काठमाडौं । भारतमा विवाहका लागि दुलाहा–दुलहीका विषयमा जानकारी जुटाउने काम लमी वा पण्डितले होइन, जासुसले गर्न थालेका छन् । सदियौँदेखि यो काम नातेदार, छरछिमेकी वा लमीले गर्दै आएका थिए । तर, अब यो काम व्यावसायिक जासुसले गर्न थालेका छन् ।
विवाहअघि केटा र केटीका बारेमा जानकारी जुटाउने यस्ता जासुहरूको ठूलो नेटवर्क आजभोलि भारतका सहरदेखि गाउँसम्म फैलिएको छ । भावना पालिवाल यस्तै एक ‘हाईटेक’ जासुस हुन् ।
नयाँ दिल्लीमा काम गर्ने शिलाले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार उनकी छोरीले आफ्नो प्रेमीसँग विवाह गर्ने निर्णय गरिन् । तर, शिलालाई छोरीले छानेको केटाका बारेमा सबै कुरा थाहा पाउन मन लाग्यो । त्यसपछि उनले गुहारिन् जासुस भावना पालिवालाई ।
शिला भन्छिन्, “मेरो विवाह राम्रो भएन । तर, मेरी छोरीको जीवनसाथी भने राम्रो होस् भनेर मैले सावधानीपूर्वक यसो गरेँ ।”
४८ वर्षे भावना पालिवालले करिब दुई दशकपहिले तेजस डिटेक्टिभ एजेन्सी सुरु गेरेकी थिइन् । उनका अनुसार केटा–केटीको जासुसी गर्ने काम निकै राम्रो चलिरहेको छ ।
हालसालै भावना पालिवालले एकजना केटाको जासुसी गरिन् । ती युवकले आफ्नी हुनेवाली श्रीमतीलाई आफ्नो तलब ढाँटेका थिए । “त्यो केटाले ७० हजार सात सय अमेरीकी डलर वार्षिक आम्दानी भनेको थियो । तर यथार्थमा उसको वार्षिक आम्दानी सात हजार सात सय अमेरिकी डलर थियो,” भावना पालिवालले सुनाइन् ।
५१ वर्षे सञ्जय सिंह पनि एक जासुसी एजेन्सी चलाउँछन् । उनका अनुसार उनले यस वर्ष मात्र यस्ता सयौँ युवायुवतीको जासुसी गरे । विवाहअघि युवा–युवतीको जासुसी गर्ने ‘प्राइभेट डिटेक्टिभ’ आकृति खत्रीका अनुसार उनले गर्ने कुल जासुसीको एक चौथाइभन्दा बढी त विवाहका लागि मगनी गरेका युवा–युवतीकै हुन्छ । उनी भन्छिन्, “मान्छेहरू दुलाहा कतै समलैगिंक त होइन भनेर समेत जान्न खोज्छन् ।”
जासुसी निकै गोप्य तरिकाले गर्नुपर्ने काम हो । भावना पालिवालको कार्यालय सहरको एक ठूलो मलमा छ । काम जासुसीको भए पनि भावनाको कार्यालयको बोर्डमा भने ‘भविष्य बताउने ज्योतिषी’ लेखिएको छ ।
यस्ता जासुसले आठ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म शुल्क लिन्छन् । यो शुल्क कति जानकारी चाहिने हो र कति निगरानी गर्नुपर्ने हो भन्ने कुरामा भर पर्छ । विवाहका लागि जीवनभरको बचत खर्च गर्नेका लागि जासुसीमा खर्च हुने रकम खासै धेरै होइन् । विवाह गर्ने जोडीहरू मात्र होइन, प्रेमी–प्रेमिका पनि एकअर्काको जासुसी गराउँछन् ।
भारतमा परम्परागत रूपमा विवाहपूर्व अनुसन्धानको काम परिवारका सदस्य, पुजारी वा लमीले गर्ने गर्थे । तर, मानिसहरको बसोवास सहरतर्फ सरेपछि सामाजिक संरचनामा यस्तो परिवर्तन आएको छ कि सूचना पुष्टि गर्ने परम्परागत विधिहरू खासै प्रभावकारी हुन सकिरहेका छैनन् ।
आधुनिक सहरहरूमा अनेक प्रकारका निगरानी उपकरण हुन्छन् । जसका कारण जासुसलाई आफूले जासुसी गर्ने मान्छेको घरसम्म पुग्न मुस्किल हुन्छ । सिंहका अनुसार जासुसी कानुनी र अवैध तरिका बीचको ठाउँ हो । उनी आफ्ना जासुसलाई कुनै पनि गैरकानुनी काम नगर्न निर्देशन दिएको दाबी गर्छन् । यस्ता जासुहरूको जासुसीले कसैको जीवन पनि बर्बाद पार्न सक्छ ।
आकृति खत्रीले भने आफ्ना एजेन्टहरूका लागि एउटा एप बनाएकी छिन् । एजेन्टले आफूले पत्ता लगाएको जानकारी एपमा अपलोड गर्छन् । कसैगरी एजेन्टहरू समातिए पनि सूचना चुहावट हुने डर रहँदैन । खत्री भन्छिन्, “यसले हाम्रो टोलीलाई सुरक्षित राख्छ र कम समय र खर्चमा राम्रो नतिजा पनि दिन्छ ।”
भारतीय बजारमा केही हजार रुपैयाँमा निगरानी उपकरण सजिलै पाइन्छन् । अडियो वा भिडियो रेकर्डिङ उपकरण लामखुट्टे भगाउने इलेक्ट्रोनिक मेसिनमा लगाउन सकिन्छ । साना क्यामेरा, चुम्बकीय जीपीए सहर र कारमा लगाउने गरिन्छ ।
प्रविधिको विकासले सम्बन्धका लागि नयाँ चुनौतीहरू पनि सिर्जना गरेको छ । खत्री सुनाउँछिन् “हामी जति हाईटेक बन्छौँ, त्यति नै हाम्रो जीवनमा समस्या आउँछ ।” तर, सम्बन्धमा हुने विश्वासघातको पर्दाफास गर्न प्रविधि र जासुस जिम्मेवार नहुने उनको दाबी छ । उनी भन्छिन्, “यस्ता सम्बन्ध कुनै पनि हालतमा लामो समयसम्म टिक्दैनन् । कुनै पनि सम्बन्ध झुटमा टिक्न सक्दैन ।”