![बंगलादेशविरुद्ध पहिलो बलमै सोमपालले लिए विकेट](https://12khari.top/uploads/posts/441442547_1000742644414697_6821651362850759450_n-1718581364.png)
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालका सोमपाल कामीले पहिलो बलमै विकेट लिएका छन् ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालबाट पहिलो ओभर बलिङका लागि आएका सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट लिएका हुन् । सोमपालले बंगलादेशका तान्जिद हसनलाई ‘कट एन्ड बोल्ड’ गरे ।
जारी खेलको एक ओभर सकिँदा बंगलादेशले एक विकेट गुमाएर तीन रन जोडेको छ ।
विश्वकपमा नेपाल र बंगलादेश दोस्रो पटक प्रतिस्पर्धामा आएका हुन् । यसअघि नेपालले बंगलादेशविरुद्ध पहिलोपटक सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमै भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
जारी प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो ।
समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । तीन खेलबाट चार अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । प्रतियोगिताबाट नेपाल बाहिरिसक्दा बंगलादेश भने जित निकाल्दै सुपर–८ मा प्रवेश गर्ने लक्ष्यमा हुनेमा । प्रतियोगिताको आगामी यात्रा निश्चित गर्न बंगलादेशमाथि जितको दबाब छ ।