site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
काग (जनता)लाई बेल पाक्यो (सरकार फेरियो ) हर्ष न बिस्मात !

नेपालीको पुर्पुरोमा रमाउन त लेखेकै छैन क्यारे । नियतिले नै सधैँ ‘धोको पुर्‍याउने’ होइन ‘धोका पाउने’ मौकामात्रै दिने गरेको छ । अरू त अरू प्रकृतिले समेत ठग्छ । हिउँदभरि पानी आएन । किसानले बेलामा बीउ राख्नसमेत पाएनन् । आउन थालेपछि पानी बाढी, पहिरो, डुबान, कटान सबै विपत्ति सँगै लिएर एकैपटक ओइरियो ।

पालैपालो ‘सापनाथ’ कि ‘नागनाथ’ 

राजनीतिले पनि त्यसरी नै ठग्यो । ‘टालाटुली बटुली बनाएको पुतली’ भनेजस्तो सरकार ढल्ने भयो । हैसियतै नभएकाहरूको ‘हैकम’ सकियो । चुनावमा जमानत पनि जोगाउन नसक्नेले प्रधानमन्त्री खोजेको नौटंकी देख्न त नपर्ने भयो भनेर एकछिन रमाउन पाए पनि हुने नि ! प्रधानमन्त्री पुष्पकमल दाहालको कुशासनबाट देशले मुक्ति पायो । त्यो पनि कुरा त खुसीकै हो नि ! तर, आउने अनुहारले झन् दिक्क बनाउने । नियतिले नै दागा धरेपछि केही नलाग्ने रहेछ । ‘सापनाथ’ जाने ‘नागनाथ’ आउने । त्यही पनि पालैपालो । अहिले पुष्पकमल दाहाल, त्यसपछि खड्गप्रसाद ओली अनि शेरबहादुर देउवा ।  धत् ! एक दिन त रमाउन दिएको भए हुने नि ! 

Dabur Nepal
NIC Asia

राजीनामा खल्तीमै हरायो !
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएरमात्रै सरकार छाड्ने भनिसकेका छन् । उनले ओलीको सत्तारोहणको साइत खलबल्याएर अलच्छिन लाउन खोजेका हुन् कि अरू कुनै उथलपुथलको योजना पनि बनाएका छन् भन्ने त उनै जानुन् । 

तैपनि, ‘राजीनामा खल्ती’मा लिएर हिँड्नेहरूलाई भने मनाएछन् विश्वासको मत लिने दिनसम्म सँगै रहने भनेर । त्यसो त नेकपा (एकीकृत समाजवादी)हरूले पनि साथ नछाड्ने रे ! अरू त त्यस्तै हो दाहालले नै फुटाएर बनाइदिएको अशोक राईको पार्टीले समेत विश्वासको मत नदिने भयो । नागरिक उन्मुक्ति र जनमत ‘मल्के’तिर ‘ढल्कने’ भइहाले । उपेन्द्र यादव त यसै पनि ‘खुच्चिङ’ भन्दै होलान् ।

शोक न सुर्ता 
ठूलै ‘उथलपुथल’ नभए ओली २९ असारमा  बालकोटबाट बालुवाटार सर्लान् ।  एमाले र कांग्रेसमा पनि ओली र देउवाकै ‘हुक्के बैठके, चाटुकार’बाहेक अरू खासै उत्साहित देखिएका छैनन् । सेयर बजारवालाहरू किन उत्ताउलिएका हुन् कुन्नि ? अरू त कतैतिर पनि उत्साह देखिएन । 

ओलीलाई सरकार कतै धारा ७६ को उपधारा (३) तिर पो जाला कि भन्ने डर लागेको होला । स्वाभाविक पनि उनको हातमाथि परेको भए त्यसै हुन बेर पनि लाग्ने थिएन । तर, दाहालको भाउ घटाउनैका लागि पनि देउवाले वचन नफेर्लान् । त्यसो त २०७९ को चुनाव हुनेबित्तिकै बोली फेर्दा नेपाली कांग्रेसलाई परेको नोक्सानीले पनि देउवालाई वचनको पक्का बनाएको हुनुपर्छ ।  

विपक्षको धर्म पूरा गर्लान् त दाहालले ? 
जेहोस्, दाहालले नेकपा (माओवादी केन्द्र)का साथै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको विश्वास पाउलान् ! यति पनि जोगाएर राखे भने पनि उनी विपक्षका प्रभावकारी नेता हुनसक्छन् । यसै पनि नेपाली कांग्रेसका बहालवाला नेताहरूको ‘संस्थापन’ मोहले यो पार्टी संसद्को सबैभन्दा ठूलो दल भएर पनि प्रभावशाली विपक्ष बन्नै सकेको थिएन ।

दाहाल उथलपुथल मोहबाट मुक्त भएर चनाखो विपक्षमात्रै भइदिए भने पनि देशलाई हानि हुनेछैन । संसद्का दुई ठूला दल मिलेर भने शासन अधिनायकवादी हुन्छ कि भनेर चिन्ता गर्नुपर्ने त छैन । यद्यपि, रास्वपा र माओवादी केन्द्र विपक्षमा सँगै रहन सक्ने आधार भने कमै देखिन्छ । 

राजनीतिकरूपमा रास्वपा नेपाली कांग्रेसको प्रतिवादमा जन्मिएको भए पनि यसले भोट भने कम्युनिस्टहरूकै धेरै काटेको थियो । अब पनि रास्वपामा नेता कांग्रेसबाट जाने र मत कम्युनिस्टको काटिने सम्भावना नै बलियो देखिन्छ । यसैले माओवादी र रास्वपा धेरै समय सँगै जान सक्ने राजनीतिक सम्भावना छैन । 

ढाँटेका कुरा काटे मिल्दैनन् !
ढाँट्नुको पनि सीमा हुन्छ नि । नेपाली कांग्रेसले सत्ताबाहिर बस्नै नसक्ने लत लागेकाले एमालेसँग गठबन्धन गर्न लागेको भनेको भनेको भए सत्य पनि हुन्थ्यो र जनताले पनि पत्याउँथे । यसरी ‘फूलबुट्टा’ भर्नुपर्ने नै थिए । नेपाली कांग्रेसको संसदीय दलले शनिवार कांग्रेस र एमालेबीच ‘राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्नेगरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन’ गरिएको सत्तामा सहकार्य गर्नुको औचित्य सिद्ध गर्न खोजेको छ ।

ओली वा देउवा सत्तामा पुगेपछि यी कुनै काम हुन्छन् वा गरिन्छ भनेर तिनका कार्यकर्ताबाहेक अरूले पक्कै पत्याउँदैनन् । उनीहरू पटकपटक सत्तामा त पुगेकै हुन् । केही लछारपाटो त कहिल्यै लागेन । बरू देउवाले चुनाव गर्नै नसक्ने बेलामा पार्टीले हुँदैन भन्दाभन्दै प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रै सिध्याउन राजालाई सघाएको सम्झने अझै धेरै नै छन् । यस्तै, सर्वोच्च अदालतले ‘असंवैधानिक’ ठहर गरेको संसद् विघटन दुईदुईपटक गरेकै हुन् । संसारको अरू देशमा सायद यिनीहरू उहिल्यै राजनीतिबाटै हराइसक्थे होलान् । 

ओलीको दाउ
सके त ओली प्रधानमन्त्री छँदै रविलाई मन्त्री बनाएर देउवालाई ‘निल्नु न ओकल्नु’बनाई देलान् । सरकारमा नजाने हो भने रास्वपा फुट्न जो सक्छ । नभए पनि २०८४ को चुनावमा एमाले, रास्वपा र राप्रपाबीच चुनावी गठबन्धन हुने सम्भावना बलियो छ । दाहालको सेखी झारेपछि ओलीको ध्यान देउवाको नुर गिराउनमा जानेछ । 

