site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालीलाई अवैध तरिकाले युरोप र अमेरिका पुर्‍याउन बैंकक र सिंगापुरलाई ट्रान्जिट बनाउँदै मानव तस्कर 
फाइल तस्बिर

काठमाडौं । केही दिनअघि सिंगापुरले दुई जना नेपाली नागरिकलाई डिपोर्ट (निष्कासन) गर्‍यो । उनीहरुको कसुर थियो– जाली पासपोर्टको प्रयोग । 

सिंगापुरमा नेपाली दूतावास छैन । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले नै सिंगापुर हेर्छ । 

केही दिनअघि सिंगापुरले दुईजना नेपालीलाई पक्राउ गरिएको जानकारी बैंककस्थित नेपाली दूतावासलाई दियो । त्यसपछि मात्र ती दुई नेपालीले जाली पासपोर्ट के कसरी प्राप्त गरे भन्ने रहस्य खुलेको थियो । 

Dabur Nepal
NIC Asia

“मानव तस्करी पनि यति हाइटेक हुन थालेछ सुन्दै अचम्म लाग्छ,” थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले बाह्रखरीसँग भने, “अहिले पढे–लेखेका, जान्ने–बुझ्ने र देशविदेश घुमेकाहरु नै मानव तस्करहरुको फन्दामा पर्ने गरेको देखिन्छ ।” 

सिंगापुर प्रहरीले पक्राउ गरेपछि ती दुई नेपालीले आफ्नो सम्पूर्ण कथा सुनाएका थिए । उक्त कुरा सिंगापुरले बैंककस्थित नेपाली दूतावासलाई ‘फरवार्ड’ गरेको थियो ।  राजदूत ओलीका अनुसार पक्राउ परी हाल नेपाल डिपोर्ट भैसकेको दुई नेपाली १५ वर्षदेखि युनाईटेड अरब इमिरेट्स (यूएई)को दुवईमा काम गर्दैै आएका थिए । 

मानव तस्करले अमेरिका लगिदिने प्रलोभन देखाएपछि उनीहरुमध्ये एक जनाले ४० लाख रुपैयाँ र अर्कोले ३० लाख रुपैयाँ तस्करलाई बुझाएका थिए । उनीहरु अमेरिका जानको लागि सुरुमा दुवईबाट नेपाली पासपोर्टमा सिंगापुर आएका थिए । 

सिंगापुर  अध्यागमनमा उनीहरुले नेपाली पासपोर्ट नै देखाए । उनीहरु सिंगापुर विमानस्थलमा झरेकै समयमा दुईजना तस्कर पनि अन्यत्रबाट त्यहाँ आइपुगिसकेका थिए । त्यसपछि तस्करले उनीहरुलाई दुईवटा इन्डोनेसियाको पासपोर्ट दिए जसमा अमेरिकाको भिसा लागेको थियो । 

उनीहरु सिंगापुरबाट इन्डोनेसियन पासपोर्टमा चीनको बेइजिङ गए ।  बेइजिङ्मा शंका लागेपछि उनीहरुलाई केरकार गरियो ।  अर्काको पासपोर्टमा आएको कबुल गरेपछि बेइजिङ अध्यागमनले उनीहरुलाई सिंगापुर नै फिर्ता पठाइदियो । 

त्यसपछि सिंगापुर अध्यागमनले उनीहरुसँग नेपाली र इन्डोनेसियन दुई देशको पासपोर्ट रहेको थाहा पायो ।  उनीहरुलाई पक्राउ गरेपछि सिंगापुर अध्यागमनले बैंककस्थित नेपाली दूतावासलाई खबर गरेको थियो । 
अनि उनीहरुलाई सिंगापुरले नेपाल डिपोर्ट गरेको थियो । 

“आजकल सूचना प्रविधि विज्ञ, विकसित देश तथा सहरमा बसेका युवाहरु आफैँ जानी बुझिकन तस्करी हुन खोजेको देखिन्छ,” राजदूत ओलीले भने ।

सिंगापुरले डिपोर्ट गरेको त एउटा मानवतस्करीको उदाहरण मात्र हो ।  बितेको करिब एक वर्षमा (सन् २०२४ जनवरी १ देखि डिसेम्बर २३ सम्म) को अवधिमा ५६ देशले एक हजार २२८ जनालाई नेपालीलाई डिपोर्ट गरेका छन् । 

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालका अनुसार धेरैजसो नेपाली गैरकानूनी रूपमा कुनै देशमा प्रवेश गर्न खोजेको र ओभर स्टे (भिसाभन्दा बढी समय बसेको) गरेका कारण डिपोर्ट हुने गरेका छन् । 

“गैरकानूनी रुपमा प्रवेश गर्न खोज्ने, गर्न नहुने काम गर्ने, स्थानीय कानुन तोड्ने लगायतका कसुरमा नेपालीहरु डिपोर्ट भएको देखिन्छ,” अध्यागमन विभागका महानिर्देशक रिजालले बाह्रखरीसँग भने ।

पछिल्ला वर्षहरुमा डिपोर्ट हुने नेपालीको संख्या बढ्दो क्रममा रहेको छ ।  अध्यागमन विभागको तथ्याङ्क अनुसार बितेको करिब चार वर्षमा मात्र विभिन्न देशले ४ हजार ७१८ जना नेपालीलाई डिपोर्ट गरेका छन् । सन् २०२१ मा विभिन्न देशले ८८० जना नेपालीलाई डिपोर्ट गरेका थिए । सन् २०२२ मा आइपुग्दा यो संख्या बढेर १ हजार १६७ पुगेको थियो । 

सन् २०२३ मा विदेशबाट डिपोर्ट भई नेपाल फर्कने नेपालीको संख्या १ हजार ४४३ रहेको थियो । सन् २०२४ को जनवरी १ देखि डिसेम्बर २३ सम्म १ हजार २२८ जना नेपाली डिपोर्ट भैसकेका छन् । पछिल्ला वर्षहरुमा मानवतस्करहरुले नेपालीलाई अवैध तरिकाले दक्षिणपूर्वी एसियाली राष्ट्र, युरोप र अमेरिका पुर्‍याउन थाइल्याण्डको बैंकक र सिंगापुरलाई ‘ट्रान्जिट’ बनाउने गरेको पाइएको छ । 

सन् २०२४ सुरु भएयता मात्र सिंगापुरले ३२ र थाइल्यान्डले २९ जना नेपालीलाई डिपोर्ट गरिसकेका छन् । दक्षिणपूर्वी एसियाका म्यानमार, लाओस, कम्बोडियामा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभनमा तस्करहरुले ठूलो संख्यामा नेपालीलाई सुरुमा बैंकक तथा सिंगापुर पुर्‍याउने गरेका छन् । 

युरोप र अमेरिका लगिदिने प्रलोभनमा पनि नेपालीलाई सुरुमा बैंकक तथा सिंगापुर लग्ने गरेको पाइएको छ ।

“मानवतस्करको प्रलोभनमा परी अलपत्र परेका कम्बोडियाबाट १५, म्यानमारबाट ११ र लाओसबाट ६ जना गरी ३२ जना नेपालीले केही दिन यता आफ्नो उद्धार गरिदिनुपर्‍यो भन्दै हामीलाई फोन गर्नुभएको छ,” थाइल्यान्डका लागि नेपाली राजदूत ओलीले भने, “यीमध्ये १० जनाको उद्धार गरी नेपाल पठाइसकेका छौं ।” 

मानवतस्करले नेपालबाट सिधै बैंकक र सिंगापुर पुर्‍याउने गरेका छैनन् । धेरैजसो नेपालीलाई भारत र युएई हुँदै बैंकक र सिंगापुर पुर्‍याउने गरिएको छ ।  नेपालीलाई थाइल्यान्डको बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार पुर्‍याई बन्दी बनाएर काममा लगाउने गरेको पाइएको छ । 

“म्यानमार, लाओस, कम्बोडियाका सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक सेवा सुविधासहितको जागिर लगाइदिने प्रलोभन देखाई मानव तस्करले नेपालीलाई यहाँ ल्याउने गरेको देखिन्छ,” राजदूत ओलीले भने ।

दक्षिणपूर्वी एसियाली राष्ट्रमा काम गर्न जानको लागि नेपालीलाई ७ देखि १५ लाख रुपैयाँसम्म मानवतस्करलाई बुझाउने गरेका छन् ।  बदलामा मानव तस्करले मासिक डेढदेखि तीन लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने प्रलोभन देखाउने गरेका छन् । 

मानवतस्करको प्रलोभनमा परी दक्षिणपूर्वी एसिया पुग्नेहरु धेरैजसो भिजिट भिसामा दुवई जानेहरु छन् । मानवतस्करले उनीहरुलाई दुवईबाट दक्षिणपूर्वी एसिया पुर्‍याउने गरेका छन् । 

