site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी आठ स्थानमा तापक्रमले तोड्यो सबै रेकर्ड 
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न आठ ठाउँमा यो वर्ष अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन गरिएको छ । आठ ठाउँमा तापक्रमले नयाँ रेकर्ड बनाएको हो । 

कैलालीको टीकापुर, जुम्ला, बाराको करैयामाई, बैतडीको पाटन, सिन्धुपाल्चोकको चौतारा, भक्तपुरको चाँगुनारायण, खोटाङको दिक्तेल र सुनसरीको धरानमा यो वर्ष तापक्रमले नयाँ रेकर्ड बनाएको हो ।

जुम्लामा यही जुन १४ मा ३२ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । यसअघि जुम्लाको तापक्रम ३१.९ डिग्री सेल्सियससम्म पुगेको थियो । जुम्लामा १९९० जुन २५ मा ३१.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए । 

टीकापुरमा यो वर्ष मे ३० मा ४५.२ डिग्री सेल्सियस पुगेर नयाँ रेकर्ड कायम भयो । यसअघि २०१२ जुन १३ मा टीकापुरको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको थियो । 

करैयामाईमा यसअघि १९९५ मे २ मा ४२.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा यस वर्ष नयाँ रेकर्ड कायम भएको छ । विभागका अनुसार यस वर्ष अप्रिल ३० मा ४३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । 

पाटनको बैतडीमा पनि यो वर्ष तापमानले नयाँ रेकर्ड कायम गरेको छ । गत मे १८ मा ३६.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यहाँ यसअघि २०१९ जुनमा १५ ३५.५ डिग्री सेल्सियस तापक्रम मापन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सिन्धुपाल्चोकको चौतारामा पनि यो वर्ष हालसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ । यहाँ यो वर्षको मे २९ मा ३९.९ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यसअघि चौतारामा २०२३ जुन २३ मा ३५.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । 

भक्तपुरको चाँगुनारायणमा पनि यस वर्षको तापक्रमले यसअघिका सबै रेकर्डलाई पछि पारेको छ । यस वर्षको जुन १० मा यहाँ ३५.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यसअघि २०१५ को जुन ६ मा ३३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागको तथ्यांक छ । 

खोटाको सदरमुकाम दिक्तेलमा पनि तापक्रमले नयाँ रेकर्ड बनाएको छ । अप्रिल ३० मा दिक्तेलको तापक्रम ३०.१ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि दिक्तेलमा २०१२ मे १५ मा ३० डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । 

विभागका अनुसार सुनसरीको धरानमा पनि यो वर्ष विगतमा भन्दा धेरै गर्मी भयो । धरानमा यो वर्ष तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । अप्रिल २८ मा धरानमा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको तथ्यांक छ । यसअघि यहाँको सर्वाधिक तापमानको रेकर्ड ३९.९ डिग्री सेल्सियस थियो । २०२३ जुन ७ मा धरानको तापक्रम ३९.९ डिग्री सेल्सियस थियो ।

“आठवटा स्टेसनमा यो वर्षको तापक्रमले यसअघिका तापक्रमको रेकर्डलाई उछिनेको छ,” मौसमविद् हुमागाईंले भने, “देशभर रहेका तापक्रम मापन गर्ने हाम्रा स्टेसनका आधारमा यो तथ्यांक आएको हो । करिब–करिब हाम्रा स्टेसनले देशभरको तापक्रम लिन्छन् ।” 

यसैबीच, काठमाडौंमा यस वर्ष २५ वर्षयताकै गर्मी भएको छ । यही जुन १५ मा ३५.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । काठमाडौंमा त्यो २५ वर्षयताकै उच्च तापक्रम भएको विभागको तथ्यांकमा उल्लेख छ ।  

सन् १९९९ अप्रिल २६ मा काठमाडौंको तापक्रम ३५.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता यो वर्ष नै काठमाडौंमा सबैभन्दा धेरै तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको हो । 

सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको विभागले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro