पोखरा । ‘ओराली लागेको हरिणको चाल भो’, ‘शिरफूल शिरैमा’, ‘बाँचुन्जेलीलाई’, ‘हिरा काट्ने हिरै मा’ जस्ता गीतका श्रष्टा हुन आनन्द अधिकारी । ३६ वर्षसम्म नेपाली सेनामा बिताए । २ तारे जर्नेल अर्थात् उपरथिबाट अवकाश लिएर अहिले वेद विज्ञानको अध्ययनमा जुटिरहेका छन् ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले अघिल्लो साता आफ्नो फेसबुक वालमा एउटा निम्तो पोस्ट गरे ।
समता काव्य सन्ध्याको ३७३ औं शृंखलामा सन्ध्या नायकका रुपमा गीतकार आनन्द आधिकारीको उपस्थिति रहने भने ।
साहित्यकर्ममा लागेर र साहित्यमा रुचि राख्नेहरु यो कार्यक्रमको व्यग्र प्रतीक्षामा थिए । यति चर्चित गीतका रचयिता नेपाल आर्मीमा पूर्व उच्च अधिकारी हुन् भन्ने धेरैलाई थाहा थिएन । जब थाहा भयो धेरेलाई लाग्यो आर्मीको मान्छे त युद्ध, गोलीगट्ठा अनि कमान्डको कुरा गर्लान् भने । कार्यक्रम सञ्चालक शिव त्रिपाठीले जसै कार्यक्रमको ढोका उघारे सन्ध्या नायकको संक्षिप्त जानकारी प्रस्तुत गरे, तब उनीप्रतिको धारणा थोरै परिवर्तन भइसकेको थियो ।
५ विषयमा स्नातकोत्तर गरेका, वैदिक विज्ञानको अध्यननमा डुबेका अनि लेखनमा मात्र होइन ज्ञानको सामान्य तहभन्दा माथि उठेका ।
पोखरा र काठमाडौंबाट आएका केही कविका कविता र गजलपछि बल्ल आनन्द अधिकारीको पालो आयो ।
आर्मीको मान्छे, अनि गीतकार । मञ्चमा आएर माइक समाएपछि खुरुखुरु कविता र गीत वाचन गर्लान् भनेको उनले क्वान्टम फिजिक्सदेखि अध्यात्म दर्शन सम्मका कुरा गर्न भ्याए । हिमालयन रिडर्स कर्नरको हल खचाखच भरिएको थियो, उपस्थित सबै मुग्ध थिए गीतकार अधिकारीको ‘सत्सङ’ बाट ।
आफ्नो अध्ययन र जीवन अनुभूति सुनाइसकेपछि बल्ल उनले कविता सुरु गरे । कवितामा मायाप्रेम, विछोड अनि रोनाधोना थिएनन् । ‘तिरैतिरो जिन्दगी’ शीर्षकको कविताबाट उनले वाचनको दैलो उघारे । उनका कवितामा देशप्रेम झल्किन्थ्यो, ममता र करुण झल्किन्थ्यो ।
सिधै नभने पनि लाक्षणिक रुपमा मुलुक हाँक्नेहरुप्रति कविताले झटारो हानेको अनुभूति हुन्थ्यो । अथाह सम्भावना भएर मगन्ते स्वभावलाई उनले ‘माग्नेको हातमा सुनको कचौरा’ शीर्षको कविताबाट प्रहार गरे ।
विश्वभर शान्ति छर्न सफल बुद्धको देशका सेनाहरु शान्ति स्थापनार्थ विभिन्न मुलुकमा पुगेका छन् । ज्यानलाई जोखिममा राखेरै भए पनि द्वन्द्व अन्त्य गरी शान्ति कायम गर्ने सफल नेपाली सेनाको प्रतिकात्मक कविता ‘निलो परेवा’ सुनाए उनले ।
रुसी सेनामा ज्यान गुमाउनेहर देखि साँझबिहान मदिराको नसामा रमाउनेहरुका बारेमा उच्च कोटीका कवितामा सहभागीहरु मन्त्रमुग्ध भए । उनले प्रस्तुत गरेको अर्को सशक्त कविता थियो ‘हिजो बिर्सिएको आज’ । पछिल्लो समयमा रचना गरेका केही गीत प्रस्तुत गर्दै उनले अन्त्यमा भजन समेत सुनाउन भ्याए ।
राधा र कृष्णको प्रेम प्रसंगलाई उनले छुटाउन भ्याएनन् । राधाकृष्णको सम्बन्ध सामान्यभन्दा माथिल्लो तहको सन्दर्भ प्रस्तुत गर्दै हालैमात्र रेकर्ड भएको गीत सुनाएर उनले आफ्नो प्रस्तुतिको मैजारो गरे ।
कार्यक्रममा अग्रज साहित्यकार सरुभक्तले अधिकारका गीतहरुसँग धेरै पहिलादेखि साक्षात्कार भए पनि पहिलोपटक भेटेको बताए ।
पहिलोपटक भेट्दा पनि चिरपरिचित जस्तै अनुभूति भएको भन्दै उनको प्रस्तुतिबाट आफू प्रभावित भएको प्रतिक्रिया उनले दिए । लगातारको मेहनत, ध्यान र अध्ययनकै कारण गीतकार अधिकारी दर्शनको यो उचाइमा पुगेको सरुभक्तले बताए ।
कवि तीर्थ श्रेष्ठले वीरबहादुरहरु वीर नभएको, धनबहादुरहरु कंगाल भएको देखे पनि आनन्द अधिकारीले जीवनको वास्तविक आनन्द लुटेर नाम अनुसारका काम गरिरहेको बताए ।
समता काव्य सन्ध्यामा आएर अधिकारीको प्रवचन सुन्दा संगत भन्दा पनि सत्सङको अनुभूति आफूलाई भएको उनको भनाइ थियो । पोयुसापका अध्यक्ष उपेन्द्र पौडेलले एक व्यक्तिमा यतिधेरै प्रतिभा देखि आफू प्रभावित भएको बताए ।
आफ्नो कार्यकालको अन्त्यतिर आउँदा यति धेरै उचाइको व्यक्तिलाई सन्ध्या नायक बनाउन पाउँदा संस्थाको उचाइ पनि बढेको उनको भनाइ थियो ।
संस्थाका उपाध्यक्ष रीता अधिकारीको स्वागतमा सुरु भएको कार्यक्रममा ईश्वरमणि अधिकारी, प्रकाश आचार्य, वसन्त चालिसे, अनुराग अधिकारी, शिव त्रिपाठी, पूनम घिमिरे लगायतले गीत–गजल वाचन गरेका थिए ।
कार्यक्रमको समापनपछि पोखरामा पठन संस्कृतिको अभियान चलाउँदै आएको र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष रुपिन्द्र प्रभावीको जन्मोत्सव मनाइएको छ । सन्ध्या नायक अधिकारी, सरुभक्त, तीर्थ श्रेष्ठ समेतको उपस्थितिमा केक काटेर उनको जन्मोत्सव मनाइएको हो ।
अधिकारीका सयौँ गीतहरू चर्चित छन् । उनको ‘तिमीले दिने माया अजम्बरी छ भने,’ ‘तिमी बिनाको जीवन,’ ‘नेपालको माटोलाई,’ ‘सलल खोलीको पानीले,’ ‘फूलको दिलमा,’ ‘एकादेशमा एउटा माया गर्ने मुटु छ’ लगायत सयौँ गीतहरू चर्चित छन् ।