काठमाडौं । किन प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार नेपाली कांग्रेससँग ०८४ को निर्वाचनसम्म कायम रहने प्रष्टीकरण दिइरहेका छन् ? प्रधानमन्त्री ओलीले बारम्बार सरकार ढल्दैन र सहमतिअनुरुप शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भनिरहनुले ओली त्रसित रहेको विश्लेषकहरूको टिप्पणी छ ।
अझ नेपाल प्रिमियर लिग (एनपीएल) को समापन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिले ओलीप्रति आशंका गर्नेहरूलाई बल पुगेको छ ।
समापन समारोहमा प्रधानमन्त्री ओली अनुपस्थित रहे भने देउवा र दाहाल उपस्थित थिए । प्रमुख अतिथिका रूपमा शेरबहादुर देउवालाई बोलाइएको भए पनि शनिबार बिहान प्रचण्डको सचिवालयले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर आफूहरू पनि खेल हेर्न आउन लागिएको जानकारी गराएका थिए ।
चन्दका अनुसार प्रमुख अतिथिमा देउवालाई बोलाइएसकिएको जानकारी गराइएको भए पनि प्रचण्डको सचिवालयले केही फरक नपर्ने र आफूहरू पनि सहभागी हुने बताएपछि क्यानले व्यवस्थापन गरेको थियो ।
सार्वजनिक मञ्चहरूमा ०८३ असारमा आफ्नो कार्यकाल सकिएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावसम्म प्रधानमन्त्री रहने सहमति सुनाउने गरेका ओलीले क्यानको समापन समारोहका बारेमा अहिलेसम्म केही भनेका छैनन् ।
उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा ओलीले सरकार अहिले÷भरे नै ढल्छ भनेर धारे हात लगाइरहेको सुनाए ।
“हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ,” ओलीले भने, “हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन् । सरकार ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन् ।”
०८१ असार १७ गते संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सहमति ७ बुँदे सहमति भएको थियो । त्यही सहमतिका आधारमा ओली ०८० साउन ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । साउन ६ गते संसद्मा विश्वासको मत लिँदै ओलीले दुई पार्टीबीचको ७ बुँदे सहमति पढेर सुनाए थिए ।
जसमा ओलीको कार्यकाल दुई वर्ष रहने उल्लेख छ ।
“राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आमनिर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने,” सहमतिमा उल्लेख छ ।
सरकार बनेको केही समयदेखि नै सरकारको आयुबारे बोलेका ओलीले दुई दलबीचको सहकार्य पाँचौं महिनामा पुग्दा पनि दोहोर्याउँदै आएका छन् । दुई ठूला पार्टी मिलेर बनेको गठबन्धन सरकारका प्रधानमन्त्रीले नै बारम्बार सरकारबारे प्रष्टीकरण दिँदा संशय पनि उत्पन्न हुन थालेको छ ।
ठूला दल मिलेर बनेको सरकारले जनताका आशा अनुसार काम गर्नुपर्नेमा सरकारबारे प्रष्टीकरण दिँदै हिँड्नुपर्ने अवस्थाप्रति विभिन्न कोणबाट टिकाटिप्पणी हुने गरेको छ ।
सरकारको प्रभावकारितामा कांग्रेसको प्रश्न
सरकारको काम–कारबाहीप्रति सहयात्री कांग्रेसले प्रश्न उठाउन थालेको छ । कांग्रेसका नेता शेखर कोइरालाले सरकारको कार्यशैलीप्रति सार्वजनिक मञ्चबाटै असन्तुष्टि जनाउँदै छन् । उता, शुक्रबार मात्रै महामन्त्री गगन थापाले जनताको आशाअनुसार सरकार चल्न नसकेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग थापाले सरकारको गठनको उद्देश्यअनुसार काम हुन नसकेको बताए ।
‘‘सरकारको फेरबदल हुँदैन । तर सरकारले गर्न नसकेका कामबारे प्रधानमन्त्री सचेत रहनुपर्छ,’’ थापाको भनाइ थियो, “सरकार बनिसकेपछि जुन खालको आशा थियो, ती आशा अनुरूप जसरी डेलिभरी हुनुपर्ने हो त्यो डेलिभरी हुन सकेको छैन ।’’
विश्लेषक भन्छन् – प्रधानमन्त्री सरकार ढल्छ कि भन्ने भयमा !
विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेलले ओली सरकार ढल्छ कि भन्ने भयबाट ग्रसित भएको देख्छन् । उनले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा ओलीले पटक पटक दिइरहेको अभिव्यक्तिलाई यसरी केलाए– पहिलो, आफ्नो विगतका कारण सत्ता सहयात्रीमा आशंका छ । विगतमा आफूले गरेको सत्ता हस्तान्तरणको वाचा पूरा गरेको वाचा ओलीले पूरा गरेका छैनन् ।
दोस्रो, यो गठबन्धन संसदीय अभ्यासको हिसाबले अमिल्दो छ । सबैभन्दा ठूलो दलसँग तेस्रो–चौथो दलहरू मिलेर गठबन्धन सरकार बन्ने हो । त्यसरी हेर्दा, कांग्रेसको नेतृत्वमा तेस्रो, चौथो दल मिलेर सरकार बन्नुपर्ने हो । दुई ठूला दलको गठबन्धन यसैले अस्वाभाविक छ ।
तेस्रो, प्रधानमन्त्रीको ‘परफर्मेन्स’ अपेक्षाअनुरुप छैन । कांग्रेसले काँध फेर्छ कि भन्ने आशंका पनि उहाँमा होला । त्यसैले यो मितिमा छोड्छु भनेर भनिरहनुभएको छ ।
चौथो, भारतसँगको सम्बन्धमा अचानक मौनता आयो । नेपालको प्रधानमन्त्रीले भारतबाटै भ्रमण गर्नुपर्छ भन्ने चलनचल्तीको भाष्य थियो । तर भारतले निम्ता नै गरेन । परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमण गरिरहनुभएको छ, केही जादू हुन सक्छ कि थाहा छैन ।
दुईपटक परराष्ट्रमन्त्रीले निम्ता गर्दा पनि प्रधानमन्त्रीको भ्रमणका लागि भारतले मुख खोलेको छैन ।
पाँचौं, नेपाली कांग्रेसभित्रै पनि यो सरकारको परफर्मेन्सलाई लिएर आलोचक छन् । शेखर कोइरालालगायत खुलेर नै बोलिरहेका छन् । त्यसले कांग्रेसमा कुनै नयाँ खिचडी पाक्न सक्छ कि भन्ने होला । प्रधानमन्त्री सरकार ढल्छ कि भन्ने भयको मनोविज्ञानबाट ग्रसित छन् ।
विश्लेषक नारायण ढकाल पनि प्रधानन्त्री ओलीको मनस्थिति अस्थिर देख्छन् । पार्टीभित्र नेतृत्व परिवर्तनको बहसले दबाबमा र समीकरणमा गडबढ हुन सक्ने सम्भवानाप्रति ओलीले प्रष्टीकरण दिइरहनुपरेको ठम्याइ उनको छ ।
“उहाँको मनस्थिति अस्थिर देखिन्छ । नेतृत्व हस्तान्तरणको कुरालाई लिएर दबाबमा भएको जस्तो देखिन्छ । समीकरणमा पनि गडबढ हुने सक्ने आशंकाले हुन पनि सक्छ,” ढकालले बाह्रखरीसँग भने ।
आशंकाको निवारण
कांग्रेस र एमालेका नेताहरू भने सरकारका विषयमा आशंका र प्रश्न उठेपछि प्रधानमन्त्रीले प्रष्ट पार्नुपरेको सुनाउँछन् । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा प्रधानमन्त्रीले आशंकाको निवारणका लागि बोलेको बताउँछन् ।
“प्रमुख प्रतिपक्षी दलका नेता, केही अराजक समूहले बारम्बार सरकार ढल्छ भनिरहेको अवस्था छ । अर्कोतर्फ कांग्रेसका केही नेताहरुले अव्यवहारिक अभिव्यक्ति दिइराखेका बेला आशंका उत्पन्न नहोस् र भएका आंशका निवारण होस् भन्ने ध्येयबाट भनिरहनुभएको हो,” विश्वकर्मा भन्छन् ।
उनले नेपालमा विदेशी आउँदा र जाँदा पनि सरकार ढल्ने भन्ने हल्ला हुने गरेको भन्दै गठबन्धन ०८४ को निर्वाचनसम्म कायम रहने जिकिर गरे । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रश्न उठेपछि प्रधानन्त्रीले जवाफ दिनुपरेको बताए ।
“प्रश्न उठेपछि प्रधानन्त्रीले जवाफ दिनुभएको हो । गठबन्धनमा शंका गर्नुपर्ने कुनै जरुरी छैन,” गौतमले बाह्रखरीसँग भने ।