काठमाडौं । चलचित्र ‘कबड्डी शृंखला’की अभिनेत्री रिश्मा गुरुङ (मैयाँ) नयाँ चलचित्रमा देखिने भएकी छन् । चलचित्र ‘रिमै’मा उनलाई दर्शकले देख्न पाउने भएका छन् ।
अमेरिकामा बस्दै आएकी उनी छायांकनका लागि नेपाल आएकी छन् । ‘रिमै’को कथावस्तुले मन छोएकाले काम गर्न तयार भएको उनले बताएकी छन् ।
‘कबड्डी’पछि ‘क्रसरोड’ चलचित्रमा काम गरे पनि उक्त सिनेमा रिलिज भएको छैन ।
‘रिमै’ गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेको चलचित्र हो । आफ्नै जातिको संस्कार र संस्कृतिमा समेटिएको चलचित्र हुनु र मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले आफूले ‘रिमै’मा काम गर्न लागेको उनले बताइन् ।
खिलबहादुर गुरुङको निर्देशनमा निर्माण हुने चलचित्रलाई वीरबहादुर घलेले निर्माण गर्दै छन् । चलचित्र असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु हुँदैछ ।
चलचित्रमा ‘कबड्डी’ सिरिजका कलाकार धेरे छन् । रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ ।
‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाले ‘रिमै’को कथा लेखेका छन् ।