काठमाडौं । सूचना र सञ्चारमा एउटा मिथ छ– समयको कुनै कालखण्डमा परेवाको खुट्टामा चिठी बाँधेर पठाइन्थ्यो । त्यसपछि सुरू भयो डाँक सेवा– हुलाकीमार्फत घरघरमा चिठीपत्र आदान–प्रदान गर्ने ।
अहिले समय फेरियो । हातहातमा मोवाइलफोन र इमेल इन्टरनेटको सुविधाले सूचना र सञ्चारको प्रविधिलाई उछिनेर कहाँ पुगिसक्यो ।
तर, नेकपा एमालेले पनि चुनावी प्रचारमा त्यही पुरातन प्रविधिलाई आत्मसात गरेको छ । र, अध्यक्ष ओलीको ‘हवाइपत्र’ को नामबाट मतदातासमक्ष सन्देश सम्प्रेषित गरिरहेको छ ।
त्यसो त एमाले प्रचार–प्रसारको फेरिँदो आधुनिक शैली अवलम्वन नगरेको पनि छैन । सामाजिक सञ्जालका सबै अवयव र प्रचारको प्रविधियुक्त उपाय पछ्याएको पनि छ । तर, त्यो भन्दा ‘हवाइपत्र’ ज्यादा उपयोगी भएको पार्टीको बुझाइ छ ।
के छ हवाइपत्रमा ?
मदन भण्डारीको टिकट टाँसिएको हवाइपत्रका प्रेषक हुन् अध्यक्ष ओली र प्रापकको नाम भने एमालेले कायकर्ता आफैँले लेखेर घरघर पुर्याइरहेका छन् । पत्र–सन्देशमा नौलो कुरा केही पनि छैन । चिट्ठीपत्रकै भाषा शैली प्रयोग गरिएको पत्रको सुरूआतमा अध्यक्ष ओलीले मतदाताको आरामको कामना गरेका छन् । भेट्ने इच्छा हुँदाहुँदै सम्भव नभएपछि पत्र लेखनमार्फत् आफ्ना कुरा भन्न परेको उनको आशय छ ।
त्यस्तै ओलीले निर्वाचनलाई पूणरूपमा सदुपयोग गर्नु सबैको कर्तव्य र दायित्व भएको औँल्याउँदै संविधान कार्यान्वयनका लागि निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् ।
उनले नेपालको जलस्रोतको सम्भाव्यता, पर्यटकीय प्रचुरताबारेमा चर्चा गर्दै अबको दिशा आर्थिक समृद्धिको भएको उल्लेख गरेका छन् ।
त्यस्तै ओलीले एमाले–माओवादी तालमेल र एकता प्रक्रियाबारे मतदाताको बीचमा रहेको अन्योल हटाउने प्रयास गरेका छन् । र भनेका छन्, “तपाईंहरुकै चाहना र शुभेच्छाले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवस्था आएको हो । यसका लागि तपाईंहरू सबै धन्यवाद तथा बधाईका पात्र हुनुहुन्छ ।”
“मुलुकको विकास निर्माणका अनेकौं पाटाहरुका बारेमा यो सानो चिट्ठीमा लेखेर कहाँ अटाउन सकिन्छ र ? हामीले यस विषयमा हाम्रो घोषणा पत्रमा विस्तारमा लेखेका छौं । समय मिलेमा त्यो पनि पढ्नूहोला,” उनले अनुरोधसमेत गरेका छन् ।
त्यस्तै उनले कम्युनिस्ट सरकार बन्यो भने रुनसमेत पाइँदैन भनेर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भनेकाप्रति खण्डन गर्दै भनेका छन्, “ढुक्क हुनूहोस्, वामपन्थीहरूको सरकार बन्यो भने तपाईंहरुले पछुताउनु पर्नेछैन । हाम्रा सन्ततिहरूले रुनुपर्ने छैन । मुलुकले अवस्य काँचुली फेर्नेछ । तपाईं हाम्रो शीर गर्वले ठडिनेछ ।”
“वामपन्थीहरुको सरकार बन्यो भने अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन भनेर भ्रम छर्ने साथीहरूलाई प्रश्न गर्नुहोस्, तपाईंहरू त कम्युनिस्ट सरकार आयो भने बूढाबूढीलाई गोली ठोकेर मार्छ भन्नुहुन्थ्यो, उल्टै वामपन्थी सरकारले त बूढाबूढीलाई आफ्नै बाआमालाई जस्तै स्याहारसुसार पो गर्यो त ! त्यति भन्नुभयो भने उनीहरू नाजवाफ हुनेछन् ।,” उनले मतदातालाई प्रश्न सोध्नसमेत आग्रह गरेका छन् ।
“अन्तमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको दीगो विकासका लागि वाम गठबन्धनको महाशक्तिलाई मतदान गर्नूहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नूहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौंला,” परम्परागत चिठी लेखनशैली पछ्याउँदै पत्रको बिटसमेत मारेका छन् उनले ।
कति छापियो पत्र ?
