
अन्तरदेशीय पैसा कारोबार गर्ने अवैध तरिका हो, हुन्डी । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ ।
नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ । नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । मनि ट्रान्सफरबाट पैसा पठाउँदा जसरी पिन कोड पाइन्छ त्यसरी नै उनीहरूले पनि मोबाइलमा म्यासेज पठाउँछन् अनि त्यो म्यासेज लिएर तोकिएको स्थानमा गएपछि हुन्डीबाट आएको रकम भुक्तानी पाइन्छ ।
उपत्यकाभित्रका हुन्डी कारोबार हब
स्रोतका अनुसार उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, जावलाखेल, महाबौद्ध आदि क्षेत्र अवैध हुन्डीको कारोबार हुने मुख्य हब हुन् । यसबाहेक बानेश्वर, कोटेश्वर सितापाइलालगायत क्षेत्रमा पनि हुन्डी कारोबारी हुने गरेको स्रोत बताउँछ ।
को छन् संलग्न ?
अवैध हुन्डीको कारोबारमा ठूला औद्योगिक व्यावसायिक घरानाको समेत संलग्नता रहेको स्रोतले जनकारी दिएको छ । व्यावसायिक कारोबार गर्ने कर्पोरेट हाउसलाई मुद्रा विदेश पलायन गराउन हुन्डी सहज भएकाले यसले जरा गाड्दै गएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी स्रोत भन्छ, ‘ठूला व्यापारी र कर्पोरेट हाउसभित्रबाटै हुन्डीको कारोबार भइरहेको छ ।” प्रहरीका उच्च अधिकारीहरू पनि यसबारे जानकार भएको बताइन्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७३ १४:२०
प्रतिक्रिया दिनुहोस्