काठमाडौं । केही समययता नेपाली सांगीतिक क्षेत्रमा पुराना गीतको रि–रेकर्ड गर्ने प्रचलन बढेको छ । दशकौँ अगाडि रेकर्ड गरेर लोकप्रिय भएका गीत पुनः रेकर्ड गर्ने प्रचलन बढेको हो । पुरानो प्रविधिमा रेकर्ड भएका गीत नयाँ प्रविधिमा रेकर्ड गराउनेको संख्या बढेको हो ।
पुराना गीत संगीतको डिजिटल संग्रह गर्दै आएको म्युजिक नेपालमा रहेका गीत पनि सर्जक तथा स्रस्टाहरूले रि–रेकर्ड गराइरहेका छन् । पुरानो समयमा दर्शकको मन जितेका गीत अहिले स्रस्टा स्वयंले रेकर्ड गरिरहेका म्युजिक कम्पनी म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मा बताउँछन् । यद्यपि, यसलाई ट्रेन्ड नै चलेको भन्न नमिल्ने उनको भनाइ छ ।
पछिल्लो समय गीतसंगीत रेकर्डिङ महँगो हुँदै गएको छ । सिंगल ट्रयाक रिलिज गर्ने चलन आएपछि म्युजिक भिडियो निर्माण अनिवार्य जस्तै भइसकेको छ । म्युजिक भिडियो बनाउनै पर्ने भएपछि गीत महँगो भएको हो । तर लगानी उठ्ने सम्भावना भने न्यून छ । त्यसैले कतिपय व्यक्तिले पुराना गीत नै रेकर्ड गराइरहेका उनको भनाइ छ ।
“धेरै वर्ष पहिलो सीडी तथा क्यासेटमा रेकर्ड गराएका गीतको साउन्ड क्वालिटी हुँदैन । तर अहिले हाम्रो कान क्वालिटी साउन्ड सुन्न बानी परिसकेको छ,” सन्तोष भन्छन्, “त्यसैले अहिलेको डिजिटल क्वालिटीमा गीत रेकर्ड गराउनेहरू पनि हुनुहुन्छ, यसले साउन्ड क्वालिटीमा पुराना गीत सुन्न सकिने वातावरण बनिरहेको छ ।”
आफू गाउन सक्ने हुँदाहुँदै किन अरुलाई गाउन दिने भन्ने मनासयले पनि कतिपय अग्रज गायक/गायिकाले पुराना गीत पुरानै मेलोडीमा नयाँ साउन्ड सिस्टममा रेकर्ड गराइरहेका उनको भनाइ छ ।
अनुमति नलिइ कभर
यसबाहेक कभर गाउने चलन पनि बढेको छ । यो विशेषतः युवा पुस्तामा लोकप्रिय छ । कभर गर्नु आफैँमा नराम्रो होइन । तर यसको पनि आफ्नै प्रक्रिया छ । कानुनी प्रक्रिया पूरा गरेर मात्र कभर गर्न पाइन्छ । यो अन्तर्राष्ट्रिय अभ्यास नै हो ।
“कभर भर्सनलाई कम्पलसरी लाइसेन्सिङ भनिन्छ । भारतदेखि विश्वका अधिकांश देशमा कपिराइट कानुन छ । जसले कभर गर्नेले रोयल्टी तिर्नुपर्छ भन्छ,” सन्तोष स्पष्ट पार्छन्, “कपिराइट कानुनले रोयल्टी बुझाउने संस्थालाई दश प्रतिशत रोयल्टी बुझाउनुपर्छ । यसरी कलेज तथा योङस्टरमा कभर गर्ने प्रचलन नै हुन्छ ।” तर यो अभ्यास भने नेपालमा खासै नरहेको सन्तोष बताउँछन् ।
नेपालमा पछिल्लो समय युट्युबमा कभर गर्ने तर स्वीकृति नलिने गरिएको उनको भनाइ छ । यसले कतिपय म्युजिक कम्पनी र सर्जक तथा स्रस्टालाई तनावसमेत दिने गरेको छ ।
