
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा होस् या नेताका भाषणमा, एउटा बोली बारम्बार सुनिन्छ । त्यो हो, “देश बस्न लायक रहेन । देश छाड्नेको लर्को लाग्यो । विदेश जाने नेपाली फर्कनै छाडे । गाउँ हुँदै सहर र अब देशै रित्तो हुँदैछ ।”
सामाजिक सञ्जाल प्रयोगकर्ता र नेताका बोलीले ‘देश युवाविहीन’ हुँदै गएको र ‘देश नै वृद्धाश्रम’ बनेको भाष्य सिर्जना गरिँदै छ । केही व्यक्तिहरू भने गणतन्त्र, राजनीति दल, तिनका नेता र कर्मचारीतन्त्र असफल हुँदा देश छाड्नेको संख्या वृद्धि हुँदै गएको तर्क गरिरहेका छन् ।
यस्तो तर्क गर्नेहरू राजाका पालामा नेपाली विदेश जाँदेनथे भन्ने विश्वास राख्छन् । नेपाली नागरिक विदेश जानुलाई ‘राजनीतिक रोटी सेक्ने’ र ‘रुवावासी’ गर्नेको पनि कमी छैन । पछिल्लो समय त विदेश जानेको संख्या देखाउँदै व्यवस्थामाथि प्रहार गर्न थालिएको छ ।
यहाँ अहम् प्रश्न के हो भने, ‘के देश रित्तिँदै छ ?’
तथ्याङ्कले के भन्छ आउनुस् एकछिन हेरौं ।
नेपालीहरूको विदेश यात्रा वैदेशिक रोजगारीबाटै भएको हो । यसको सुरुवात सन् १८१६ मा नेपाल र बेलायतबीच सुगौली सन्धि भएपछि सुरु भएको देखिन्छ । सुगौली सन्धिपछि बेलायतले ‘गोर्खा रेजिमेन्ट’ खडा गरी नेपाली युवालाई आफ्नो सेनामा भर्ती गर्न थालेको थियो ।
त्यो सिलसिला रुसी सेनासम्म पुगेको छ, भलै रुसले अवैध तरिकाले नेपालीलाई आफ्नो सेनामा भर्ना गरेको किन नहोस् । पछिल्ला वर्षहरूमा अनेक उद्देश्यले नेपाली विदेश जाने गरेका छन् ।
यसमा वैदेशिक रोजगारी, घुमघाम, अध्ययन, तीर्थाटन, तालिम, सेमिनार, गोष्ठी, भेटघाट, स्वास्थ्य उपचार, व्यापार, खेलकुद प्रतियोगिता, शान्ति सेना, सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आदि पर्छन् ।
तर सबैभन्दा ठूलो संख्या भने वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
अध्यागमन विभागबाट प्राप्त विवरणअनुसार, सन् २००२ देखि २०२४ सम्मको २३ वर्षको अवधिमा विभिन्न उद्देश्यले नेपालबाट एक करोड ८२ लाख ३४ हजार ४८७ जना विदेश प्रस्थान गरेको देखिन्छ (यसमा एक व्यक्ति दुई पटक विदेश गएको भए दुई जना गनिएको छ) ।
त्यही अवधिमा विदेश गएकामध्ये एक करोड ५५ लाख ७८ हजार ८६९ जना स्वदेश फर्केको विभागको तथ्याङ्कमा देखिन्छ ।
अर्थात् बितेको २३ वर्षमा गएको देखिने तर नफर्कने नेपालीको संख्या २६ लाख ५५ हजार ६१८ जना देखिन्छ । ‘राष्ट्रिय जनगणना, २०७८’ मा नेपालमा अनुपस्थित अर्थात् विदेशमा रहेका नेपालीको संख्या २१ लाख ९० हजार ५९२ देखाएको छ ।
“विदेश जानेभन्दा फर्किनेको संख्या कम देखिनुमा केही कारण छन् । पहिलो, वैदेशिक रोजगारीमा जानेहरू दुई वा त्योभन्दा बढीको समयको ‘वर्क परमिट’ लिएर गएका हुन्छन् । उनीहरू गएकै वर्ष फर्किदैनन्,” अध्यागमन विभाग स्रोतले भन्यो ।
स्रोतका अनुसार, अध्ययनका लागि जानेहरू पनि दुई वर्षभन्दा बढी समयका लागि विदेश गएका हुन्छन् ।
