काठमाडौं । जर्मनीमा एक्लोपनको सिकार हुनेको संख्या बढिरहेको छ । एक्लोपनको असर व्यक्तिमा मात्र नभएर सिंगो लोकतन्त्रमा पनि परिरहेको देखिन्छ ।
एक्लोपनलाई जर्मनीको 'मौन महामारी' भन्ने गरिन्छ । जर्मनीको संघीय तथ्यांक कार्यालयले जारी गरेको ताजा तथ्यांक अनुसार, १० वर्षभन्दा बढी उमेका प्रत्येक ६ जनामा एक जनाले एक्लोपन महसुस गरिरहेको बताएका छन् । अर्थात्, जर्मनीमा एक्लोपन महसुस गर्नेको संख्या एक करोड २२ लाख छ ।
मनोवैज्ञानिकहरूका अनुसार, एक्लोपन व्यक्तिका चाहना र वास्तविक सामाजिक सम्बन्धबीचको विसंगति हो । एक्लोपनले जर्मनीका युवा पुस्तालाई सबैभन्दा बढी गाँजेको देखिन्छ । १८ देखि २९ वर्ष उमेर समूहका एक चौथाइ युवाहरू आफूले एक्लोपन महसुस गरेको बताउँछन् ।
जर्मनी सरकारको पारिवारिक मामिलामन्त्री तथा ग्रिन पार्टीका नेता लिजा पाउज एक्लोपनलाई वर्तमान समयको सबैभन्दा महत्त्वपूर्ण र ज्वलन्त मुद्दा मान्छिन् । एक्लोपनले हृदयरोग, ब्रेन स्ट्रोक, डिमेन्सिया र अवसादजस्ता स्वास्थ्य जोखिमको खतरासँगै सामाजिक सम्बन्ध पनि कमजोर बनाएको लिलाको बुझाइ छ ।
जर्मनीको परिवार कल्याण मन्त्रालयको सहयोगमा चलेको ‘कोलेक्ट’ परियोजनाले गरेको अध्ययनको निष्कर्ष अुनसार एक्लोपन लोकतन्त्रका लागि पनि खतरा बन्न सक्छ ।
अनुसन्धानकर्ताले एक्लोपन र लोकतन्त्र विरोधी प्रवृतिबीच सम्बन्ध रहेको पाएका छन् । एक्लोपन र लोकतन्त्र विरोधीबीच देखिएका समान प्रवृति हुन्– लोकप्रियतावाद (पपुलिज्म)तर्फ झुकाव, षडयन्त्र सिद्धान्त, निरंकुश सर्वसत्तावादी, नियम तोड्ने, हिंसात्मक राजनीतिलाई समर्थन गर्नु ।
जर्मनी सरकारले गरेको अध्ययनमा १६ देखि २३ वर्षका एक्लोपन महसुस गर्नेहरूमध्ये ३३ प्रतिशतले शासकको सबैभन्दा उपयुक्त विकल्प होइन भनेर जवाफ दिए । एक्लोपन महसुस गर्ने २९ प्रतिशत युवाहरू कुनै राजनीतिक उद्देश्य प्राप्तिका लागि हिंसात्मक बाटो प्रयोग गर्नु उचित हो भन्ने ठान्छन् ।
समाजशास्त्री तथा युवामा देखिएको एक्लोपनको अध्ययन गरेकी क्लाउडिया नाय भन्छिन्, “एक्लोपन एकछिनको मात्र अनुभव होइन । लोकतन्त्र र एक्लोपनबीच सम्बन्ध छ । लामो समयदेखि एक्लोपनको अनुभव गर्ने मान्छेहरू समाजलाई धेरै नकारत्मक दृष्टिमा देख्न थाल्छन् । यस्ता मान्छेहरू समाजलाई अँध्यारो, खतरनाक मान्न थाल्छन् । एक्लोपन महसुस गरिरहेकाहरूको अरू मान्छेसँगै आफ्नो वरिपरिको वातावरण, माहोल र लोकतान्त्रिक संस्थामाथि पनि विश्वास घट्न थाल्छ ।”
क्लाउडियाका अनुसार, लोकतन्त्र सहभागितामा मात्र जीवित रहन्छ । लोकतन्त्रप्रति मान्छेको समर्थन कुनै पनि व्यक्ति आफ्नो समाजप्रति कति जोडिएको छ र उसले समाजसँग कस्तो महसुस छ भन्ने कुरामा भर पर्छ ।
