
काठमाडौं । केही दिन अघिसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार तथा सहयोगी रहेका अमेरिकी अर्बपति व्यापारी एलन मस्क अहिले राष्ट्रपति ट्रम्पको कट्टर विरोधी बनेका छन् । उनको बजेट विधेयक फेल गराउन प्रयास गरिरहेका छन् ।
मस्कले बुधबार राष्ट्रपति ट्रम्पको प्रमुख कर र खर्च विधेयकको विरोध गर्दै अमेरिकीहरूलाई आफ्ना सांसदहरूमार्फत विधेयक खारेज गर्न दबाब दिन आह्वान गरेको बीबीसीले जनाएको छ ।
ठूला कर छुट र बढी रक्षा खर्च समावेश भएको यो बजेट विधेयक गत महिना कांग्रेस (प्रतिनिधिसभा)ले पारित गरिसकेको छ । अहिले यो विधेयक अमेरिकाको माथिल्लो संसद सिनेटमा विचाराधीन छ ।
मस्कले यो हप्ताको सुरुमा सामाजिक संजाल एक्समा पोष्ट गर्दै यो विधेयकले अमेरिकी बजेट घाटा बढाउने र अमेरिकीहरूलाई ऋण बोकाउने बताएका थिए ।
गत मंगलबार पनि उनले यसलाई ‘घिनलाग्दो विधेयक’ भनेका थिए । यसले ट्रम्प र मस्कबीचको बढ्दो मतभेदलाई स्पष्ट पार्छ ।
यो विधेयकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन छ । यदि, यो पारित भएमा उनको दोस्रो कार्यकालको एजेन्डालाई कानुनी आधार प्राप्त हुनेछ ।
मस्कले मंगलबार यो विधेयकको पक्षमा मत दिनेहरूलाई ‘लाज लाग्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । बीबीसी