
काठमाडौं । प्यालेस्टाइनको गाजामा युद्धरत इजरायल र हमासबीच तत्काल बिनासर्त स्थायी युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा दर्ता गरिएको संकल्प प्रस्तावमा अमेरिकाले ‘भिटो’ लगाएको छ ।
१५ सदस्यीय सुरक्षा परिषद्मा १४ देशले उक्त प्रस्तावका पक्षमा मतदान गरेका थिए । अमेरिका मात्र यो प्रस्तावको विपक्षमा रहेको समाचार संस्था सीएनएनले जनाएको छ ।
राष्ट्रसंघका निम्ति अमेरिकी राजदूत डोरोथी क्यामिली शीले हमासलाई निःशस्त्र बनाउने र गाजाबाट बाहिर निकाल्ने विषयमा प्रस्ताव मौन रहेकाले विरोध गरिएको बताइन् । “यसले समेटे/नसमेटेका तथ्य र यो प्रस्ताव अगाडि बढाइएको तरिका नै अस्वीकार्य छ,” प्रस्तावका विषयमा मतदानअघि उनले भनिन् ।
“अमेरिकाले यो संघर्ष सुरु भएदेखि नै इजरायललाई आफ्नो रक्षा गर्ने अधिकारको स्पष्ट समर्थन दिँदै आएको छ । हमासलाई पराजित गर्ने र उनीहरू फेरि कहिल्यै इजरायललाई धम्की दिने स्थितिमा नआउने निश्चितता आवश्यक छ । यस सन्दर्भमा हाम्रा नजिकका सहयोगी इजरायलको सुरक्षालाई कमजोर पार्ने कुनै पनि कार्य अस्वीकार्य छ,” उनले थपिन् ।
अमेरिकाले गाजाका विषयमा सुरक्षा परिषद्को प्रस्तावमा भिटो लगाएको यो पहिलोपटक होइन । इजरायली बन्धकको रिहाइ निश्चित नगर्ने भन्दै सन् २०२४ नोभेम्बरमा स्थायी युद्धविरामको मागसम्बन्धी प्रस्तावमा अमेरिकाले भिटो लगाएको थियो ।