“अनलाइनमार्फत विज्ञापन गर्ने । सोही विज्ञापनको आधारमा आवेदन दिन लगाउने र भिसाको सम्पूर्ण कार्य मानव तस्करले गर्ने गरेको पाइएको छ । यसरी आएर यहाँ अप्ठेरोमा परेपछि उद्धारको लागि अनुरोध गर्नेहरु धेरैले आफूहरु दुवईबाट आएको बताउँछन्,” म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले बाह्रखरीसँग भने । 

राजदूत घिमिरेका अनुसार पछिल्लो दुईवर्षमा मानव तस्करले म्यानमारमा ल्याइ अलपत्र पारेका ९१ जना नेपालीलाई उद्धार गरी नेपाल पठाइएको छ । 

अझै १३ जना नेपाली म्यानमारमा उद्धारको पर्खाइमा छन् ।  मानव तस्करले नेपालीलाई बैंककबाट म्यानमार लैजाने गरेका छन् ।  धेरैजसो नेपालीलाई थाइल्यान्ड–म्यानमारको सीमा नजिक बन्धक बनाएर जबरजस्ती काममा लगाइएको छ । 

म्यानमारमा लगेर जबरजस्ती अवैध कार्यहरुमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायतका समस्याहरु रहेको जानकारी गराउँदै उद्धारका लागि नेपाली दूतावास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा पछिल्ला दिनमा बढेको छ । 

यसअघि मानव तस्करले विभिन्न प्रलोभन देखाइ नेपालीलाई थाइल्यान्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यहरुमा लगाइएको पाइएको थियो ।

यस विषयमा परराष्ट्रले २०७९ पुस महिनामा ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई आवश्यक सतर्कता अपनाउन भनेको थियो ।  तत्पश्चात प्रलोभनमा परी उक्त क्षेत्रमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएको थियो । 

तर पछिल्ला दिनहरुमा मानवतस्करहरुको प्रलोभनमा परी ती क्षेत्रमा जाने नेपालीको संख्या ह्वात्तै बढेको छ ।

म्यानमार, लाओस र कम्बोडिया पुर्‍याइएका नेपालीलाई अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टोकरेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरूले बन्धक बनाएर काममा लगाउने गरेका छन् । 

मानव तस्करले नेपालीलाई म्यानमारको प्रहरीको नियन्त्रण नरहेको  र विद्रोहीको नियन्त्रण रहेको स्थानमा राख्ने गरेका छन् । जसका कारण उद्धार गर्न समेत कठिन हुने गरेको छ । 

केही दिनअघि मात्र म्यानमारको गृह मन्त्रालयले त्यहाँ रहेका कूटनीति नियोगका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर ३७ देशका नागरिकलाई मानव तस्करले ल्याई बन्धक बनाएर काममा लगाएको जानकारी दिएको थियो । 
उक्त बैठकमा म्यानमारका लागि नेपाली राजदूत घिमिरे पनि उपस्थित थिए । 

“हाम्रा नागरिकका सम्बन्धमा हामीले म्यानमारका अधिकारी समक्ष कुरा राखेका छौं,” राजदूत घिमिरेले भने ।  तस्करको प्रलोभनमा परी दक्षिणपूर्वी एसियाली राष्ट्र पुग्ने नेपालीलाई ठग्ने काम नगरे वा गर्न नसके टर्चर दिने गरिएको छ । 

उद्धार गरिएकाहरुले दूतावासलाई बताएअनुसार उनीहरुलाई त्यहाँबाट उम्कनको लागि दुई वटा अप्सन दिइन्छ ।  पहिलो, क्षतिपूर्ति रकम बुझाउन र दोस्रो, अर्को मान्छेलाई त्यहाँ ल्याइदिने र आफू निस्कने ।  यसैकारण त्यहाँ पुग्ने धेरै नेपालीहरु आफन्तले नै बोलाएर त्यहाँ पुग्ने गरेको राजदूतहरुको भनाई छ । 

“उद्धार गरिएकाहरुलाई तपाईंहरुलाई कसले यहाँ ल्यायो नाम भन्नोस् न भन्दा केही जानकारी दिँदैनन्,” थाइल्यान्डका लागि नेपाली राजदूत ओलीले भने, “उद्धार गरेर पठाएका कति त फेरि मानव तस्करको पछि लागेर यहाँ आएको देखिएको छ ।” 

विभिन्न देशबाट डिपोर्ट भएर नेपाल पठाइएकालाई नेपालको अध्यागमनले सोधपुछ गरेर तस्करको नाममात्र निकाल्न सके पनि समस्या धेरै समाधान हुने भनाइ राजदूतहरुको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro