काठमाडौं । गएको जुलाईयता जापानिज इन्सेप्लाइटिसबाट नेपालमा १४ जनाको मृत्यु भएको छ । जनवरीयता ६१ जनामा उक्त संक्रमण देखिएको छ । पछिल्ला तीन महिनामा १४ जनाको मृत्यु हुनुले जनस्वास्थ्य चुनौती बढेको छ ।
विशेष गरी तराई भेगका बालबालिका जापानिज इन्सेप्लाइटिसको उच्च जोखिममा रहेका स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले यसबाट तराई क्षेत्रका नागरिक उच्च जोखिममा रहेका बताए । हाल संक्रमित र ज्यान गुमाउनेमा पूर्वी झापादेखि, चितवन हुँदै कैलाली, कञ्चनपुरलगायत तराई जिल्लाका मानिस छन् ।
जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु, यी हुन् लक्षण
यसबाट अधिकांश नौदेखि १५ वर्षसम्मका बालबालिका र ६० उमेरमाथिका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । “तराई बेल्टका नागरिकमा अझै जोखिम देखिएको छ, विशेष गरी १५ वर्षसम्मका बालबालिकामा,” उनले बाह्रखरीसित भने ।
बढ्यो मृत्युदर
नेपालमा सन् २००० को एक दशकमा उच्च रूपमा फैलिएको जापानिज इन्सेप्लाइटिस त्यसयता पनि वर्षैपिच्छे देखिइरहेको छ । कोरोनाकालमा संक्रमितको संख्या ३० भन्दा कम थियो । सन् २०२२ मा ७९ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त वर्ष यसबाट कसैको पनि मृत्यु भएको थिएन । २०२३ मा १०७ संक्रमित र सातजनाको मृत्यु भएको खोप शाखाको तथ्यांक छ ।
यो वर्ष ६१ संक्रमित हुँदा १४ जनाको मृत्यु हुनु चुनौतीपूर्ण तथ्यांक भएको डा. गौतम बताउँछन् । “संक्रमितहरूमा कडा म्यानेन्जाइटिसका लक्षण देखिएका छन् । कतिपय सिकिस्त बिरामीलाई भेन्टिलेटरमा पनि राखेर उपचार गरिएको छ,” उनले भने ।
जापानिज इन्सेप्लाइटिसको मृत्युदर ३० प्रतिशतसम्म रहेको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । “डब्ल्यूएचाओका अनुसार यसको मृत्युदर अधिकतम ३० हो । २५० जना संक्रमित हुँदा एकजनामा मात्रै कडा लक्षण देखिन्छ,” उनले भने, “त्यसैले समुदायस्तरमा अझै धेरै संक्रमित हुन सक्ने आकलन गर्न सकिन्छ ।”
काठमाडौंमा पनि जापानिज इन्सेप्लाइटिसका बिरामी
यो वर्ष देशभरका संक्रमित ६१ मध्ये काठमाडौंका दुईजना छन् । विदेशबाट आएका दुईजनामा जापानिज इन्सेप्लाइटिस देखिएको डा. गौतमले जानकारी दिए । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।
खोप नलगाउनु नै मुख्य कारण
जापानिज इन्सेप्लाइटिस देखिने मुख्य सिजन लामखुट्टेको वृद्धि विकास हुने महिनाहरू नै हो । डा. गौतमका अनुसार, जुलाईदेखि अक्टोबरसम्म यसको उच्च जोखिम रहन्छ । गएका वर्षहरूको रेकर्ड हेर्दा अगस्टमा यो संक्रमण उच्च हुन्छ ।
यस हिसाबले अगस्टभर संक्रमणको जोखिम रहन्छ । यसको कुनै औषधि वा उपचार छैन । रोकथामको मुख्य उपाय भनेको जापानिज इन्सेप्लाइटिसविरुद्धको खोप हो ।
नेपाल सरकारले नियमित तालिकामा राखेर यसविरुद्धको खोप दिँदै आएको छ । तर, पछिल्लो समय संक्रमित र मृत्यु भएकामा खोप नलगाएको पाइएको डा. गौतमले बताए । कोरोनाकालमा खोप छुटेकाहरूमा पनि सिकिस्त संक्रमण देखिएको उनले जानकारी दिए ।
खोप लगाएको एक महिनापछि मात्र यसको प्रभावकारिता सुरु हुन्छ । हाल नेपालमा खोपको ‘कभरेज’ ९९ प्रतिशत रहेको डा. गौतमले बताए ।
लामखुट्टेको टोकाइबाट बच्नु नै यसको संक्रमणबाट जोगिने पहिलो उपाय हो । त्यसका निम्ति भेटेनरी, कृषि र स्वास्थ्य क्षेत्रले ‘वान हेल्थ एप्रोच’मा प्रतिकार्य गरिरहेको डा. गौतमको भनाइ छ ।
हाल संक्रमण फैलिनु र सिकिस्त बिरामी देखिनुमा खोप छुट्नु नै मुख्य कारण हुन सक्ने डा. पुन बताउँछन् । भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेका कारण पनि लक्षण देखिएको हुन सक्ने र यसबारे अध्ययन गरिनुपर्नेमा डा. पुन जोड दिन्छन् ।