काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘मेयर’को डविङ भइरहेको छ । दुई सातादेखि चलचित्रको डविङ भइरहेको हो ।
चलचित्रको करिब ५० प्रतिशत डविङ सकिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् ।
खगेन्द्रसँगै चलचित्रमा वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय छ ।
यो सिनेमाबाट निर्माताको रूपमा श्रृष्टिमाँ खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यू गरेका छन् ।
चलचित्रको छायांकन काठमाडौंको मल्ल होटेलसँगै सर्लाही र सिन्धुलीमा भएको थियो । चलचित्रको छायांकन अपेक्षा गरेभन्दा पनि ठूलो क्राउडमा भएको निर्माणपक्षले बताएको थियो । एउटै सिन ११ हजारभन्दा धेरै क्राउड जम्मा गरेर छायांकन भएको निर्देशक खनालले बताएका थिए ।
सिनेमा ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ । पटकथा महेश दवाडीले लेखेका छन् ।
सिनेमको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल हुन् । चलचित्रले हालसम्म रिलिज डेट तोकेको छैन ।