ओली र दाहाल दुवैले पटकपटक ‘विसेमिरा’को कथा सम्झाएका छन् । अब पनि बिर्सन पक्कै दिनेछैनन् । अशोक राईहरूमात्रै हैनन् प्रेम आले, किसानहरू एमालेमा फर्के भने एमाले संसद्को सबैभन्दा ठूलो दल हुनसक्छ । त्यसपछि देउवाले ‘उडायो सपना सबै हुरीले’ गाउने दिन आउन पनि सक्छ ।    

समुद्री बूढाको बोझ

देश र दल दुवैका लागि देउवा र ओलीबाट अपेक्षा गर्ने कुनै ठाउँ छैन । यस्तै कांग्रेस र एमालेबाहेक अरू दलबाट अपेक्षा गर्नु शल्यलाई सेनापति बनाएर महाभारत जित्ने दुर्योधनको आशाजस्तो मात्र हो । यसैले ओली र देउवाबाहेक अरू कसैलाई सरकारको नेतृत्व दिने हो भने जनतामा केही आशा पलाउन सक्छ । यीमध्ये जुन दलले संसदीय नेतृत्व बदल्छ त्यही दलले आउने निर्वाचनमा जनादेश पाउन सक्छ । विडम्बना, ओली वा देउवाको नेतृत्व उनीहरूले नै नचाहँदासम्म बदलिने कुनै सम्भावना देखिँदैन । 

कम्युनिस्ट पार्टीमा नेतृत्व बदलिए पार्टी नै फुट्ने गरेको छ । यसैले एमालेमा नेतृत्व परिवर्तन गर्ने त परै रहोस् बदल्नुपर्छ भन्ने स्वर पनि सुनिदैन । रह्यो नेपाली कांग्रेस । त्यही कांग्रेस पनि कांग्रेसजस्तो छैन ।

हरायो पुरानो कांग्रेस
कांग्रेस ‘नयाँ’ भएको छ । मेरुदण्ड भएका नेता कार्यकर्ता बाँकी भए पनि ओझेलमा छन् । जो छन् तिनीहरू कांग्रेस र देशको भविष्य जेसुकै होस् देउवाको छत्रछायामा ओत लाग्न पाए पुग्छ भन्ने ठान्छन् । अरूको के कुरा गर्नू ? गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूले विवेक र विद्रोह बिर्से बिर्से कृष्णप्रसाद कोइरालाका नातीहरूसमेत देउवाकै आडमा पारलाग्ने सोच्न थालेका छन् । बीपीकै छोराले त झन् निराश बनाएका छन् नेपाली जनतालाई । 

हुने केही होइन

यसैले यो परिवर्तनबाट न स्थिरता र समृद्धि आउँछ न प्रतिगमनको जोखिम नै बढ्छ । जे छ जस्तो छ हुने त्यही र त्यत्ति हो । पात्रहरू फेरिएलान् तर प्रवृत्ति एकरति बदलिनेछैन । अब सुन्न त ‘समृद्धि र स्थिरताको’ बकम्फुसे गफ दिनहुँ सुनिनेछ । यस्तै, ‘प्रतिगमनको खतरा बढेको’ हाउ देखाउनेहरूको हुइँयाले पनि कानै टट्टाउनेछ । यस परिवर्तनले न समृद्धि ल्याउनेछ न जनतामा आशा नै जाग्नेछ । यसैले जनताले कुनै अपेक्षा नराखे हुन्छ । 

यस्तै, माओवादी सत्तामा नहुनेबित्तिकै देशमा प्रतिगमन हुने पनि होइन । संविधान संशोधन गर्ने जनादेश यस संसद्लाई छैन । कांग्रेस, एमाले, माओवादी कुनै दलले पनि संविधानमा यही संशोधन गर्ने भनेर चुनावमा घोषणा गरेका छैनन् । गणतन्त्र, संघीयता वा धर्मनिरपेक्षतामा संशोधन गर्न सत्ता नै पल्टिनुपर्छ सरकार बदलिँदैमा हुँदैन । यसैले सरकार बदलिएर केही नसप्रेजस्तै यसभन्दा बढी केही बिग्रने पनि छैन  ।  जनतालाई हर्ष न विस्त्मात !

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro