site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत अभावमा अलपत्र आधारभूत अस्पताल सञ्चालनको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्रोत अभावका कारण अलपत्र आधारभूत अस्पताल आउँदो साउनदेखि सञ्चालनमा ल्याउन तयारी अघि बढाएका छन् ।

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नरहेका एवं पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ ।

Argakhachi Cement Island Ad

पाँच, १० र १५ शय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पताल सञ्चालनको तयारी गरिएको हो । यी अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, उपकरण, औषधि, रिएजेन्टसलगायत अत्यावश्यक संशाधनको व्यवस्थापनका निम्ति मन्त्री पौडेलले तयारी अघि बढाएका छन् ।

यसका निम्ति स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे प्रस्ट पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्रालयले यस्ता अस्पताल निर्माण र सञ्चालन गर्न आउँदो आर्थिक वर्षका निम्ति करिब एक अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । अब आधारभूत अस्पताल सञ्चालनमा सहज हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्