काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछाने पक्षको बहस सकिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस भएको हो ।
लामिछानेतर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरे । अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाए । त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्दै छन् ।
- इजलासमा रमन श्रेष्ठको तर्क– रवि लामिछाेनेलाई साधारण तारेख पनि अन्याय हुन्छ
- रवि लामिछानेका वकिलले भने– मुद्दाको आधार छैन, तारेखमा छोड्नुपर्छ
यसपछि लामिछानेका विषयमा अदालतबाट आदेश हुनेछ । अदालतले साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति थुनामा पठाउनेमध्ये एक आदेश गर्नेछ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।
उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट नौजनाले बहस गरेका थिए । सोही दिन जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए ।
थुनछेक बहस बाँकी रहेकाले उक्त दिन उनलाई अदालतले न्यायिक हिरासतमा पठाएको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको थियो ।
यही पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर सोही दिन उनी थुनामुक्त भएका थिए ।