काठमाडौं । नक्साल नन्दीकेशर बगैँचा (नारायण चौर)मा मंसिर ८ र ९ गते विश्व महिला, नेपाल (वुमेन अफ द वल्र्ड–वाउ), को सातौँ संस्करण आयोजना हुने भएको छ ।
महिला, बालिका र नन–बायनेरी (गैर–द्वायसांख्यिक) व्यक्तिले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयासका लागि ब्रिटिस काउन्सिलले काठमाडौं महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवबारे मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भनिन्, “महिलासँग दुःखका कथा मात्र जोडिएको देखाइन्छ । महिलाहरूसँग दुःख मात्र होइन । सफलताका कथा पनि छन् । नमुना र उदाहरणीय सिकाइ छन् । यस्ता अनुकरणीय कथामार्फत महिला, बालिका र नन–बायनेरीहरूलाई आत्मसम्मानपूर्वक जीवनयापन गर्न प्रोत्साहन गर्नु सम्मलेन आयोजनाको उद्देश्य हो ।”
उनका अनुसार कार्यक्रममा १० हजार बढी व्यक्तिहरूको सहभागिता हुने अपेक्षा गरिएको छ । महोत्सवमा प्रवेश निःशुल्क हुनेछ । महोत्सवमा कथा घेरा थिएटर, कर्णाली कला केन्द्र, गायिकाहरू कुन्ति मोक्तान, सुवानी मोक्तान, रचना रिमाल, चलचित्रकर्मी गौमाया गुरुङसहित दुई सयभन्दा धेरै महिला कलाकारले प्रस्तुति गर्नेछन् ।
दुई दिन चल्ने महोत्सवमा बिहान योग र आत्मरक्षासम्बन्धी क्रियाकलाप हुनेछन् । दिनमा चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श सत्र, प्रदर्शनीलगायत हुनेछन् ।