site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले किन लगाए १२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध ?
तस्बिर : रोयटर्स ।

काठमाडौं । अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाएका छन् । उनले विश्वका सात देशका नागरिकलाई आंशिक प्रतिबन्ध लगाउने घोषणापत्रमा  हस्ताक्षर गरेका राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा जोखिमको आधारमा प्रतिबन्ध लगाउने घोषणा गरिएको जनाइएको छ । अमेरिकी राष्ट्रपतिले यो सूचीमा ठोस सुधार भएमा परिवर्तन गर्न सकिने र विश्वभर नयाँ खतरा रहे अरू देश थपिन सक्ने बताएको छन् ।

उनले यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेको यो दोस्रोपटक हो । उनले आफ्नो पहिलो कार्यकालमा सन् २०१७ मा यस्तै आदेश जारी गरेका थिए ।

Argakhachi Cement Island Ad

कुन–कुन देशका नागरिक पूर्ण प्रतिबन्धमा ?
ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । ती देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् ।

उनले अरू सात देशका नागरिकलाई आंशिक यात्रा प्रतिबन्ध लगाएका छन् । ती देशमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला छन् ।

यो प्रतिबन्ध स्थानीय समयानुसार आउँदो सोमबार दिउँसो १२ः०१ बजेदेखि लागु हुनेछ । यसरी अग्रिम सूचना दिइएकाले आठ वर्षअघिको जस्तो विमानस्थलमा हुने अराजकता टारिएको छ ।

प्रतिबन्ध किन ?
ह्वाइट हाउसले यसलाई सामान्य प्रतिबन्ध भनेको छ । र, यसले अमेरिकी नागरिकलाई खतरनाक विदेशी तत्त्वबाट जोगाउने जनाएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गरेको एक भिडियोमा कोलोराडोको बोल्डरमा आतंकवादी हमलाबाट देशमा गम्भीर खतरा उजागर भएको बताएका छन् ।

कोलोराडोमा आइतबार एक व्यक्तिले इजरायली बन्धकलाई समर्थन गर्दै जम्मा भएको समूहमा आक्रमण गर्दा १२ जना घाइते भएका थिए । दुई फायर बम फ्याँक्ने र एउटा अस्थायी फ्लेमथ्रोअर प्रयोग गरेर आक्रमण गरिएको थियो । उक्त हमलाका आरोपित इजिप्टका नागरिक हुन् । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्