क्लाउडिया भन्छिन्, “मान्छेलाई समुदायमा रहने अधिक अपेक्षा हुन्छ । हाम्रो वरिपरि मान्छेहरू नहुने भने हामी सायद सर्भाइभ पनि गर्न सक्दैनौँ । दक्षिणपन्थी विचारका मान्छेहरू वा उग्र दक्षिणपन्थी दलहरू मान्छेमा समुदायको बोध त गराउँछन् । तर, साथसाथै डरको भाष्य (न्यारेटिभ) पनि बनाउँछन् ।”
२५ वर्षीया ग्राबिएला ग्रोबरचिकोभाले १५ वर्षको उमेरमा पहिलोपटक एक्लोपन महसुस गरेकी थिइन् । उनी भन्छिन्, “मैले आफूलाई मान्छेहरूबाट टाढा महसुस गरेँ । मेरो आसपास धेरै मान्छे थिए । तर उनीहरूसँग जोडिएको बोध भने थिएन ।”
ग्रोबरचिकोभाका अनुसार, उनको पारिवारिक जीवनमा पनि स्थिरता थिएन । उनलाई कसैसँग लामो समयसम्म मित्रता राखिरहन मुस्किल हुन्थ्यो । यसका बाबजुद राजनीतिके माध्यमबाट भने उनले समाज र मान्छेसँग जोडिएको महसुस हुन्थ्यो । यद्यपि, उनले लोकतन्त्र विरोधी चरमपन्थी विचारको पक्षधरता भने लिइनन् ।
ग्रोबरचिकोभा भन्छिन्, “एक्लोपन एक अवस्था हो जसमा समुदायप्रतिको तीव्र तर अधुरो इच्छा हुन्छ । राजनीतिक सम्बन्धको एक अभियानमार्फत समुदायसँग जोडिने मेरो इच्छा पूरा भयो ।”
उनी अहिले विद्यालयहरूमा लोकतान्त्रिक सम्बन्धलाई प्रोत्साहित गर्ने एक स्वयंसेवी संगठनका लागि काम गर्छिन् । कोलोक्टको अध्ययनले पनि युवाहरूमा लोकतन्त्रप्रति व्यापक मात्रामा तीव्र सन्देह रहेको पाएको छ ।
समाजशास्त्री तथा जर्मनी युवाहरूमा कट्टरपन्थी विचारका अध्ययता ब्योर्न मिलब्राट भन्छन्, “आज युवाहरू अधिकभन्दा अधिक कट्टर बन्दै गइरहेको मानिन्छ । तर, यो विचारमा पूर्णतया सहमत हुनु अगाडि यस विषयमा सावधान हुन अनुरोध गर्छु । कट्टर र चरमपन्थी आन्दोलन आज मात्र होइन पहिल्यैदेखि थिए ।”
मिलब्राटका अनुसार, युवाहरू कट्टपन्थी हुनुमा एक्लोपनमात्र कारण होइन । यसमा उनीहरूको सामाजिक आर्थिक पृष्ठभूमि, पारिवारिक जीवन, आलोचनात्मक चेतको अभावलगायत विषयले पनि युवाहरूलाई कट्टरपन्थी बनाउने कि नबनाउने भन्ने तय गर्छ ।
सन् २०१९ मा भएको ‘सेल युथ स्टडी’ले १० जनामा तीनजना युवाहरूको दक्षिणपन्थी लोकप्रियतावादतर्फ झुकाव रहेको देखाएको थियो । यही अध्ययनको हवाला दिँदै उनी भन्छन्, “युवाहरूले चरमपन्थी मुद्दाबारे सचेत हुनुपर्छ । त्यो अध्ययनको नतिजा भयानक थियो । मेरो विचारमा आज पनि उत्तिकै भयानक छ । हालसालै चुनावी नतिजामा पनि अल्टरनेटिभ फर जर्मनी (एएफडी)लाई राम्रो संख्यामा युवाहरूको समर्थन मिल्यो । यस हिसाबले यो हाम्रा लागि चेतावनीको संकेत हो ।”