एमाले पोलिटव्यरो सदस्य विष्णु रिमालले ४० लाख हवाइपत्र छापेर हुलाकीकै शैलीमा घरघर पुर्याइएको बताए ।
“हामीले उल्लेख्य पत्र छापेका छौँ र वितरण गर्न आफ्नै कार्यकर्ता पंक्ति परिचालन गरेका छौँ,” उनले भने । संगठित सदस्य, पार्टी समर्थक, शुभेच्छुक लगाएर घरदैलोमा पत्र पुर्याइरहेको उनको भनाइ छ । त्यस्तै उमेदवार भेटघाट तथा घरदैलोका माध्यमबाट पनि पत्र पुर्याएका छन्, एमालेका कार्यकर्ताहरूले ।
किन छापियो पत्र ?
संविधान जारी भएपछिको पहिलो चुनाव भएकाले बढीभन्दा बढी मतदातालाई निर्वाचनमा सहभागी गराउन पत्र छापिएको र हवाइपत्र नै प्रभावकारी ठानिएको रिमालको ठम्याइ छ ।
“चिठी पठाउँमा मतदातासँगको सम्वन्ध अझ प्रगाढ र न्यानो भएको हामीले पाएका छौँ । सबै मतदाताको बीचमा अध्यक्ष ओली पुग्न सक्ने सम्भावना छैन । त्यसैले अध्यक्ष पुगेसरह नै हुने गरी हामीले भाषाशैली बनाएर पत्र पठाएका हौँ,” उनले थपे ।
उनले अघिपछिको भन्दा यसपटकको चुनाव विशेष महत्त्वको भएकाले सबै मतदाताकाबीचमा पार्टी पुगोस् भन्ने अभिप्राय राखेर पत्र पठाइएको जिकीर गरे ।
“अघिपछि उमेदवार आफैँले ‘तपाईंको घरमा आउन सकिनँ, मत दिनूहोला’ भन्ने आशयको पत्र छापेर पठाउनुहुन्थ्यो । यसपटक भने अध्यक्ष ओलीकै नामबाट घरघरमा पार्टी पुगोस् भन्ने ध्येयले पत्र पठाएका हौँ,” उनले प्रष्ट्याए ।
चुनावमा गठबन्धन, पत्र केपी ओलीको
एमाले–माओवादी र कुनै कुनै निर्वाचन क्षेत्रमा जनमोर्चा, राप्रपा र स्वतन्त्र हैसियतका व्यक्तिसमेतसँग चुनावी तालमेल गरे पनि पत्र एमाले अध्यक्ष केपी ओलीको एकल नाममा छ । किन त ? गठबन्धन बनाउनुभन्दा अघिदेखि नै पत्रबारे तयारी गरिएकाले गठबन्धनको नामबाट पत्र पठाउन नभ्याइएको रिमालको जिकिर छ । “चुनावमा पो गठबन्धन गर्यौँ त, यो त पार्टीको कुरा हो नि !,” उनले बाह्रखरीसँग भने ।
हवाइपत्रको प्रभावकारिता
व्यक्तिगत नाम लेखेरै पत्र पठाएकाले ‘केपी ओलीले मलाई पनि पत्र पठाए’ भनेर मतदाताहरू उत्साहित भएको रिमालको दाबी छ ।
उनले पत्र पाएपछि कतिपयले स्वतःस्फूर्त फेसबुक ट्विटरमा ‘मैले पत्र पाएँ, अब एमालेलाई मत दिन्छु’ भन्दै पोस्ट गरिरहेको बताउँदै यस किसिमको शैलीले मतदाताको बीचमा आकर्षण पैदा गरेको दाबी समेत गरे ।