देश
मन्थली । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् ।
सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको हो । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए ।
दुर्घटनामा घाइते भएकाको खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई काठमाडौं पठाइएको छ । बसमा २५ यात्रु सवार थिए । रासस
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ १४:०१
प्रतिक्रिया दिनुहोस्