काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाज पावर प्ले नसकिदै धरासायी बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको काठमाडौंले ६ ओभरको समाप्तिमा ३९ रन बनाउँदा चार विकेट गुमाइसकेको छ । पहिलो ६ ओभरमा काठमाडौंको शीर्ष ब्याटिङ क्रम धरासायी बनाउन चितवनबाट खेलिरहेका पूर्व पाकिस्तानी बलर सोहेल तान्विरले तीन विकेट लिए ।
काठमाडौंले दोस्रो ओभरको पहिलो बलमै विकेट गुमाएको हो । काठमाडौंका स्टेफन एस्किनाजीलाई चितवनका सोहेल तान्विरले अमर रौटेलाबाट क्याच गराए ।
चौथो ओभरको चौथो बलमा काठमाडौंले दोस्रो विकेट गुमायो । काठमाडौंका माइकल लेभिटलाई तान्विरले नै दीपक बोहराबाट क्याच गराए । यस्तै, काठमाडौंले पाँचौ ओभरको चौथो बलमा तेस्रो विकेट गुमायो । चितवनका कप्तान कुशल मल्लले काठमाडौंका गेरहार्ड इरास्मसलाई बोल्ड गरे ।
चितवनका तान्विरले छैटौँ ओभरको दोस्रो बलमा टिमलाई चौथो सफलता दिलाए । उनले काठमाडौंका भीम सार्कीलाई एलबीडब्लूको धरापमा पारे । प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।