site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोकप्रिय मत पाउने दललाई पाँच वर्ष नै सरकार सञ्चालनको जिम्मामा जोड
फाइल तस्बिर ।

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेश सरकारमा रहने मन्त्रीको संख्या तोकिनुपर्ने बताएका छन् । कांग्रेस र नेकपा (एमाले)ले सरकार निर्माण गर्दा संविधान संशोधन पनि एजेन्डा बनाएका थिए । संविधान संशोधनका निम्ति दुई दलले सानो कार्यदल बनाइसकेका छन् । संविधान संशोधनका क्रममा प्रदेशमा रहने मन्त्रीको संख्या पनि निश्चित हुन सक्नेतर्फ उनले संकेत गरेका हुन् ।

संघ सरकारमा हाल २५ जनाभन्दा बढीको मन्त्रिपरिषद् बनाउन पाइँदैन । प्रदेश सरकारको हकमा भने कुल प्रदेशसभा सदस्यको २० प्रतिशत मन्त्री बनाउन सकिने संविधानमा व्यवस्था छ । संघमा झैँ प्रदेशमा पनि निश्चित संख्या तोकिनुपर्नेमा थापाले जोड दिए ।

कांग्रेस गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले भने, “सरकारको साइज ठूलो भयो, यत्रो सरकार चाहिँदैन । प्रदेशमा हामीले चार/पाँचजना कति मन्त्री बनाउने हो, संविधानमा बाँध्नुपर्छ ।”

हाल सरकारको आकार निकै ठूलो भएको भन्दै यसबारे सोच्नुपर्ने उनले बताए । “अहिले संविधानमा २५ जना मन्त्री भनेर नलेखेको भए केन्द्रमा ५० जना मन्त्री हुन्थ्यो,” उनले भने ।

महामन्त्री थापाले गठबन्धनमा सरकार चलाउन आवश्यक संस्कार, संस्कृति नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए । लोकप्रिय मत प्राप्त गरे पनि सरकार चलाउन नपाउने र गठबन्धन गर्नैपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । तर, गठबन्धन संस्कार नेपालमा नरहेको उनको बुझाइ छ ।

“सरकारमा बसेको प्रधानमन्त्रीले प्रत्येक १० दिनमा आएर यो सरकार परिवर्तन हुँदैन भनेर भन्नु परिरहेको छ, यहीँ भारतमै हेरौँ, जर्मनीमा हेरौँ, १५/२० वर्ष गठबन्धनको सरकार चल्यो । नचल्ने होइन, तर गठबन्धनको सरकार चलाउन एउटा संस्कार, संस्कृति हुन्छ – हाम्रो सन्दर्भमा त्यो फिट भएन भन्न मिल्छ,” उनले भने ।

गठबन्धनका बारेमा उनले अर्को विषय पनि उठान गरे । “सरकार चलाउन नपाउने भएपछि अर्को पार्टीसँग मिलेर चलाउनुपर्छ । अर्को पार्टीसँग मिलेर चलाउने कुरालाई हामीले गठबन्धन भन्यौँ । गठबन्धनको यति तितो अनुभव हामीसँग रह्यो, गठबन्धनको विकृत अभ्यास हाम्रो सन्दर्भमा भयो । चुनावअघिको मात्रै होइन, चुनावपछिको पनि,” उनले भने ।

निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष नै सरकार सञ्चालनको निश्चितताका निम्ति संविधान संशोधन गरिने उनले बताए । “जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ । हामीलाई समावेशी पनि चाहिएको छ । हाम्रो संसद्‌मा दलित चाहिएको छ । मधेसी चाहिएको छ । महिला अझ बढी चाहिएको छ । त्यो कुरामा कम्प्रोमाइज नगरीकन हामी निर्वाचन प्रणालीमा काम गर्छौँ,” उनले भने ।

संविधान संशोधनका बारेमा कांग्रेसभित्र छलफल भइसकेको उनले जानकारी दिए । अब एमालेसँग छलफल गरिने उनले बताए । त्यसपछि अरू दलसँग छलफल गर्दै नागरिकका बीचमा पनि जाने उनको भनाइ छ ।

महामन्त्री थापाले संविधान संशोधन गरिँदा गणतन्त्र, संघीयता, समावेशिताजस्ता विषय नचलाउने प्रस्ट पारे । “हामी संविधानको जुन बाटो यात्रा सुरु गरेका छौँ, त्यसलाई सम्हाल्छौँ । कुनै एड्भेन्चर हुँदैन । यसमा उपद्रो गर्न दिँदैनौँ,” उनले भने ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro