विशेष
काठमाडौं । नेपाल प्रहरीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेर ५४ जना नक्कली डाक्टरलाई पक्राउ र थप १५ सयमाथि छानबिन गर्दै गर्दा नक्कली पाइलटमाथि पनि कारबाही बढाउन थालेको छ । ‘अपरेसन हक’ नाम दिइएको यो अभियानमा अहिले ३ सय जना पाइलटको शैक्षिक प्रमाणपत्रको जाँच हुन थालेको प्रहरी स्रोेतले बताएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्य क्षेत्रको विकृतिजस्तै हवाई क्षेत्रमा हुने गरेको लापरबाही र असुरक्षित सेवालाई व्यवस्थित गर्न नक्कली पाइलटलाई पनि कानुनी दायरामा ल्याउन ‘अपरेसन हक’ नाम दिएर अभियान सञ्चालन गरेको जनाएको छ ।
अहिलेसम्म दुईजना पाइलट पक्राउ परेका छन् र तिनमाथि अनुसन्धान सुरु भइसकेको छ भने अन्य धेरै पाइलट क्रमशः समातिने क्रममा छन् ।
सीआईबी प्रमुख डीआईजी नवराज सिलवालका अनुसार नेपालमा निरन्तर भइरहेको हवाई दुर्घटना र त्यसपछि बनेका अधिकांश छानबिन समितिले मानवीय त्रुटिलाई मुख्य कारण बनाएकाले नेपाली पाइलटको शैक्षिक स्तरको विषयमा पनि अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले ‘अपरेसन हक’ सुरु भएको हो ।
पाइलटको अनुसन्धान गर्दा साइन्समा प्लस टु वा आईएससी गरेको हो कि होइन र गरेको हो भने प्रमाणपत्र सक्कली हो कि होइन भन्ने विषय अनुसन्धानको एउटा पाटो हो भने पाइलटकै प्रमाणपत्र पनि मान्यताप्राप्त इन्स्टिच्युटबाट लिएको हो कि होइन र सो प्रमाणपत्र सक्कली हो कि होइन भन्ने अर्को पाटो हो ।
“ब्युरोले अपरेसन थालेयता दर्जनभन्दा बढी पाइलटले पेसा छाडेको खबर प्राप्त भएको छ । तर, भागेर जाँदैमा कारबाहीबाट बच्नचाहिँ कोही पनि सक्दैन,” डीआईजी सिलवालले भने, “पक्राउ पर्ने डरले भागेका पाइलटले पनि नक्कली विवरण पेश गरेर काम गरेको भेटिए उनीहरूलाई पनि कानुनी दायरामा ल्याउँछौं ।”
ब्युरोका अनुुसार प्रहरीले नेपाल नागरिक उड्यन प्राधिकरणसँगको सहकार्यमा ३ सयभन्दा बढी पाइलटको फाइल अनुसन्धानको दायरामा राखेको छ । यसरी अनुसन्धानको दायरामा पर्नेमा नेपाल एयरलायन्सदेखि निजी हवाई कम्पनी सबैका को–पाइलट तथा पाइलट छन् ।
नाम उल्लेख नगर्ने सर्तमा शेर्पा थरका एक निजी विमान कम्पनीका पाइलटले बाह्रखरीसँग भने, “नक्कली प्रमाणपत्र पेश गरेर पाइलट कोर्स गरेकालाई प्रहरीले पक्राउ गर्न थालेपछि अहिले क्याप्टेनहरूको भागाभाग भएको छ । आफ्नो गल्ती बाहिर आउने डरले क्याप्टेनहरूले विभिन्न बहाना बनाउँदै जागिर नै छाड्न थालेका छन् ।”
ती पाइलटका अनुसार पहिले धेरै कुरा गर्ने र आफैं जान्ने भन्ठान्नेहरू अहिले धमाधम विभिन्न समस्या देखाउँदै जहाज उडाउन छाड्दैछन् । कतिपय त विदेश नै पलायन भइसकेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७३ १२:३१
प्रतिक्रिया दिनुहोस्