काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ नेकपा माओवादीको बैठकमा लगातार सहभागी हुन थालेका छन् । उनलाई विशेष जिम्मेवारी दिने विषयमा माओवादीभित्र भने मतभेद रहेको स्रोतले जानकारी दिएको छ ।
उनी बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका छन् ।
एक नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “माओवादीभित्र अहिले प्रचण्डको उत्तराधिकारी को भन्ने विषयमा विवाद छ । त्यसमा जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेताहरूको दाबी छ । त्यसलाई रोक्नका लागि प्रचण्डले नै नन्दकिशोर पुनलाई अघि सारेको अनुमान हामीले गरेका छौँ ।”
प्रचण्डको यो तयारीप्रति शर्मा र पुन पनि असन्तुष्ट रहेको जनाइएको छ । नन्दकिशोर पुन विद्या भण्डारी राष्ट्रपति भएका बेला दुई कार्यकाल उपराष्ट्रपति भएका थिए ।