क्यालिफोर्निया । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीका अधिकारीहरुले एफबीआइलाई बुधबार एउटा त्यस्तो तस्बिर बुझाएका छन् जसमा एक प्रदर्शनकारी विद्यार्थीको टाउकोमा हमासको जस्तै हेडब्यान्ड बाँधिएको थियो । अमेरिकाले आतंककारी घोषणा गरेको हमासका योद्धाहरूले यसअघि गाजा क्षेत्रमा प्रदर्शन गर्दा टाउकोमा हरियो रंगको त्यस्तै हेडब्यान्ड लगाएको मिडियामा आएको थियो ।
अमेरिकाका विभिन्न युनिभर्सिटीमा जस्तै सो युनिभर्सिटीमा इजरायल विरोधी अर्थात् प्यालेस्टाइन समर्थकको प्रदर्शन भइरहेको छ ।
सो युनिभर्सिटीका विद्यार्थीले पनि अन्य युनिभर्सिटीमा जस्तै युनिभर्सिटीको कम्पाउण्डमा टेन्ट लगाएर बसेका छन् । ती टेन्ट उत्तरी क्यालिफोर्नियाको कलेज क्याम्पसको व्हाइट प्लाजामा लगाइएको छ ।
तीमध्येको एउटा टेन्टका प्रदर्शनकारीले हरियो रंगको हेडब्यान्ड लगाउनुका साथै अनुहार छोपेका थिए र चश्मा पनि लगाएका थिए । त्यसले युनिभर्सिटी प्रशासकको ध्यान तानेको थियो ।
“सोसल मिडियामा पनि आएको सो तस्वीरको बारेमा हाम्रो ध्यानाकर्षण भएको छ । जसमा ह्वाइट प्लाजामा रहेका एक व्यक्ति हमासको जस्तै हरियो हेडब्यान्ड लगाएरर बसेको देखिएको छ,” युनिभर्सिटीका तर्फबाट बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, “यो गम्भीर रुपमा दुःख दिने कुरा हो । अमेरिकाले हमासलाई आतंककारी संगठन तोकेको छ । हामीले सो व्यक्तिलाई चिन्न सकेनौं तर तस्बिर एफबीआइलाई पठाइएको छ ।”
युनिभर्सिटीका प्रवक्ताले त्यसबारेमा थप टिप्पणी गर्न अस्वीकार गरेका छन् । स्ट्यान्फोर्डका अध्यक्ष रिचार्ड सेलर र प्रोभोस्ट जेन्नी मार्टिनेजले युनिभर्सिटीभित्र क्याम्प बनाएर रातभरी बस्नु नीतिगत रुपमा निषेध गरिएको जनाउँदै यसबारेमा अफिस अफ कम्युनिटी स्ट्याण्डर्डलाई सूचित गरेर अनुशासनात्मक प्रक्रिया अघि बढाउन भनिएको जनाएका छन् ।
प्रदर्शनका आयोजकले भने विद्यार्थी आन्दोलनप्रतिको युनिभर्सिटीको प्रतिक्रियामा निन्दा गरेरको छ । फक्स न्युजबाट