काठमाडौं । जस्मिन पेन्ट्सले जोर कुसुम पार्कमा वृक्षारोपण गरेर नेपाल प्रिमियर लिग (एनपीएल)मा गरेको प्रतिबद्धताको कार्यान्वयनको सुरुअत गरेको छ । चितवनको भरतपुरमा रहेको जोरकुसुम पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । जस्मिन पेन्ट्स प्रा.लि. र नेपाल क्रिकेट एसोसियसन क्यानको सहकार्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल क्रिकेट एसोसियसन क्यानका सचिव पारस खड्काले बर र पिपलको विरुवा रोपी कार्यक्रमको उद्धघाटन गरेका थिए ।
हालै सम्पन्न एनपीएलअन्तर्गतको सम्पूर्ण खेलहरूमा भएका चौका र छक्काको संख्याका आधारमा विरुवा रोपिने जस्मिन पेन्ट्सको प्रतिबद्धता अनुरुप आजबाट वृक्षारोपण कार्यक्रमको सुरुआत गरिएको हो । जसअन्तर्गत ६५३ वटा चौका र ३४३ वटा छक्का रहेको थियो ।
कम्पनीका ब्रान्ड एम्बास्डर समेत रहेका पारसले नेपाली खेल जगतमा जस्मिन पेन्ट्सले गरेको सहयोगले क्यानलाई थप हौसला मिलेको बताए । कम्पनीले गरेको योगदानको कदर गर्दै आगामी दिनहरूमा पनि साथ सहयोगको आवश्यकता रहेको उनले बताए ।
जस्मिन पेन्ट्सले एनपीएल सुरुअघिदेखि नै प्रत्येक चौकामा एक विरुवा र प्रत्येक छक्कामा दुई विरुवा रोपिने प्रतिबद्धता व्यक्त गरेको थियो । कम्पनीको प्रतिबद्धताअनुसार जम्मा एक हजार ३३९ वटा विरुवा आजबाट सुरु गरि विभिन्न स्थानमा वृक्षारोपण गरिने कम्पनीका सञ्ञ्चालक लक्ष्मण अर्यालले बताए ।