काठमाडौं । पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौं सिजनको विजेता बनेकी छन् । क्लासिक डाइमन्ड ज्वेलर्सको आयोजनामा भएको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौं सिजनको टाइटल पूर्णिकाले जितेकी हुन् ।
फर्स्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट वाकको उपाधि जितिन् । सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जितेकी छन् ।
विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गरेकी छन् । फर्स्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
क्लासिक डाइमन्डको ग्रान्ड फेसन र ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा आयोजना हुनेछ । सोही कार्यक्रममा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
देशभरका विभिन्न क्षेत्रबाट अडिसनमार्फत छानिएका २६ मोडललाई करिब एक महिना तालिम दिएर प्रतियोगितामा सहभागी गराइएको थियो । उनीहरूमध्ये उत्कृष्ट पाँचलाई फाइनलका लागि छनोट गरी विजेता घोषणा गरिएको हो ।
प्रतियोगिताको निर्णायक प्यानलमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल र कोरियोग्राफर रेहान शाह रहेका थिए ।