बेइजिङ । पेन्सिलभानियामा गएको शनिबार हत्या प्रयास गरिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित टि–सर्ट चिनियाँ इकमर्स प्लेटफर्ममा निकै चर्चामा आएको छ ।
गोली लागेपछि ट्रम्पले मुट्ठी उठाएको तस्बिर अंकित टि–सर्टहरू घटना भएको केही घण्टामा नै चिनियाँ इ–कमर्स साइट ताओबाओ र जेडीडटकममा उपलब्ध थिए । त्यसखालको टि–सर्ट कसरी सूचीकृत भए भन्ने बारेमा प्रष्ट खुलेको छैन ।
पहिलो व्याचको टि–सर्ट गोली काण्डको तीन घण्टा नपुग्दै प्रिन्ट गरेर बिक्रीमा राखिएका थिए । चीनको सबैभन्दा ठूलो इडकमर्स साइट ताओबाओले उक्त टि–सर्टको मूल्य ३९ युआन (९ डलर) राखेको छ ।
ताओबाओका एक २५ वर्षिय रिटेलरले साउथ चाइना मोर्निङ पोस्टसँगको कुराकानीमा बताएअनुसार ती टि–सर्ट बिक्रीमा राखिएको तीन घण्टामा नै २ हजार अर्डर आएको थियो ।
ती अर्डर धेरैजसो चीन र अमेरिकाबाट गरिएका थिए । चीनमा केही वर्षदेखि नै ट्रम्प ‘अनलाइन एटेन्सन’का स्रोत मानिन्छन् । कारण सकारात्मक र नकारात्मक दुवै छन् ।
ट्रम्प अमेरिकी राष्ट्रपति भएको बेलामा सुरु भएको ‘ट्रेड वार’का कारण चीन सरकार र धेरै चिनिया क्रुद्ध थिए । तर, केही समर्थक पनि थिए ।
समर्थकमा खासगरी अमेरिकामा रहेका चीनका आप्रवासीले एक्स एकाउन्ट ‘एट ट्रम्प चाइनिज’ नै बनाएका थिए । जसको एक वर्षमै फलोअर्स ३ लाख ४४ हजार पुगेका थिए । उक्त एकाउन्ट सेप्टेम्बर २०१८ मा सुरु भएको थियो ।
चीनमा एउटा चर्चित अनलाइन जोक पनि छ । जसमा ट्रम्पलाई ‘चुहान’ भनिन्छ । उनलाई त्यसमा पूरा नाम ‘चुहान जियान्गु’ भनिन्छ । यसको अर्थ हो–‘ट्रम्प आवर नेसन बिल्डर’ (ट्रम्प हाम्रो राष्ट्र निर्माता) । यसको मतलब चिनियाँहरूले चीनलाई सुपरपावरको रूपमा अघि बढ्न ट्रम्पको कामले सहयोग गरेको विषयलाई ठट्टाको रूपमा भन्ने गरेका हुन् ।
अन्यत्र पनि त्यस्तै टि–सर्ट बजारमा उपलब्ध भएको पाइएको छ । लाजादा र सोपी इकमर्स प्लेटफर्म जुन दक्षिणपूर्वी एसियामा ख्यातिप्राप्त छन् । उनीहरूले पनि ती टि–सर्ट बिक्रीमा उपलब्ध गराएका छन् ।
फोटोग्राफ्स अनलाइनले पनि त्यस्तै टि–सर्ट अमेरिकामा बिक्रीमा राखेको छ । केहीले क्याप्सन लेखेका छन्– ‘लिडर नेभर डाइ ।’ अर्को एउटामा क्याप्सन छ– ‘बुलेट प्रुफ ।’