site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
बाको अन्तिम बिदाइ

हामी परिवारका सदस्यहरू अस्पतालमा इमर्जेन्सी बाहिर कुरेर बसेका थियौं । बुबा दिवंगत भएको खबर भइसके पनि भित्र केही महिनाअघि मात्र परिवर्तन गरेको उहाँको 'पेसमेकर'को ब्याट्री निकालिँदै  थियो । हस्पिटलमा केही समयअगाडि राखिएको 'फोली क्याथेरेटर' निकालेर उहाँको शरीरलाई सफा गरी हामीलाई बुझाउनको लागि अस्पतालका मेडिकल स्टाफ जुटेका थिए। केही समयदेखि बुबा आँखा, मुटु, मिर्गौला र क्यान्सरलगायतका विभिन्न रोगसँग लडिरहनु भएको थियो।

केही वर्षअघि मुत्युको विषयलाई लिएर हामी परिवारका सदस्यहरूबीच कुराकानी भएको थियो। सन्दर्भ यियो मेरो पूर्वकार्यालय इमेज च्यानलकी सहकर्मी बहिनी पल्लवी ढकाल र उनकी दिदीबहिनी आफ्नी आमाको किरिया बसेको । हामी काकाको घरमा हजुर आमाको पुण्य तिथिको काममा थियौँ । मैले सामाजिक सञ्जालमा पल्लवी किरिया बसेको तस्बिर देखाउँदै भाइ विनयलाई भने  "समाज बिस्तारै परिवर्तन हुँदैछ छोराछोरीको विभेद घट्दैछ" ।

वीरमणि ढकाल अंकलको पल्लवीसहित ५ छोरी छन् । भाइ विनयले मलाई भन्यो  " दिदी हाम्रो समाजले विकल्पै नभएपछि मात्र धेरै कुरा स्वीकार्छ, ज्ञान र विवेकको आधारमा कम काम गर्छ" । हुन पनि हो हामी समाजमा परिवर्तन चाहन्छौँ भने विवेक प्रयोग गरी परिवर्तन आफूबाटै सुरु गर्नुपर्छ। मेरो काका विकासभक्त श्रेष्ठ मेरो बाजे र बज्यैको कान्छो सन्तान भएकोले बज्यैको अन्तिम संस्कारमा दागबत्ती काकाले दिनुभएको थियो । बाजे हरिभक्त श्रेष्ठको जेठो सन्तान ठूलो बुवाले बाजेलाई दागबत्ती दिनुभएको स्मरण  भयो | हाम्रो परिवारको जेठो सन्तानले बाबु र कान्छोले आमालाई दागबत्ती दिने परम्परालाई निरन्तरता दिंने निश्चय गर्दै मैले सबैको सामु भने  " मेरो बाको जेठो सन्तान म र भाइ कान्छो भएकोले बालाई दागबत्ती मैले दिनुपर्छ धे भाइले आमालाई । भाइले तुरुन्तै सहमति जनाइ हाल्यो । समाजको परम्परागत पितृसत्तामा आँच आउने कुरामा हामी दिदीभाइले त सहमति जनायौँ तर परिवारका अरू सदस्यको विचार बुझ्न बाँकी नै थियो ।

Dabur Nepal

birendrabhakta-shresth-1718971508.jpg
 

केही समय बित्यो र एक दिन हामी परिवारमा जीवन, मृत्युको कुरा गर्दै थियौँ र जेठो सन्तानको रूपमा बुवालाई मैले दागबत्ती दिने कुरा मेरो भाइ बुहारी र मेरो जीवन साथीको सामु निस्कियो | दुवै जनाको महिला भएकै कारण कुनै विभेद हुनुहुन्न, जबसम्म छोरीलाई सन्तानको दर्जा स्वयं छोरीले, परिवारले र समाजले  दिँदैन तबसम्म महिला मैत्री समाज बन्दैन  भन्ने सोच भएकाले हाम्रो कुरालाई उनीहरूले  सहजरूपमा स्वीकार गरे । तर, बुवाआमाको अनुमतिबिना हामीले केही पनि गर्न सक्दैन थियौँ । छोरा हुँदाहुँदै कहाँ  छोरीले दागबत्ती दिने ?  छोराले दागबत्ती दियो भनेमात्र स्वर्ग गइन्छ भन्ने सोच उहाँहरूको  छ कि भन्ने सन्देह गरी बुबाआमाको अगाडि हामीले आफ्नो कुरा राख्दा बुवाले तुरुन्तै - "अनुपा! तिमीले दाग बत्ती दिनुअधि मेरो पेसमेकरको ब्याट्री निकाल्न नभुल्नु । जलाउँदा ब्याट्री पड्किन्छ' भन्नुभो । प्रजातन्त्रका योद्धा , राजनीतिमा आफूलाई समर्पित गरेको व्यक्ति बा वीरेन्द्रभक्त श्रेष्ठले  यति सकारात्मक सोच राखी समाजमा परिवर्तन आउने कुरामा हामीलाई साथ दिनुहुँदा हामीले गर्व महसुस गर्‍यौँ ।

हामीलाई  अस्पतालले अन्तिम संस्कारको लागि बुवालाई लैजान मिल्ने जानकारी दिएपश्चात् हामी पशुपति आर्यघाटतर्फ लाग्यौँ | पूर्व सांसद नरोत्तम वैद्य जीले पशुपतिमा गरिने सम्पूर्ण कार्यको व्यवस्थापन र नेतृत्व गर्नुभयो । हिन्दु संस्कारअनुसार कार्यअघि बढ्दै थियो र यसै क्रममा दागबत्ती दिने छोरा आउनुस् भन्नुभयो - "म जेठो सन्तान भएकोले दागबत्ती मैले दिने हो" भनी म अधि सर्दै थिएँ,  मेरो वाक्य टुङ्गिन नपाउँदै भाइले पनि दिदीले  दागबत्ती दिनुहुन्छ भने । तत्पश्चात ब्रह्मनालमा छोराछोरीले  गर्नुपर्ने सम्पूर्ण कार्य सम्पन्न गरी बुबाको पार्थिव शरीरलाई उहाँका भाइ, भान्जा, नाती र भतिजाहरू मिलेर विद्युतीय शवदाह गृहतिर लगे । हाम्रो संस्कृतिमा अन्त्तिम संस्कारमा छोरा र छोरीले गर्नुपर्ने कामहरू भिदाभिन्दै तोकिएका छन्। हामी दुवैले मिलेर ती सम्पूर्ण कार्य गर्‍यौँ । शवदाह गृहमा मेरो हातमा आगो दिनुभयो भाइ र मैले बुवालाई ३ पटक परिक्रमा गरी उहाँको भौतिक शरीरको अन्तिम  दर्शन र उहाँको योगदानको स्मरण गर्दै दागबत्ती दियौँ ।

हाम्रो समाज पहिलेभन्दा फरक हुँदैछ । 'छोरी जन्मी'  भन्दा नाक खुम्च्याउने समाजमा अहिले लक्ष्मी भित्रिइन्, राजकुमारी, सानी परी आइन् भन्दै हर्ष मनाउँछन् । यद्यपि, हामी अझै पनि त्यही पितृसत्तात्मक समाजमा छौँ जहाँ छोरा वंश अघि बढाउन र अन्तिम संस्कारको लागि चाहिन्छ भन्नेहरू पर्याप्त भेटिन्छन् । महिलाहरू अझै पनि छोराको आशमा पटकपटक गर्भमा रहेकी छोरीको हत्या गर्न बाध्य छन् | कति त जीवनभर मानसिक यातना सहेर बाँचिरहेका छन् | धर्मले मानिसलाई अनुशासित र विवेकी बनाउनुपर्ने हो । विडम्बना, धर्मको मूल मर्म नबुझेर मानिस अन्धभक्त, अन्धविश्वासी र अविवेकी बनेका छन् |

विदेशमा होस्, विवाह भएको होस् या  आफूसँग होस् सन्तानको आमाबुबाप्रतिको जिम्मेवारी जीवित रहुन्जेलमात्र होइन  उहाँहरू दिवंगत भइसकेपछि पनि रहन्छ । आमाबुवासँग छाराछोरीको सम्बन्ध कहिल्यै परिवर्तन हुँदैन | अर्काको घर गएका छोरीले पतिसँग सम्बन्ध विच्छेद गरेको खण्डमा पूर्वपत्नी/पूर्वपति बनिन्छ तर कुनै पनि अवस्थामा जन्मदिने आमा र बा पूर्वआमा /पूर्वबा हुँदैनन् |

हामी दिदीभाइले श्रध्दाले गरेको  अन्तिम संस्कारले बुवाको अत्माले चिरशान्ति प्राप्त गर्नेछ भन्नेमा विश्वस्त छौँ ।

हार्दिक श्रध्दाञ्जलि बा !

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro