विशेष
काठमाडौं । संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको अभियोगमा मुद्दा चलाइएका गुण्डा नाइके दीपक मनाङेलाई प्रहरीले अदालतमा पेस गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार मनाङेसँगै पक्राउ परेका राजनकुमार सिंहलाई पनि अदालतमा पेस गरिएको छ ।
सिंहका अनुसार उनीहरुलाई अपहरण बन्धक तथा संगठित अपराधमा मुद्दा चलाएर अदालतमा पेश गरिएको हो ।
मनाङेसँगै सुशील मनाङे, ज्याक गुरुङ र शनि गुरुङलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर मुद्दा चलाइएको एसएसपी थापाले बताए ।
अदालतले उनीहरूलाई दोषी ठहर गरेमा ७ देखि १५वर्षसम्म जेल सजाय र ५० हजारदेखि २ लाखसम्म जरिवाना हुनेछ ।
यसैबीच, महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी थापाले गुण्डा नाइके मनाङे पक्राउ पर्नासाथ उनका सहयोगी र काठमाडौंमा गुण्डागर्दी गर्नेहरुको भागाभाग भएको बताए ।
उनले बाह्रखरीसँग भने,“मनाङे यस्ता गुण्डा हुन्, आफू लुकेर अरुलाई हप्ता असुली गर्न लगाउँछन् । समाजमा अरुलाई तर्साएर आफैँ रकम पुर्याउन आउने वातावरण सिर्जना गरेका रहेछन् । उनी पक्राउ पर्नासाथ उनका आसेपासेहरुले डाँडा काटेका छन् । मनाङेलाई पक्राउ गर्नासाथ गुण्डागर्दी गर्नेहरुको सातो नै उडेको छ ।”
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३ १६:४३
प्रतिक्रिया दिनुहोस्