site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५६ देशले १२ सय नेपालीलाई गरे ‘डिपोर्ट’, कुन देशबाट कति ?

काठमाडौं । बढ्दो विदेश जाने क्रमसँगै डिपोर्ट (निष्कासन) हुँदै फर्किने नेपालीको संख्या पनि बढ्दै गएको छ । 

बितेको करिव एक वर्षमा अर्थात् सन् २०२४ जनवरी १ देखि डिसेम्बर २३ सम्मको अवधिमा विभिन्न देशले एक हजार २२८ जनालाई नेपालीलाई ‘डिपोर्ट’ गरेका छन् । 

“विदेश पुगेका नेपालीहरू अनेक कारणले डिपोर्ट हुने गरेका छन् । धेरेजसो भिसाको अवधिभन्दा बढी (ओभर स्टे) बसेका कारण डिपोर्ट हुने गरेका छन्,” गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले बाह्रखरीसँग भने ।

बितेको एक वर्षमा ५६ देशले नेपाली नागरिकलाई डिपोर्ट गरी पठाएका छन् ।  उक्त अवधिमा ल्याटिन अमेरिकी राष्ट्र बोलेभियादेखि अफ्रिकी राष्ट्र आइभेरी कोस्टसम्मबाट डिपोर्ट गरी नेपालीलाई फर्काइएको छ । 

“गैरकानूनी रुपमा प्रवेश गर्न खोज्ने, गर्न नहुने काम गर्ने, स्थानीय कानुन तोड्नेलगायतका कसूरमा नेपालीहरू डिपोर्ट भएको देखिन्छ,” महानिर्देशक रिजालले थप स्पष्ट पारे । 

पछिल्लो करिब एक वर्षमा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)ले सबैभन्दा ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको छ ।  यसवर्षको जनवरी १ देखि डिसेम्बर २३ सम्मको अवधिमा यूएईले २८२ जना नेपालीलाई डिपोर्ट गरी पठाएको छ ।

यूएईपछि ठूलो संख्यामा नेपाली डिपोर्ट गर्ने राष्ट्र हो जापान ।  जापानले सो अवधिमा ११५ जना नेपालीलाई डिपोर्ट गरेको छ ।  तेस्रो ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गर्ने राष्ट्र हो– मलेसिया ।  मलेसियाले बितेको एक वर्षमा ११४ जना नेपालीलाई डिपोर्ट गरेको छ । 

अध्यागमन विभागको तथ्याङ्कअनुसार, पछिल्लो करिब एक वर्षमा दक्षिण कोरियाले ७५, कतारले ६७, टर्कीले ६६, अजरबैजानले ४३, भारतले ३९, रोमानियाले ३८, अमेरिकाले ३५, क्रोएसियाले ३३, कुवेतले ३३ र सिंगापुरले ३२ जना नेपालीलाई डिपोर्ट गरेको छ ।

उक्त अवधिमा थाइल्यान्डले २९, साउदी अरेबियाले २३, माल्दिभ्सले २२, बेलायतले २२, बुल्गेरियाले १६, लाओसले १४, अष्ट्रेलियाले १२, सर्वियाले १२, चीनले ११, साइप्रसले १०, बंगलादेशले ९ र हङकङले ७ जना नेपालीलाई डिपोर्ट गरी पठाएको छ । 

यस्तै, क्यानडाले ६, दक्षिण अफ्रकाले ६, मेक्सिकोले ५, जर्मनीले ४, फिलिपिन्सले ४, उज्वेकिस्तानले ४, बोलिभियाले ३, माल्टाले ३ र न्युजील्यान्डले ३ जना नेपालीलाई डिपोर्ट गरेका छन् । 

त्यसरी बहराइन, कम्बोडिया, फ्रान्स, ग्रिस, माल्दोभा, नर्थ म्यासेडोनिया, ओमान, पोल्यान्ड र श्रीलंकाले दुई–दुई जना नेपालीलाई निष्कासन गरेको छ ।

अल्बानिया, अष्ट्रिया, बेलारुस, बेल्जियम, बोस्निया एण्ड हर्जगोभिना, कोलम्बीया, आइभेरी कोस्ट, इजिप्ट, फिनल्यान्ड, गुयना, हंगेरी र रुसले एक–एक जना नेपालीलाई ‘डिपोर्ट’ गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागको तथ्याङ्कले सबैभन्दा ठूलो संख्यामा नेपाली ‘डिपोर्ट’ वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएका देशबाट हुने गरेको देखाएको छ । 

बितेको करिब एक वर्षमा यूएई, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, ओमान, मलेसिया, कुवेत, जापान र बहराइन गरी ९ देशले मात्र ७१३ जना नेपालीलाई ‘डिपोर्ट’ गरेका छन् । यो भनेको कुल ‘डिपोर्ट’ हुने नेपालीको ५८.०६ प्रतिशत हो । 

सामान्यतया, गम्भीर अपराध गरेका, गैरकानुनी रूपमा देशमा प्रवेश गरेका, आफ्नो भिसाको सर्त तोडेका वा सम्बन्धित देशमा रहन कानुनी हैसियत गुमाएका विदेशीहरूलाई प्रशासनिक रूपमा हटाउन वा देश निकाला (डिपोर्ट) गरिन्छ ।

पछिल्ला वर्षहरूमा ‘डिपोर्ट’ हुने नेपालीको संख्या बढ्दो क्रममा छ ।  अध्यागमन विभागको तथ्याङ्कअनुसार बितेको करिब चार वर्षमा मात्र विभिन्न देशले ४ हजार ७१८ जना नेपालीलाई ‘डिपोर्ट’ गरेका छन् ।  सन् २०२१ मा विभिन्न देशले ८८० जना नेपालीलाई ‘डिपोर्ट’ गरेका थिए । 

सन् २०२२ मा आइपुग्दा यो संख्या बढेर १ हजार १६७ पुगेको थियो ।  सन् २०२३ मा विदेशबाट ‘डिपोर्ट’ भई नेपाल फर्कने नेपालीको संख्या १ हजार ४४३ थियो ।  सन् २०२४ को जनवरी १ देखि डिसेम्बर २३ सम्म १ हजार २२८ जना नेपाली ‘डिपोर्ट’ भइसकेका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro