site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अफगानिस्ताका कप्तान राशिद खानले गरे नेपालको प्रशंसा

काठमाडौं । अफगानिस्तानका कप्तान राशिद खानले विश्वकपमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् । मंगलबार बिहान भएको खेलमा बंगलादेशविरुद्ध डकवर्थ लेविस पद्दति (डीएलएस)अनुसार आठ रनको जितसहित सेमिफाइनलमा प्रवेश गरेपछि पत्रकार सम्मेलनमा नेपालको प्रशंसा गरेका हुन् ।

“पक्कै पनि विश्वकपमा नेपालको प्रदर्शन हेर्दा आनन्द महसुस हुन्थ्यो । उनीहरूले सबै प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । ट्वान्टी–२० क्रिकेट यस्तै नै हो । सबै टिमलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास हुनुपर्छ । हामी परिस्थितिलाई सामान्य राख्दै सही समयमा सही कार्य गर्ने प्रयास गर्नेछौँ । मलाई लाग्छ उनीहरूले पनि त्यस्तै गरे । उनीहरूले टिमको योजनालाई कार्यान्वयन गर्ने प्रयास गरे,” उनले भने ।

१० वर्षपछि विश्वकपमा छनोट भएको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा थियो । प्रतियोगिताका चार खेलमध्ये तीन खेलमा हार व्यहोरे पनि नेपालले सबै खेलमा विपक्षी टिमलाई दबाबमा राख्न सफल भएको थियो । 

प्रतियोगिताको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक रनले मात्र निराश बनेको नेपालले चौथो खेलमा पनि बंगलादेशसँग २१ रनको हार व्यहोरेको थियो । नेपालले प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल सम्भव नभएपछि दुवै टिमले समान एक–एक अंक बाँडेका थिए ।

अफगानिस्तानले सन् २००१ मा मात्र आईसीसीबाट एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । सन् २०१७ मा आईसीसीको पूर्ण सदस्य बनेको अफगानिस्तानले अब फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । यो खेल ट्रिनिडाडमा बिहीबार हुनेछ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro