site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेपाली टोपी लगाएर हिँडेका सिक्किमे नेताको शव नहरमा भेटियो
फाइल तस्बिर ।

सिक्किम । एक साताभन्दा अघिदेखि हराइरहेका सिक्किमका नेपाली भाषी नेता रामचन्द्र पौड्यालको शव भेटिएको छ । गएको मंगलबार पश्चिम बंगालको सिलिगुडीस्थित फूलबारीको टिस्टा नहरमा तैरिएको अवस्थामा पौड्यालको शव फेला परेको हो । पहिरनबाट उनको शव पहिचान भएको जनाइएको छ ।

सुरक्षा निकायले उनको शव टिस्टा नदीको माथिल्लो भागबाट बगेर आएको हुन सक्ने अनुमान गरेको छ । मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन ।

८० वर्षीय पौड्याल यही जुलाई ७ देखि हराइरहेका थिए । प्रजातन्त्रवादी नेता पौड्याल सिक्किमका पूर्वमन्त्री पनि हुन् ।

छोटकरीमा आरसी पौड्यालको नामले चिनिने उनी सिक्किमको पाक्योङ जिल्लाको चोटा सिंगतम भन्ने ठाउँबाट जुलाई ७ को बिहान ९ बजे आफन्तसँग भेटघाट गर्ने भन्दै निस्किएका थिए । उनले दिउँसो फर्कने बताएका थिए । तर, त्यसपछि फर्किएनन् ।

चम्किलो निलो कुर्ता र पाइजामासँगै उनले नेपाली ढाकाटोपी पनि लगाएका थिए । हातमा रातो छाता बोकेका र कालो वाकिङ स्टिक लिएर उनी घरबाट हिँडेका थिए ।

उनको खोजीका निम्ति सिक्किम प्रहरीले विशेष अनुसन्धान टोली (एसआईटी) बनाएको थियो । उनका बारेमा जानकारी गराउनेलाई नगद पुरस्कार दिने घोषणा समेत गरिएको थियो ।

पाक्योङको एउटा प्रहरी टोली सिलिगुडीतर्फ समेत प्रस्थान गरेको थियो । उनको मोबाइल फोन सिक्किम र पश्चिम बंगालको सीमा क्षेत्र राङ्पो भन्ने स्थानमा बन्द भएको थियो ।

उनी सन् १९७३ को सिक्किमको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए । त्यसक्रममा उनी सात दिनसम्म गान्तोकमा अनशन बसेका थिए ।

टेलिग्राफ इन्डियामा जनाइएअनुसार, उनको अनशनले मानिसलाई आन्दोलनमा लाग्न उत्प्रेरित गरेको सिक्किमका अर्का पूर्वमन्त्री एवं आरसीका भाइ सोमनाथ पौड्यालले बताएका छन् ।

त्यति बेला सिक्किममा चोग्याल पाल्देन थोन्डुप नाम्ग्यालको शासन थियो । उनीहरूले आधारभूत अधिकारसहितको लिखित संविधानको माग गरेका थिए ।

सन् १९७५ देखि १९७७ सम्म पौड्याल त्यहाँको संसद्को उपसभामुख पनि बनेका थिए । पछि मन्त्री भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro