
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले पाँच काठेपुल बगाएको छ । बुधबार (जेठ २१)को बाढीले भोटखोला–१ र २ र १ र ३ जोड्ने धुङगोपा खोलाका दुई काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताए ।
बाढीले भोटखोला–१ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला–१ र ३ जोड्ने छोकाङ खोला र भोटखोला–१ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगाएको छ ।
यसैबीच, केही दिनअघिको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्मित दुई साना जलविद्युत् आयोजना बगाउँदा २५० घर विद्युत्विहीन भएका छन् ।
बाढीले कोसी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ । बाढीका कारण खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । रासस