काठमाडौं । ‘‘अब सदनमा नाच चाहिँ कहिले हेर्ने ?’’ राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सोमबार प्रतिनिधिसभामा टिप्पणी गरिन्, ‘‘कुनै दिन नाच पनि हेर्न पाइन्छ होला ।’’
हुन पनि संसद्मा गीत–कविता चलेकै छ । अब सांसदका नाँच मात्र हेर्न बाँकी छ । उनले भनिन्, “आजकाल यो सदन निकै रोचक भएको छ । कहिले कविता सुनिन्छ, कहिले गीत ।’’ कार्की लगत्तै बोलेका नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर शाहीले त झन् सदनमा गीत गाउँदा गाउँदै अवधि सकिने हो कि भन्न समेत भ्याए ।
“२–४ दिनको संसद् दोहोरी पो हो कि जस्तो लागिरहेको छ । यताबाट एउटाले आह्वान हालेको छ, अर्काले गीत गाएको छ । यो गीत गाउँदैमा यो संसद्को हाम्रो अवधि जाने हो कि !,” उनले भने ।
सरकार अल्पमतमा छ र उसका क्रियाकलापमाथि टिप्पणी गर्नु अर्थहीन भएको सांसदले बुझेका छन् । त्यहीकारण सांसदहरू गीत–कविताकै माध्यमबाट छेडखानमा छन् ।
त्यसो त, गीतकै माध्यमबाट अभिव्यक्ति दिने क्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाटै भएको हो । नयाँ गठबन्धन बनाउने सहमति गरेपछि १९ असारमा राजीनामा बुझाउन पुगेका एमाले मन्त्रीहरूका राजीनामा बुझ्दै उनले गीत सुनाएका थिए ।
यादव खरेलको रचना तथा फत्तेमान राजभण्डारीको स्वरमा सुनाए, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले...’
उनको सिधा आसय २१ फागुनमा कांग्रेससँग गठबन्धन तोड्दै एमालेलाई सरकारमा ल्याउनु गलत भएको जस्तो सुनिन्थ्यो । पाँच वर्ष अनेक गरेर, उथलपुथल गरेर अर्काको दल फोरेर जादुमयी म्याजिक भएको आफ्नो दलको ३२ सिट र आफू सरकारमा रहने दाहालको सपनामा तुषारापात भएको थियो । अनि अभिव्यक्ति शून्य बनेको उनले गीतकै माध्यमबाट गुनासो आक्रोश सबै पोखेका थिए ।
प्रधानमन्त्री दाहालले सुरू गरेको गिती रोदनलाई अन्य दलका सांसदले उनीविरुद्ध प्रयोग गरिदिए । कांग्रेस सांसद सुनील शर्मा प्रचण्डको बर्हिगमनबाट अति खुसी छन् । उनी सत्तामै हुँदा पनि माओवादीविरोधी र कांग्रेस–एमाले मिल्नुपर्ने वकालत गर्दै हिँडेका थिए ।
अधिक खुसीमा रहेका शर्माले रामकृष्ण ढकालको गीत सुनाए, “ओराली लागेको हरिणको चाल भयो, बाँचुञ्चेलसम्म पनि मरेकै हाल भयो । त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पाएको, माया त रहेछ धारिलो छुरा रेटिनै प¥यो नि !”
गीतकार आनन्द अधिकारी, संगीतकार न्हु बज्राचार्य र गायक रामकृष्ण ढकालको गीत हो ।बैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैरेले अल्पमतको सरकारप्रति गीतैबाट व्यंग्य गरे, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले ।’’
अनि भने, “बरू उडायो सबै सपनाहरू हुरिले भन्ने गीत गाएर हुने नि ।”
यस्तै संसद्को विशेष समयमा बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले पनि गीतकै स्मरण गराए । उनले म प्रधानमन्त्रीलाई अञ्जु पन्तको गीत स्मरण गराए, ‘‘तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र !”
यता, माओवादी सांसद पूर्णबहादुर घर्तीले कुन्ती मोक्तानको गीतमा जवाफ फर्काए, ‘‘खुट्टा तान्दै गर...’’
“हिजो पनि आज पनि केही माननीय साथीहरूले गीतको अन्तरा भन्नुभयो, मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो । कुन्ती मुक्तानको एउटा गीत छ । कति जल्छौ आरिसले अझै जल्दै गर । म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर ! रेग रेसा..,” उनले गीतको अन्तरा सुनाए ।
उनी यतिकैमा रोकिएनन् । मुरलीधरको गीतै गाए “ उडायो सपना सबै हुरीले... ।”
असार १८ को मध्यरातमा संसदीय राजनीतिका दुई पुराना दल कांग्रेस र एमाले सबै राजनीतिक तिक्तता भुलेर सत्ता सहकार्य गर्न सहमत भए । कांग्रेस संसद्को पहिलो दल हो भने एमाले दोस्रो ।
संसदीय राजनीतिमा दुई ठूला राजनीतिक दलको मिलन स्वाभाविक मानिँदैन ।
दह्रो प्रतिपक्षविहीनको संसदीय प्रकृया संसदीय राजनीति र लोकतान्त्रिक प्रकृयालाई विष नै हुन् भन्ने मत पनि छ । तर, इतिहासमा केही यस्ता घटनाहरू पनि आउँछन् जसलाई निकास दिन ठूला दल एक ठाउँमा उभिनुको विकल्प पनि रहँदैन ।
कांग्रेस र एमालेले सरकार गठन गर्ने सहमति गरेपछि दाहाल नेतृतवको सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेपछि एमालेले नैतिकता देखाएर प्रधानमन्त्री दाहाललाई राजीनामा दिन अनुरोध गरिरहेको छ ।
तर, दाहालले २८ असारमा विश्वासको मत लिने निर्णय गरिसकेका छन् ।
एमाले र कांग्रेसले दलको बैठक गरेर निर्णय गर्दै प्रधानमन्त्री दाहाललाई मार्ग प्रशस्त गरेर नयाँ सरकार बनाउने बाटो छाड्दिन अनुरोध गरेका छन् ।