प्रायः विद्यार्थीहरू अध्ययन पूरा नहुन्जेल, अझ अध्ययन पुरा भएपछि पनि त्यही सेटल नहुन्जेलसम्म फर्किँदैनन् जसका कारण विदेश जानेभन्दा फर्कनेको संख्या कम देखिने गरेको भनाई स्रोतको छ ।
“तेस्रो कारण भनेको विभिन्न उद्देश्यले विदेश पुगेका नेपाली केही वर्षपछि नेपाली नागरिकता त्याग्छन् र त्यहीको नागरिक बन्छन् । यसकारण पनि विदेश जानेभन्दा फर्कनेको संख्या कम देखिएको हो,” स्रोतको भनाइ छ ।
अध्यागमनको तथ्याङ्कअनुसार सन् २००२ मा दुई लाख २५ हजार ६२१ जना नेपाली विदेश गएका थिए ।
सन् २०२४ मा १६ लाख ७४ हजार २२५ जना नेपाली देश गएको देखिन्छ । सन् २००२ को तुलनामा २०२४ मा १४ लाख ४८ हजार ६०४ जना बढी नेपाली विदेश गएको विभागको तथ्याङ्कले देखाउँछ । सन् २००२ मा विदेश गएकामध्ये एक लाख ५२ हजार ३७० जना नेपाली नेपाल फर्केका थिए ।
सन् २०२४ मा विदेशबाट फर्कने नेपालीको संख्या १४ लाख ५ हजार ७८९ जना रहेको छ । सन् २००२ को तुलनामा २०२४ मा विदेश जाने नेपालीको संख्या ७.४२ गुणाले बढेको छ भने नफर्नेको संख्या ३.६६ गुणाले वृद्धि भएको देखिन्छ ।
“हाम्रो अध्यागमनले विदेश जानेको संख्या जति राम्रोसँग राख्छ, फर्किनेको राख्छ जस्तो लाग्दैन । किनभने यो अनुभव म आफँै आऊजाऊ गर्दा बटुलेको छु,” समाजशास्त्री तथा वैदेशिक रोजागर विज्ञ गणेशमान गुरुङले बाह्रखरीसँग भने, “फर्किनेको संख्या पनि राम्रोसँग राख्ने हो भने यो ग्याप अझ सानो हुन्छ जस्तो लाग्छ ।”
सन् २००२ मा दुई लाख २५ हजार ६२१ जना नेपाली विदेश गएका थिए भने १ लाख ५२ हजार ३७० जना फर्किएका थिए । फर्किनेभन्दा जानेको संख्या ७३ हजार २५१ ले बढी थियो । अर्थात् सो वर्ष विदेश जानेमध्ये ३२.४६ प्रतिशत फर्केका थिएनन् ।
अध्यागमनको तथ्याङ्क अनुसार सन् २००५ मा ३ लाख ६९ हजार ८६ जना नेपाली विदेश गएका थिए । उक्त वर्ष विदेशमा रहेका २ लाख ७९ हजार ६५ जना नेपाली देश फर्केका थिए । यो वर्ष नेपाल फर्कनेभन्दा विदेश जाने नेपालीको संख्या ९० हजार २१ ले बढी थियो ।
अर्थात् त्यो वर्ष विदेश गएकामध्ये २४.३९ प्रतिशत फर्केका थिएनन् । सन् २०१० मा ७ लाख ५७ हजार ६४ जना नेपाली विदेश गएका थिए । त्यही वर्ष विदेशबाट छ लाख ८० हजार ६६४ जना नेपाली विदेशबाट फर्केका थिए ।
फर्कनेभन्दा विदेश जानेको संख्या ७६ हजार ४०० ले बढी थियो । अर्थात् उक्त वर्ष विदेश गएकामध्ये १०.०९ प्रतिशत नेपाली स्वदेश फर्केका थिएनन् । सन् २०१५ मा नौ लाख ९३ हजार १०५ जना नेपाली विदेश जाँदा विदेशमा रहेकामध्ये सात लाख ९५ हजार ५१४ जना नेपाल फर्केका थिए ।
स्वदेश फर्कनेभन्दा जानेको संख्या एक लाख ९७ हजार ५९१ ले बढी थियो । सो वर्ष विदेश गएकामध्ये १९.८९ प्रतिशत फर्केका थिएनन् । सन् २०२२ मा १४ लाख २९ हजार ५४४ जना नेपाली विदेश गएको देखिन्छ ।
उक्त वर्ष विदेशमा रहेकामध्ये १० लाख ३६ हजार ८८५ जना नेपाली स्वदेश फर्केको विभागको तथ्याङ्कले देखाउँछ । यो वर्ष विदेशबाट फर्कनेभन्दा जानेको संख्या तीन लाख ९२ हजार ६५९ ले बढी थियो । अर्थात् उक्त वर्ष विदेश गएकामध्ये २७.४६ प्रतिशत नेपाली फर्केका थिएनन् ।
सन् २०२३ मा १६ लाख ३ हजार ८३० जना नेपाली विदेश गएका थिए । विदेशमा रहेकामध्ये उक्त वर्ष १२ लाख ६३ हजार ४६३ जना नेपाली स्वदेश फर्केका थिए । यसवर्ष विदेशबाट फर्कनेभन्दा विदेश जानेको संख्या तीन लाख ४० हजार ३६७ ले बढी थियो । उक्त वर्ष विदेश गएकामध्ये २१.२२ प्रतिशत नेपाली स्वदेश फर्केनन् ।
सन् २०२४ मा १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका थिए भने विदेशमा रहेकामध्ये १४ लाख पाँच हजार ७८९ जना नेपाल फर्केका थिए । यसवर्ष विदेशबाट फर्कनेभन्दा विदेश जाने नेपालीको संख्या दुई लाख ६८ हजार ४३६ ले बढी थियो । अर्थात् यो वर्ष विदेश गएकामध्ये १६.०३ प्रतिशत फर्केको देखिँदैन ।
प्रतिशतमा हेर्ने हो भने पछिल्ला वर्षहरूमा विदेश गएका नेपालीहरू नफर्किने क्रम घट्दो क्रममा छ । तथ्याङ्कले ठूलो संख्यामा नेपाल फर्किरहेको देखाउँछ ।
“हाम्रोमा गाउँका घर खाली भए भन्ने मात्र भनिएको छ । हो, गाउँका घर खाली भएका छन् । तर सहरमा घर थपिएका पनि छन् । जति गाउँमा घर खाली भएका छन् त्योभन्दा बढी सहरमा घर थपिएका छन् । वैदेशिक रोजगारी लगायतले आयआर्जन बढ्यो, मानिसहरू सुविधा खोज्दै सहर पस्न थालेका हुन्,” समाजशास्त्री गुरुङले भने ।
सन् २००२ मा विदेश गएकामध्ये ३२.४६ प्रतिशत नेपाल फर्केका थिएनन् । सन् २०२४ मा आइपुग्दा यो प्रतिशत घटेर १६.०३ प्रतिशतमा आइपुगेको छ । प्रतिशतमा हेर्दा सन् २०२४ मा भन्दा सन् २००२ मा विदेश गएर नफर्कने बढी थिए ।
अध्यागनको तथ्याङकले पछिल्ला वर्षहरूमा विदेश जानेहरूको अनुपातमा स्वदेश फर्कनको संख्या क्रमशः बढ्दो छ ।
“पछिल्लो वर्ष (२०२४) विदेशबाट फर्कनेभन्दा जाने नेपालीको संख्या दुई लाख ६८ हजार ४३६ ले बढी छ । वैदेशिक रोजगार विभागले प्रत्येक वर्ष तीन लाख बढी नयाँ श्रम स्वीकृति जारी गर्छ । प्रत्येक वर्ष एक लाखको हाराहारीमा नेपाली विद्यार्थी विदेश जान्छन् । काम गर्न र अध्ययन गर्न गएकाहरू गएकै वर्ष त नेपाल फर्किदैनन् । त्यसैले विदेश गएका नेपाली फर्किदैनन् भन्नु सरासर गलत हो । यो गलत हो भन्ने त जाने र आउने संख्या तुलना गर्दा नै स्पष्ट हुन्छ,” अध्यागमन विभाग स्रोतले भन्यो ।
के नेपाली विदेश जान थालेको प्रजातन्त्र आएपछि मात्र हो ?
नेपालीहरूको विदेश पलायनबारे पछिल्लो समय बनिरहेका भाष्यहरूप्रति व्यङ्ग्य गर्दै केही दिन पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “नेपालीहरू हार्बर्ड, एमआइटी, अक्सफोर्ड, नासा पुगे भनेर नाक पनि फुलाउने ! नेपाली डायस्पोरा हाम्रो सामथ्र्य हो यसको अधिकतम फाइदा लिनुपर्छ पनि भन्ने ! अनि हाम्रो तुलनात्मक लाभ भएको मानव स्रोत बाहिर गए भनेर रुने ! मिलेको छैन है हाम्रो सोचाइ !”