ट्रिब्युट दिनेबाहेक अन्य प्रयोजनका लागि गाउँदा स्वीकृति लिनुपर्ने भन्दै उनी भन्छन्, “रियालिटी शोमा गाउनु पनि वास्तवमा कभर नै हो । तर कति रियालिटी शोले हामीसँग कन्ट्रयाक साइन गर्नुहुन्छ । यसरी आएको रोयल्टी हामी ओर्जिनल स्रस्टालाई दिन्छौँ । पैसा उठाउन गाह्रो छ, तर कन्ट्रयाक साइन भने गरेका हुन्छन् ।”
कभर गरेका गीत भए पनि युट्युबले मोनिटाइज नगरेको अवस्थामा भने आफ्नो प्लेटफर्मममा राख्न दिन्छ । त्यसबाट आएको रोयल्टी युट्युबले ओर्जिनल आर्टिस्टलाई नै दिन्छ । तर कभर गाएर मोनिटाइज गर्ने प्रयास गरेको खण्डमा भने युट्युबले ओर्जिनल स्रस्टासँगको स्वीकृति खोज्छ । युट्युब अमेरिकाको कानुनअनुसार चल्छ ।
“प्रविधि विकास भएर नयाँ फड्को मारिसके पनि नेपालको कानुन पनि अझै पुरानै छ । प्रविधिको विकासले गीत हेर्ने भइसक्यो । हामी २०५९ को कानुनअनुसार चलिरहेका छौँ,” सन्तोष भन्छन्, “त्यसैले कानुन परिमार्जन गर्नुपर्ने अवस्था छ । कानुन संशोधन भयो भने धेरै कुराको संबोधन हुन्छ । गैरकानुनी रूपमा हुने कभर पनि कम होला ।”
कतिपय गायक/गायिकाले आफू हराइन्छ भन्ने त्रासले पनि आफ्ना गीत धेरै वर्षपछि आफैँले गाइरहेको उनको भनाइ छ । आफ्नो गीत अरुले गाउँदा हराइन्छ कि भन्ने भय रहेको सन्तोष सुनाउँछन् । तर कभर गर्दैमा ओर्जिनल स्रस्टा हराउँछ भन्ने पक्षमा सन्तोष छैनन् । “हराइसकेको अथवा ओझेलमा परिसकेको गीत फेरि नयाँ पुस्तामा आउँछ । तर यो हुँदा नियमकानुन अनुसार भने हुनुपर्छ,” उनी भन्छन्, “कभर गरेर पैसा कमाउने तर ओर्जिनल स्रस्टालाई नदिने भने गर्नु भएन । ओर्जिनल प्रोडुसरले भने पाउनुपर्छ ।”
पछिल्लो समय गीत रेकर्ड हुने क्रम केही बढे पनि रिटर्न्स भने नरहेको उनको भनाइ छ । यसले गायक/गायिका र प्रोडुसरको मनोविज्ञान कमजोर बनाइरहेको छ । अर्काले बनाइदिएको प्लेटफर्म र सिस्टममा बसेर धेरै रिटर्न्स लिन नसकिने उनको भनाइ छ ।
“अहिले पनि हामीले युट्युबमा हाम्रा सामग्री फ्रिमै राखेका हौँ । युट्युबले हामीलाई विज्ञानपनको पैसा मात्रै दिएको हो । कन्टेनको पैसा दिएको होइन,” सन्तोष भन्छन्, “कन्टेन हेरेको पैसा दिएको होइन । जबसम्म हाम्रो आफ्नै प्लेटफर्म लोकप्रिय हुँदैन तबसम्म राम्रो कमाइ गर्न सक्दैनौँ । हाम्रो सांगीतिक क्षेत्रको विकास हुँदैन ।”
म्युजिकका आफ्नै एप
स्पोर्टीफाई जस्तै नेपाली एप डाउनलोड गरेर पैसा तिरेर गीतसंगीत हेर्ने र सुन्ने वातावरण नबनेसम्म रिटर्न्स राम्रो नहुने उनको भनाइ छ । “आफ्नै एप नभएसम्म र पैसा तिरेर गीतसंगीत हेर्ने सुन्ने वातावरण नबनेसम्म नेपाली सांगीतिक क्षेत्र आफ्नै खुट्टामा उभिनसक्छ भन्ने लाग्दैन । डोमेस्टिक मार्केटबाट राम्रो आम्दानी नभएसम्म यो क्षेत्रको विकास हुन्छ भन्ने लाग्दैन,” उनी अगाडि थप्छन्, “दुई÷चार महिना अगाडिसम्म यहाँबाट जति हेरे पनि नेपालबाट हेरेबापत युट्युबबाट पैसा आउँदैनथियो । बाहिरको मात्रै आउने हो । अहिले चाहिँ अलिअलि दिन थालेको होला, किन भने नेपाली गीतमा पनि विज्ञापन दिन थालेको छ ।” तर यतिले मात्रै नेपाली सांगीतिक उद्योग नबाँच्ने उनको भनाइ छ । नेपाली स्रोता तथा दर्शकले नेपालमै पैसा तिरेर नसुनेसम्म कलाकार र सांगीतिक उद्योग बाँच्न नसक्ने उनी बताउँछन् ।
सीडी तथा क्यासेटको जमानामा राम्रो क्यासेट ५/६ लाख कपि बिक्री हुने र त्यसबाट राम्रो कमाइ हुने गरेको सन्तोष स्मरण गर्छन् । डिजिटलमा गीतसंगीत जाँदा त्यसले ठूलो माइलेज पाए पनि प्रोडुसर र स्रस्टाले त्यसबापत कमाउन भने नसकेको उनी प्रष्ट पार्छन् ।
केही नेपाली एप रहे पनि त्यसमा ठूलो आकर्षण नरहेको उनको गुनासो छ । म्युजिक नेपालकै मम एप छ । जसमा ८० रुपैयाँमा एक महिना गीत, म्युजिक भिडियो र चलचित्र हेर्न पाइन्छ । “यति सस्तो भए पनि यो एप धेरै डाउनलोड भइरहेको छैन । एक महिनाका लागि ८० रुपैयाँ पनि तिर्न मान्छे तयार छैनन्,” सन्तोष भन्छन्, “हाम्रा आफ्नै प्लेटफर्म धेरै डाउनलोड नहुँदा र हामी रियालिटी शोहरूसँग सहकार्य गरेर भोटिङबाट आउने केही परसेन्टेजका भरमा बाँचिरहनु परेको छ ।” एप सब्सक्राइब भएर ‘सस्टेन’ हुने अवस्था नरहेको उनी सुनाउँछन् । गीतसंगीतको एप गीतसंगीतबाटै चल्नु पर्नेमा त्यसो हुन नसक्नु दुर्भाग्य भएको उनको भनाइ छ । झट्ट हेर्दा यसको नाफा वा घाटा लगानीकर्तासँग जोडिनेजस्तो देखिए पनि त्यसको परोक्ष असर कला क्षेत्रसँग सम्बद्ध सबै व्यक्ति र संस्थामा परिरहेको उनको तर्क छ ।
पैसा तिरेर गीत सुन्ने बानी छैन
नेपाली नागरिकले पैसा तिरेर नेपाली गीत सुन्ने÷हेर्ने गरेको खण्डमा नेपाली सांगीतिक उद्योगमा ठूलो सम्भावना रहेको उनको भनाइ छ ।
अढाई करोड नेपालीसँग एन्ड्रोइड मोबाइल रहेको र त्यसको १० प्रतिशतले मात्रै महिनाको ८० रुपैयाँ तिर्ने हो भने राजस्व पनि धेरै उठ्ने र कलाकारले पनि मोटो रकम रोयल्टीवापत प्राप्त गर्नसक्ने सम्भावना रहेको सन्तोष बताउँछन् ।
“अहिले राम्रो गायिकगायिका बाहिर गएर गीत गाएर बाच्नुपर्ने अवस्था छ । गायक/गायिकाले मुस्किलले केही कमाइ गरे पनि लेखक र कम्पोजरलाई कठिन छ,” उनी भन्छन्, “जबसम्म हाम्रा आफ्नै प्लेटफर्ममार्फत् हामी पैसा तिरेर गीत हेर्दैनौँ, तबसम्म हाम्रो सांगीतिक उद्योगको विकास र विस्तार हुँदैन । हाम्रा कलाकार समृद्ध हुँदैनन् ।”