पोखरा । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गण्डकी भ्रमणा आउने विदेशी पर्यटकहरुको बसाइ तथा खर्चको प्रवृत्तिसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले यस सम्बन्धमा विशेष अध्ययन गरेको थियो ।
यो अध्ययनबाट प्राप्त तथ्यांकका आधारमा नीति निर्माण तथा पर्यटक लक्षित कार्यक्रमहरु सञ्चालन गर्न उपयोगी हुने बैंकको ठहर छ ।
बैंकका कार्यकारी निर्देशक बिना ढकाल पौडेलले विगतमा यस्तो अध्ययन नभएको हुँदा कार्यालयले आर्थिक वर्ष २०८०–०८१ को कार्ययोजनामा उल्लेख गरेर विशेष अध्ययन गरेको उल्लेख गरेकी छन् ।
राष्ट्र बैंकको यो अध्ययन प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा आउने विदेशी पर्यटकलाई सबैभन्दा ठुलो समस्या नै यातायात रहेको छ । अहिले पृथ्वी राजमार्ग विस्तारको काम चलिरहेको छ । सडक निर्माण कार्य निकै सुस्त हुँदा सडकमार्गबाट आउने यात्रुहरुले निकै सास्ती बेहोर्नुपरेको छ ।
पर्यटन व्यवसायीहरुले पनि समय समयमा सडक विस्तारको काम छिटो गर्नको लागि दबाब दिँदै आएका छन् । २०० किलोमिटरको यो राजमार्ग छिचोल्न कहिलेकाहीँ त १२ घण्टाभन्दा बढी समय पनि लाग्ने गरेको छ ।
राष्ट्र बैंकले प्रतिनिधिमूलक पर्यटकहरुलाई सोधेको समस्यामा सबैभन्दा धेरैले यातायातकोे समस्या रहेको बताएका हुन् ।
विदेशबाट आउने पर्यटकहरुमध्ये २३.११ प्रतिशत पर्यटकले यातायातको समस्या रहेको बताएका हुन् । यसबाहेक भाषिक समस्या, पर्यटन सूचनाको कमी, सुरक्षा, भुक्तानी, सांस्कृतिक फरकपनको समस्या पर्यटकहरुमा देखिएको छ ।
फोहोरको अव्यवस्थापन, उच्च भिसालागत, ठगी, इन्टरनेटको समस्या, धर्मशालामा बस्ने कोठाहरुको कमी, विमानस्थलमा लामो समय कुर्नुपरेको समस्या, पूर्वाधारको कमीलाई पर्यटकहरुले समस्याको रुपमा बताएका हुन् ।
राष्ट्र बैंकले गण्डकी प्रदेशका ६ जिल्ला छनोट गरी चार सय विदेशी पर्यटकहरुको बसाइ तथा खर्चको प्रवृत्ति, पर्यटकहरुले भोग्नुपरेका समस्या तथा चुनौतीका साथै भुक्तानी प्रणाली सम्बन्धमा भएका अध्ययनहरुको समीक्षा गरेको हो ।
प्रतिवेदनमा क्षेत्रगत पर्यटक आगम, उमेर समूह, भ्रमणको उद्देश्य, भ्रमणको समय, बसाइको औसत अवधि, भ्रमणको तरिका, खर्च प्रवृत्ति र भुक्तानीको माध्यमबारे तथ्यांक उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये पुरुष पर्यटकको संख्या बढि छ । ६२.७५ प्रतिशत पुरुष पर्यटक आउँदा महिला पर्यटकको संख्या भने ३७ प्रतिशत मात्र छ । ०.७५ प्रतिशत अन्य पर्यटक पनि गण्डकीमा आउने गरेका छन् ।
गण्डकीमा विश्वका ४१ देशबाट पर्यटकहरु आउने गरेका छन् । प्रतिवेदन अनुसार भारत, फ्रान्स, अमेरिका, बेलायत र अष्ट्रेलियाबाट सबैभन्दा बढी आउने गर्दछन् । गण्डकीमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी युरोपका (४६.२५ प्रतिशत) छन् भने दक्षिण अमेरिकी पर्यटक सबैभन्दा कम (०.७५ प्रतिशत) रहेका छन् ।
३१ देखि ४५ वर्षसम्मका पर्यटकहरुको गण्डकीमा आगमन बढि देखिएको प्रतिवेदनमा उल्लेख छ ।
साहसिक क्रियाकलापका लागि सबैभन्दा धेरै विदेशी पर्यटकहरु गण्डकीमा आउने गरेका छन् । मनोरञ्जन, धार्मिक, व्यापारिक, सांस्कृतिक उद्देश्यले विदेशी पर्यटकहरु गण्डकीमा आउने गरेका छन् ।
गत वर्ष गण्डकीमा पहिलो पटक आउने पर्यटक ६८ प्रतिशत रहँदा ३२ प्रतिशत भने एकपटकभन्दा बढी आइसकेको वर्गमा परेका छन् । यस्तै, एकल भ्रमण गर्ने पर्यटक ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने १४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार गण्डकीमा आउने पर्यटकहरुको औसत बसाइ अवधि १२ दिन छ । पर्यटकको नेपालमा औसत बसाइ २२ दिन रहेकोमा त्यसमध्ये १२ दिन गण्डकीमा बस्ने गरेको पाइएको हो । यहाँका ११ जिल्लामध्ये मनाङमा सबैभन्दा बढी दिन पर्यटकले बिताउने गरेका छन् ।
तर, गण्डकीमा आउने पुरुष पर्यटकको तुलनामा महिला पर्यटकहको औसत बसाइ बढी छ ।
उनीहरु औसतमा १३ दिनसम्म गण्डकीमा बस्ने गरेका छन, जबकि पुरुष पर्यटकहरुको बसाइ अवधि ११ दिनमात्रै छ । गण्डकीमा भित्रिने पर्यटकको दैनिक खर्च ८ हजार ३ सय ५५ रुपैयाँ २८ पैसा (अमेरिकी डलर ६२.८०) छ ।
पर्यटकहरु प्याकेज टुर्समार्फत र व्यक्तिगत तरिकाले पनि आउने गरेका छन् ।
प्रतिवेदनअनुसार प्याकेज टुर्समार्फत आउने पर्यटकले दैनिक ११ हजार ८६६ रुपैयाँ (८९.३१ डलर) खर्च गर्ने गर्दछन् । तर, स्वःस्फूर्त आउने पर्यटकको दैनिक खर्च भने कम देखिएको छ । उनीहरुले दैनिक सात हजार २१७ रुपैयाँ (५४.३२ डलर) खर्चने तथ्यांकले देखाएको छ । यसकै आधारमा औसत खर्च रकम निकालिएको प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा बढी खानपिनमा नै पर्यटकहरुले खर्च गर्ने गरेका छन् । यसबाहेक बसाई खर्च, यातायात, मनोरञ्जनमा पर्यटकहरुको बढी खर्च हुने देखिएको छ । पर्यटकहरुले नगदबाट नै सबैभन्दा बढि भुक्तानी गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गण्डकीको पर्यटन क्षेत्रलाई थप आकर्षित गर्न पर्यटकहरुले सुझाव समेत दिएका छन् । सडकको अवस्था सुधार, ट्याक्सी महसुल स्थिर हुनुपर्ने, ट्याक्सी चालकले ग्राहक बोलाउन गर्ने दुव्र्यवहारको अन्त्य हुनुपर्ने सुझाव उनीहरुको छ ।
नगदरहित भुक्तानी प्रणाली, कार्ड प्रयोगमा लाग्ने शुल्क कम हुनुपर्ने, मुद्रा सटही व्यवस्था सहज गराइनुपर्ने, कार्ड रिडिङ मेसिन सबै ठाउँमा हुनुपर्ने सुझाव उनीहरुको छ ।
पदयात्रा मार्ग र सडक सञ्जाल भिन्न हुनुपर्ने सुझाव उनीहरुको छ ।
मुस्लिम पर्यटकहरुका लागि होटल र खानाको सहज उपलब्धता हुनुपर्ने, मौसमको पूर्वानुमानको जानकारी, धर्मशाला खोल्न, चिनियाँ गाइडको व्यवस्था र सरकारी क्षेत्रको जिम्मेवारी बढाउनुपर्ने सुझाव पर्यटकहरुले दिएका छन् ।