पछिल्लो समय बनाउन खोजिएको अर्को भाष्य छ, देशमा प्रजातन्त्र आएपछि शासन व्यवस्थाप्रति वितृष्णा जागेर ठूलो संख्यामा नेपाली विदेश जान थाले ।
यो भाष्य कति सही वा गलत छ, आउनोस् तथ्याङ्क हेरौं ।
विक्रम सम्वत् १९९८ मा गरिएको राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या ६२ लाख ८३ हजार ६४९ देखाएको छ । यो राणा शासनको समयको कुरा हो ।
त्यतिबेला ८१ हजार ७२२ जना नेपाली विदेशमा देखिएको थियो । अर्थात् वि.सं. १९९८ मा नेपालको कूल जनसंख्याको १.३ प्रतिशत संख्या विदेशमा दियो । उनीहरू अधिकांश रोजगारीका लागि विदेशमा थिए ।
“१९९८ सालमा जीविकाको लागि मुगलानिएका भनी विदेश जानेहरूको संख्या दिइएको छ । त्यसबेला ८१ हजार ७२२ जना विदेशमा थिए,” राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको ‘नेपालमा जनगणना’ पुस्तकमा उल्लेख गरिएको छ ।
२००७ सालमा देशमा जहानियाँ राणा शासनको अन्त भई प्रजातन्त्र स्थापना भयो । २००९/११ मा नेपालमा जनगणना गरिएको थियो ।
उक्त जनगणनामा नेपालको जनसंख्या ८२ लाख ५६ हजार ६२५ रहेको उल्लेख छ । तीमध्ये एक लाख ९८ हजार १२० जना विदेशमा थिए । अर्थात् २००९/११ को जनगणना अनुसार त्यतिबेलाको कुल जनसंख्याको २.४ प्रतिशत संख्या विदेशमा थिए ।
“२००९/११ सालको जनगणनामा छ महिनाभन्दा बढी समयका लागि घरछाडी अन्यत्र गएका व्यक्तिको विवरण लिइएको थियो । यसरी घर छाडी अन्यत्र गएकामध्ये १८ हजार ७३३ जना स्वदेशभित्रै अर्को जिल्लामा गएका र एक लाख ९८ हजार १२० जना विदेश गएका थिए,” ‘नेपालमा जनगणना’ पुस्तकमा जनाइएको छ ।
राजा महेन्द्रले २०१७ पुस १ गते जन निर्वाचित सरकार र संसद् विघटन गरी शासन सत्ता हातमा लिए । त्यसपछि २०१८ सालमा राष्ट्रिय जनगणना गरियो । उक्त जनगणनाले देशको जनसंख्या ९४ लाख १२ हजार ९९६ देखायो ।
तीमध्ये तीन लाख २८ हजार ४७० जना नेपाली विदेश रहेको २०१८ को राष्ट्रिय जनगणनामा उल्लेख छ । अर्थात् २०१८ सालमा नेपालको कुल जनसंख्याको ३.५ प्रतिशत संख्या विदेशमा थियो ।
“२०१८ सालमा विदेशमा जन्मेका तथा घरछाडी विदेश गएका दुवै किसिमको जनसंख्या लिइएको थियो । यसपछिका सबै जनगणनाहरूमा विदेशमा रहेका जन्मेका व्यक्तिहरूको संख्या लिइएको छ । विदेशमा बसोबास गर्नेको संख्या एकपछि अर्को जनगणनामा बढ्दै गएको छ,” ‘नेपालमा जनगणना’ पुस्तकमा उल्लेख छ ।
२०४६ सालमा देशमा प्रजातन्त्र पुनःस्थापना भयो । त्यसपछि विदेश जाँदा नभइ नहुने राहदानी सर्वसाधारणका लागि सहज बनाइयो । २०५८ सालमा भएको राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या दुई करोड ३१ लाख ५१ हजार ४२३ देखाएको थियो ।
तीमध्ये सात लाख ६२ हजार १८१ जना विदेशमा थिए । अर्थात् २०५८ मा नेपालको कुल जनसंख्याको ३.३ प्रतिशत संख्या विदेशमा रहेको थियो । राष्ट्रिय जनगणना, २०६८ मा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ देखिएको थियो ।
तीमध्ये ७.३ प्रतिशत अर्थात् १९ लाख २१ हजार ४९४ जना विदेशमा रहेको जनगणनाले देखाएको थियो । पछिल्लो राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । तीमध्ये २१ लाख ९० हजार ५९२ जना विदेशमा छन् । यो भनेको कुल जनसंख्याको ७.५ प्रतिशत हो ।
राष्ट्रिय जनगणनाअनुसार १९९८ सालको तुलनामा २०७८ मा नेपालको जनसंख्या ४.६४ गुणाभन्दा बढीले बढेको छ । यो ८० वर्षको अवधिमा विदेशमा रहेका नेपालीको संख्या २६.८० गुणाले बढेको छ ।
“विदेश जानु नराम्रो होइन । सधैँका लागि जानु मात्र नराम्रो हो,” समाजशास्त्री गुरुङको भनाइ छ ।