site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीमान‍्को शव नपठाएपछि अन्तिम संस्कार गर्न श्रीमती गइन् रूस, युक्रेनसँगको युद्धमा मारिने नेपाली ६५ पुगे 
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कञ्चनपुरकी चाँदनी विष्ट बुधबार रूसको मस्को लागेकी छन् । उनी आफ्नो श्रीमान‍्को अन्तिम संस्कार गर्न र क्षतिपूर्ति रकम बुझ्न रूस लागेकी हुन् । रूसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाइरहेकी अभियन्ता कृतु भण्डारीका अनुसार, चाँदनीको परिवारका तीन जना सदस्य रूसी सेनामा भर्ती भएका थिए । 

श्रीमान् विराजन विष्ट, देवर निराजन विष्ट र नाताले नाती पर्ने लोकेन्द्रबहादुर विष्ट । युक्रेनसँगको युद्धमा श्रीमान् विराजनको मृत्यु भयो भने देवर निराजन घाइते भइ उपचाररत छन् । 

“नेपालमा शव ल्याउन नसकेपछि ‘एक पटक अनुहार हेर्छु र उतै अन्तिम संस्कार गर्छु’ भनेपछि चाँदनीजीलाई धेरैतिर अनुनय–विनय गरेर रूस पठाएका हौं,” भण्डारीले बाह्रखरीसँग भनिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अवैध तरिकाले रूसी सेनामा भर्ती भइ युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ६५ पुगेको उनले बताइन् । गोली लागेर घाइते तथा अङ्गभङ्ग हुने नेपालीको संख्या ११७ भन्दा माथि छ । यी घाइते र मृत्यु भएका कसैले पनि हालसम्म क्षतिपूर्ति रकम पाएका छैनन् । 
“हालसम्म क्षतिपूर्तिका लागि मृत्यु भएकामध्ये ६ जनाको नाम सिफारिस भएको छ, तर क्षतिपूर्ति रकम कसैले पनि पाएका छैनन्,” भण्डारीले भनिन्, “रूसले मृत्यु भएका नेपालीको शव नपठाएपछि परिवारको सहमतिमा उतै अन्तिम संस्कार गरिएकामध्ये ५ जनाको अस्तु नेपाल ल्याइएको छ ।” 

भण्डारीले विगत एक वर्षदेखि रूसी सेनामा भर्ती भएका नेपालीहरूलाई स्वदेश फर्काउने अभियान चलाइरहेकी छन् । उनी रुसी सेनामा भर्ती भएका, युद्धमा मृत्यु र घाइते भएका नेपालीको तथ्याङ्क संकलन गरिरहेकी छन् ।

Royal Enfield Island Ad

भण्डारीका अनुसार, रुसी सेनामा भर्ती भइ युक्रेनसँगको युद्धमा हराइरहेका नेपालीको संख्या २७९ छ । रूसी सेनामा ६ सयभन्दा बढी नेपाली भर्ती भएका छन् । युक्रेनसँग युद्ध लड्ने क्रममा गोली लागी घाइते हुने ११७ जना छन् ।

“युद्धका क्रममा घाइते र अङ्गभङ्ग भएका केही नेपाली स्वदेश फर्किएका छन्,” भण्डारीले बताइन् । रूसी सेनामा भर्ती भएकामध्ये हालसम्म २१३ जना स्वदेश फर्किइसकेको उनले जनाइन् । 

युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको आशंकमा रूसले ५७ जना नेपालीको परिवारलाई डीएनए परिक्षण रिपोर्ट पठाउन रूसले अनुरोध गरेको छ । यस्तै, रूसी सेनामा भर्ती भएका ११ जना नेपालीलाई युक्रेनले युद्धबन्दी बनाएर राखेको छ ।

सरकारी तथ्याङ्क भने केही फरक छ । रूसको मस्कोस्थित नेपाली दूतावास स्रोतका अनुसार रूसी सेनामा भर्ती भइ युक्रेनसँगको युद्धको क्रममा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ । रूसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गरिदिन अनुरोध गर्दै ३४१ जनाले निवेदन दिएका छन् । 

दूतावास स्रोतका अनुसार, रूसी सेनामा भर्ती भएपछि सम्पर्कमा नरहेको भनी खोजी र फिर्ताका लागि निवेदनको संख्या १२२ पुगेको छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गर्नेको संख्या १७१ भएको दूतावास स्रोतले बतायो । सरकारी तथ्याङ्क अनुसार, ६ जना नेपाली युक्रेनमा युद्धवन्दीका रूपमा छन् ।

रूसले सन् २०२२ फेब्रुअरी २४ का दिन युक्रेनमाथि आक्रमण सुरू गरेको थियो । त्यसपछि रूस र युक्रेनबीचको युद्ध निरन्तर चल्दै आएको छ । युद्धमा धेरै आफ्ना नागरिक मारिएपछि रूसले नेपालीलगायत विदेशी नागरिकलाई आफ्नो सेनामा भर्ती गरी युक्रेनसँगको युद्धमा पठाउन थालेको हो । 

रूसी सेनामा कति नेपाली भर्ती भएका छन् यकिन तथ्याङ्क नेपाल सरकारसँग छैन । 

नेपाल सरकारले पटक–पटक रुसलाई नेपालीको भर्ना रोक्न, भर्ती भएकाको विवरण पठाउन, भर्ती भएकालाई फिर्ता पठाउन र घाइते तथा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन अनुरोध गरे पनि रूसले भने बेवास्ता गर्दै आएको छ । 

सुरूमा त नेपाल सरकारले रूसी सेनामा नेपालीहरु भर्ती भएको तथ्य स्वीकारेको थिएन । रूसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको खबर आउन थालेपछि नेपाल सरकारले स्वीकारेको थियो ।

सबैभन्दा पहिला गोरखाका सन्दिप थपलिया २०८० असार २९ गते युक्रेनसँगको युद्धका क्रममा मारिएका थिए । उनी युक्रेनको बाखमुतमा मारिएका थिए । रूसले थपलियाको शव पठाउन मानेन र त्यहीं समाधिस्थ गरिएको थियो ।
परराष्ट्र मन्त्रालये थपलिया मरेको खबर साउन महिनामा नै थाहा पाएको थियो, तर थाहा नपाएझैँ गरेको थियो । त्यसपछि मस्कोस्थित नेपाली दूतावासले रूसी सेनामा नेपाली भर्ती भएका सम्बन्धमा बुझ्न सुरू गरेको थियो ।

दूतावासले बुझ्ने क्रममा थपलियाले सेनामा भर्ती हुँदा रूसी रक्षा मन्त्रालयसँग गरेको कागजात भेटिएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले २०८० साउन १६ गते विज्ञप्ति जारी गर्दै विदेशी सेनामा नेपाली भर्ती भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको थियो । तर विज्ञप्तिमा न त रूसको नाम नै उल्लेख थियो न युक्रेनको । 

मस्कोस्थित नेपाली दूतावासले कात्तिक २९ गते रूसी सेनामा भर्ती भएका इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रूपक कार्की र दोलखाका राजकुमार रोकाको मृत्यु भएको भन्दै मंसिर ८ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाएपछि मात्र नेपालले औपचारिक रुपमा रूसी सेनामा नेपाली भर्ती भएको स्वीकारेको थियो । 

परराष्ट्र मन्त्रालयले २०८० मंसिर १८ गते रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिनेको संख्या ६ पुगेको जनाएको थियो ।  विज्ञप्ति जारी गर्नुअघि परराष्ट्रले नेपालका लागि रुसी राजदूतलाई मन्त्रालयमा बोलाई असन्तुष्टी जनाउँदै कूटनीतिक नोट थमाएको थियो । 

असन्तुष्टि जनाउने क्रममा परराष्ट्रले राजदूतमार्फत रूसलाई नेपालीको शव यथाशीघ्र पठाउन, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, रूसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन आग्रह गरेको थियो । तर रूसले नेपालको अनुरोधलाई टेरेन । 

नेपालको आग्रह कार्यान्वयन गर्न अटेरी गरेको रूसबाट फेरि एकजना नेपालीको मृत्यु भएको खबर परराष्ट्रले प्राप्त गर्‍यो । कुन्दन सिंह नागलको मृत्यु भएको खबर प्राप्त गरेपछि परराष्ट्रले यही २०८० पुस ४ गते फेरि विज्ञप्ति जारी गरेको थियो । 

विज्ञप्तिमा पुनः उही कुरा दोहोर्‍याइएको थियो, “परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यस मन्त्रालयबाट पुनःस्पष्ट गरिन्छ ।” 

पुस ४ गतेको विज्ञप्तिमा पनि रुसी सेनामा भर्ना भइ निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन, घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनःअनुरोध गरिएको थियो ।

पुस ४ गते जारी गरेको विज्ञप्तिमा नै परराष्ट्रले पहिलोपटक युक्रनले चारजना नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो ।  रूसले अवैध तरिकाले नेपाली युवालाई आफ्नो सेनामा भर्ती गरेपछि नेपालले रूस जाने नेपालीमाथि कडाइ गर्न थालेको थियो । 

सरकारले यसअघि सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रूस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको थियो । 

सरकारले पछिल्लो समय यो व्यवस्थालाई अझ विस्तार गरेको छ । भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कुवेत, कतार र बहराइनबाट समेत रूस यात्रा गर्नुपरेमा ती देशमा रहेका नेपाली दूतावास तथा महावाणिज्य दूतावासहरुबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको छ । 

धेरैजसो नेपाली भिजिट भिसामा ती देश हुँदै रूस गएको भेटिएपछि सरकारले कडाइ गरेको थियो । सरकारले कडाइ गरे पनि रूसी सेनामा भर्ती हुने र मृत्यु हुने क्रम रोकिएको छैन । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro