site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जापानमा फैलिएको ४८ घण्टामा मृत्यु गराउने संक्रमण कस्तो हो ? नेपालमा कति जोखिम ? 

काठमाडौं । जापानमा ४८ घण्टे ब्याक्टेरियल संक्रमणले उग्ररूप लिएपछि यतिखेर विश्व स्वास्थ्यमा त्रास पैदा भएको छ । संक्रमण भएको ४८ घण्टाभित्र बिरामीको मृत्यु गराउने एसटीएसएसले जापानमा पछिल्लो दुई महिनामा ७७ जनाको मृत्यु गराएको तथ्यांक छ । 

जनवरीदेखि जुन पहिलो सातासम्म मात्रै जापानमा ९७७ जनामा यो संक्रमण भएको त्यहाँको स्वास्थ्य तथा श्रम कल्याण मन्त्रालयको तथ्यांक छ ।  जापान र अमेरिकामा फैलिएको एसटीएसएसको नेपालमा पनि जोखिम रहेको विज्ञहरुले बताएका छन् ।

नयाँखाले संक्रमण हो एसटीएसएस ? 

Dabur Nepal
NIC Asia

एसटीएसएस (स्ट्रेप्टोकोक्कल टक्सिक शक सिन्ड्रोम), नयाँ संक्रमण होइन । जापान र केही युरोपियन देशमा यसले विगत ६ वर्षदेखि संक्रामक रुप लिइरहेको छ । तर, उच्च मृत्युदर र संक्रामक समेत भएकाले यो घातक रहेको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

डा. पुनका अनुसार एसटीएसएस, ग्रुप ए स्ट्रेप्टोकोक्कस (जीएएस) ब्याक्टेरियाका कारण हुने संक्रमण हो । जीएएस नयाँ ब्याक्टेरिया होइन, यो शरीरमा सजिलै फैलिनसक्ने प्रकृतिको हुन्छ । 

जापानमा भने सन् १९९९ यता एसटीएसएस बढ्दै गएको त्यहाँको नेसनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिज्‌काे तथ्यांक छ । जसका अनुसार सन् २०२३ मा जापानमा ९४१ जनामा यो संक्रमण भई ९७ जनाको मृत्यु भएको थियो । 

जापानमा भने पछिल्ला ६ वर्षयता संक्रामक रोगबाट हुने मृत्युको दोस्रो कारण बनेको छ, एसटीएसएस । सन् २०२२ मा अमेरिका, जापान, नेदरल्याण्ड स्वीडेन, फ्रान्स र बेलयातमा देखिएको थियो । नेपालमा पनि जीएएस ब्याक्टेरिया पाइन्छ । तर, अहिले भने जीएएसले आफ्नो रुप परिवर्तन गरी म्युटेसन भइ थप घातक भएको हुनसक्ने डा. पुन बताउँछन् । 

युएस सेन्टर फर डिजिज् कन्ट्रोल (सीडीसी) ले जापानमा यो संक्रमण उग्र हुनुको ठोस कारण हालसम्म पहिचान नभएको जनाएको छ । यद्यपि, कोरोनाकालमा कडा गरिएको मास्कको प्रयोग र सामाजिक दूरीको नियम अहिले खुकुलो हुँदाको असरको रूपमा पनि कतिपयले टिप्पणी गरेका छन् । 

के हुन्छ संक्रमणका लक्षण ? 

ब्याक्टेरियल संक्रमणबाट हुने रोगहरूजस्तै लक्षण एसटीएसएसमा पनि देखिने गरेका छन् । कडा ज्वरो, मांसपेशी तथा शरीरको दुखाइ र वाकवाकी तथा बान्ता हुनु यसका प्रारम्भिक लक्षणहरु हुन् ।  संक्रमण फैलिँदै जाँदा रक्तचाप घट्ने, श्वासप्रश्वास बढ्ने, विस्तारै मल्टिअर्गान फेलियर (मुटु, मिर्गौला, कलेजो, फोक्सोलगायतले काम गर्न छोड्ने ) डा. पुनको भनाइ छ । 

कसरी फैलिन्छ संक्रमण ? 

एसटीएसएस कोरोनाजस्तै प्रकृतिको संक्रमण हो । डा. पुनका अनुसार यो मुख्यतः संक्रमित व्यक्तिको थुकको छिटाको माध्यमबाट एक अर्कामा सर्छ । आपसमा बोल्दा, खोक्दा वा हाछ्यूँ गर्दा, संक्रमितको थुकको छिटा भएको सामानको माध्यमबाट सर्नसक्छ ।

कस्ता व्यक्ति बढी जोखिममा ? 

एसटीएसएसले वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधी क्षमता कम भएकालाई छिटो संक्रमण भएको रेकर्डहरू छन् । जापानमा सन् २०२२ यता संक्रमित हुनेमा ५० वर्षमाथिका नागरिक धेरै रहेको त्यहाँको नेसनल इिन्स्टच्युट अफ इन्फेक्सियस डिजिज्‌काे तथ्यांक छ । मृत्यु हुनेमा भने ६५ वर्षमाथिका नागरिक धेरै रहेको देखिएको छ । 

समयमै उपचार भए निको, मृत्युदर ३० प्रतिशत 

सीडीसीका अनुसार एसटीएसएस तन्तु र रक्तकोषिकामा अति छिटो फैलिने भएकाले बिरामीको समयमा उपचार हुन नसके मृत्युको जोखिम उच्च हुन्छ । हाल यसको मृत्युदर ३० प्रतिशत रहेको बताइएको छ । कतिपय अवस्थामा उपचारकै क्रममा पनि बिरामीको मृत्यु भइरहेको जापानका विशेषज्ञहरूले आफ्ना लेखमार्फत् बताएका छन् । तर, सुरुआती चरणमा भने एन्टिबायोटिकको प्रयोगबाट नै संक्रमण कम हुँदै जाने डा. पुन बताउँछन् । “मांसपेशीलाई असर गर्ने छाला ड्यामेज हुँदै जाने भएकाले पनि यसलाई मासु खाने ब्याक्टेरियाका रुपमा चिनिएको हो,” डा. पुन भन्छन् ।

नेपालमा कति जोखिम ? 

डा. पुनका अनुसार एसटीएसएसको जोखिम नेपालमा पनि नहोला भन्ने अवस्था छैन । यदी जीएएसको म्युटेन्ट रुप देखिएमा नेपालजस्तो सावधानीको तयारी कम गर्ने मुलुकको अवस्था भयावह हुनसक्छ । नेपाल जापान आवतजावत समेत बाक्लो रहेकाले संक्रमणको जोखिम अझै बढी रहेको उनको भनाइ छ ।  

तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले भने नेपालमो जोखिमको सम्भावनालाई लिएर हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय निकयले अलर्ट नगराएको जनाएको छ । 

ईडीसीडीका जुनोटिक तथा सरुवा रोग शाखा प्रमुख डा. हेमन्त चन्द्र ओझा विश्व स्वास्थ्य संगठनसहित अन्तर्राष्ट्रिय स्वास्थ्य नियामक निकायहरूले नेपालमा यसको जोखिमबारे हालसम्म कुनै खबर नगरेको बताउँछन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल एल्लो फिभर र पोलियो देखिएका मुलुकबाट आउने यात्रुलाई खोप कार्ड अनिवार्य गरिएको छ । यसबाहेक शंकास्पद अवस्थामा अन्य संक्रमणजन्य रोगीहरूलाई पनि निगरानी गरिरहेको डा. ओझा बताउँछन् । तर, एसटीएसएसलाई नै लक्षित गरेर भने हालसम्म कुनै कडाइ नगरिएको उनले बाह्रखरीसित बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro