काठमाडौं । नवनियुक्त अध्यक्ष दिनेश डिसीले चलचित्र विकास बोर्डमा आफूँ जागिर खान नभएर काम गर्न आएको बताएका छन् । सोमबार अध्यक्षको पदभार ग्रहण गर्दै उनले जिन्दगीमा धेरै बोलेको भन्दै अब काम गर्न आएको बताए ।
बोलेरै चलचित्र निर्देशन तथा निर्माण गरेको भन्दै उनले अब सरोकारवाला विभिन्न पक्षसँग सल्लाह गरेर काम गर्ने बताए । “म बोर्डमा जागिर खान होइन काम गर्न आएको हुँ,” उनले भने ।
उनले विकास बोर्डबारे पूर्वसञ्चारमन्त्री, पूर्वसचिव, पूर्वसदस्यसचिव, बोर्डका पूर्वअध्यक्ष तथा सदस्यसँग भेटेर एक हप्ता अध्ययन गर्ने र त्यसपछि काम सुरु गर्ने बताए ।
उनले आफूलाई नियुक्ति दिने र सिफारिस गर्ने संस्थाको एजेण्डा कार्यान्वयन गर्न नआएको बताए । उनले नेपाली चलचित्रको हित र प्रवर्द्धनमा सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।