काठमाडौं । अमेरिकन चर्चित र्यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा असोज १६ गते (बुधबार) हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिने भएका छन् ।
उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ । एलओडी क्लबका सञ्चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा कल्बले शुःल्क लिने व्यवस्था गरेको छ । भीआईपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ । भीआईपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले सोही दिनको टिकट खल्ती एपबाट खरिद गर्न सक्ने सिंहले बताए ।
यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुती दिइसकेका छन् । बलिउडका नेहा कक्कड अर्मान मल्लिक इन्डियन आइडल पवनदीप लक्की अली बाबा सेहगल लगायतका धेरै गायकहरूले प्रस्तुती दिइसकेका छन् । त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, वाल्सी फायर ज्योतिका टांग्री लगायतका कलाकारले समेत सो गरिसकेका छन् ।
एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५०औँ स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परी छनोटमा परेको हो । यूकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५०औँ स्थानमा राखेको हो । यसमा पाँच सय क्लब सहभागी भएका थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।