काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आगामी २४ देखि ४८ घण्टाभित्र इरान र हिजबुल्लाहले इजरायलमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएका छन् ।
पश्चिमी मिडियाका अनुसार, ब्लिन्केनले यो सूचना जी–सेभेनका समकक्षीसँग पनि सेयर गरेका छन् । जी–सेभेनमा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत छन् । इजरायलले लेबनानको सशस्त्र लडाकू समेत रहेको राजनीतिक पार्टी हिजबुल्लाह र प्यालेस्टिन चरमपन्थी समूह हमासका नेताको गतसाता हत्या गरेपछि इरान र हिजबुल्लाहले हत्याको बदला लिने घोषणा गरेका थिए ।
इरान र हिजबुल्लाहले ४८ घण्टाभित्र इजरायलमाथि आक्रमण गर्ने योजना बनाएको र तर कुन समय आक्रमण गर्ने भन्ने यकिन जानकारी प्राप्त नभएको अमेरिकी विदेशमन्त्री ब्लिन्केनले जी–सेभेनका समकक्षीलाई बताएका छन् ।
इरान र हिजबुल्लाहले ठूलो आक्रमण गरे यसले युद्धको भयानक रुप लिने र यसले क्षेत्रीय युद्धमा परिणत हुने दाबी धेरैले गरेका छन् । यसले पुरै पश्चिम एसियलाई युद्धमा तान्ने अनुमान गरिएको छ ।
यदि यस्तो भएमा यो युद्धबाट नेपाल र नेपाली प्रभावित हुनेछन् । किनकि जहाँ युद्धको बादल मडारिएको छ, पश्चिम एसिया, त्यहाँ लाखौं नेपाली कार्यरत छन् । हो, पश्चिम एसियामा अहिले १५ लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।
पश्चिम एसिया अर्थात् खाडी राष्ट्रमा सबैभन्दा ठूलो संख्यामा नेपालीहरू वैदेशिक रोजगारीका लागि जाने गर्छन् । वैदेशिक रोजगार विभागका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा जानेमध्ये ७१.३५ प्रतिशत खाडी राष्ट्रमा गएका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा कुल ७ लाख ४१ हजार २९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । यीमध्ये ५ लाख २८ हजार ९६२ जना खाडी राष्ट्र (लेबनान, इजरायल, जोर्डन, कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, ओमान, बहराइन र कतार) गएका थिए ।
विभागका अनुसार, गत आर्थिक वर्ष श्रम स्वीकृति लिएर ६१ जना लेबनान, १ हजार ५ जना इजरायल, २ हजार २०३ जना जोर्डनमा, ४० हजार ३६८ जना कुवेतमा,१ लाख ९३ हजार ४३८ जना यूएईमा, १ लाख ४१ हजार ५०२ जना साउदी अरबमा, ५ हजार ९१० जना ओमान, ९ हजार ८०६ जना बहराइन र १ लाख ३४ हजार ६६९ जना कतार गएका थिए ।
पश्चिम एसियाली राष्ट्रमा रहेका नेपाली दूतावासहरूका अनुसार, हाल त्यहाँ १५ लाख ४८ हजार ११७ जना नेपाली कार्यरत छन् ।
दूतावासहरूबाट प्राप्त विवरणअनुसार, यूएईमा ५ लाख, साउदी अरबमा ५ लाख, कतारमा ३ लाख ६४ हजार, बहराइनमा ३५ हजार, ओमानमा २१ हजार २८, कुवेतमा १ लाख ७ हजार ४८९, इजरायलमा ४ हजार ५००, लेबनानमा १ हजार १०० र कतारमा ३ लाख ६४ हजार नेपाली कार्यरत छन् ।
कुवेतमा ३० हजार नेपाली महिला कार्यरत छन् । यीमध्ये २२ देखि २५ हजार नेपाली महिला अवैध तरिकाले कुवेत पुगेका हुन् । सबै घरेलु कामदारका रुपमा यहाँ कार्यरत छन् । अवैध तरिकाले कुवेत पुगी काम गर्ने कुनै पनि नेपाली महिलाको रेकर्ड नेपाली दूतावाससँग छैन ।
युएईमा कार्यरत ३ लाखभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर गएकाहरू हुन् । भिजिट भिसामा जानेहरू समेत गर्दा यूएईमा ५ लाखभन्दा बढी नेपाली छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८ः प्रदेशस्तरीय जनसाङ्ख्यिक प्रतिवेदन’मा देशका १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा रहेको उल्लेख छ ।
नेपालीहरू सबैभन्दा ठूलो संख्यामा खाडी राष्ट्रमा रहेको प्रतिवेदनमा जनाइएको छ । त्यसपछि ठूलो संख्यामा नेपाली भारत तथा दक्षिणपूर्वी एसिया अन्तर्गतका देशमा गएको देखिन्छ ।
कुल विदेशमा लामो समयदेखि रहेकामध्ये खाडी राष्ट्रमा ८ लाख ४ हजार ६१४ (३६.७ प्रतिशत), भारतमा ७ लाख ४४ हजार ८५५ जना (३४ प्रतिशत) र दक्षिणपूर्वी एसियाली राष्ट्रमा १ लाख ९८ हजार ५४५ जना (९.१ प्रतिशत) छन् ।