काठमाडौं । लौटारो मार्टिनेजको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिका–२०२६ मा चिलीविरुद्ध १–० को जित निकालेको छ ।
बुधबार मेटलाइफ रंगशालामा भएको खेलमा चिली खेलको अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा निराश बनेको हो । मार्टिनेजले खेलको ८८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको हो ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको अर्जेन्टिना दुई खेलबाट ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । लगातार दोस्रो जित निकालेको अर्जेन्टिनाले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुनिश्चित गरेको छ । अर्जेन्टिनाले यसअघि क्यानडाविरुद्ध २–० को जित निकालेको थियो । अर्जेन्टिनाले अब समूह चरणको अन्तिम खेलमा पेरुविरुद्ध खेल्नेछ ।
दुई खेलसम्म जितविहीन चिलीको भने आगामी चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । समान खेलबाट एक अंक जोडेको चिली तालिकाको तेस्रो स्थानमा छ । यो समूहमा अर्जेन्टिना र चिलीसँगै क्यानडा र पेरु छन् ।