site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युवा युक्रेनसँग, परिवार नेपाल सरकारसँगको लडाइँमा !

काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवार तथा आफन्तले काठमाडौंमा अनसन सुरु गरेको बुधबार १३ दिन पुगेको छ । 

रुसी सेनामा नेपालीको भर्ती रोक्नुपर्ने, भर्ती भएकालाई तत्काल फिर्ता ल्याउनुपर्ने, युक्रेनसँगको युद्धमा मारिएका तथा घाइते भएकाका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनुपर्नेलगायतका माग राखी उनीहरूले यही वैशाख ७ गतेबाट अनसन सुरु गरेका थिए ।

“हामी तीनजना आमरण अनसन र ६०/७० जना रिले अनसन बसिरहेका छौं,” रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउने अभियानको नेतृत्व गरिरहेकी कृतु भण्डारीले बाह्रखरीसँग भनिन् ।

Dabur Nepal
NIC Asia

वैशाख ६ गते सिंहदरबारको दक्षिणगेट अगाडि अनसन सुरु गर्ने उनीहरूको योजना थियो । त्यहाँ उनीहरूलाई अनसन बस्न दिइएन ।
 
त्यसपछि पीडित परिवारले वैशाख ७ गते काठमाडौंको माइतीघर मण्डलामा अनसन सुरु गरेका थिए । त्यहाँ उनीहरूलाई राति बस्न दिइएन । प्रशासनले प्रहरी लगाइ उनीहरूलाई त्यहाँबाट धपायो ।
 
माइतीघरबाट उनीहरू वैशाख ७ गते नै प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा गइ अनसन बसे । अनसन सुरु गरेको छैठौं दिन उनीहरूलाई अनसन बसिरहेको स्थल भृकुटीमण्डपबाट प्रहरीले कुटपिट गर्दै उठाइ सिंहदरबार लग्यो । 

त्यसैदिन साँझ उनीहरूलाई भृकुटीमण्डपमा नबस्न भन्दै प्रहरीले छोड्यो ।

“भृकुटी मण्डपमा पनि अनसन बस्न नपाएपछि हामी शान्तिबाटिकामा बसिरहेका छौं,” भण्डारीले भनिन्, “हामी हाम्रो देशका नागरिकको सुरक्षा माग गर्दै अनसन बसिरहेका छौं । तर सरकार आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्नभन्दा हामीलाई लखेटिरहेको छ ।”

सन् २०२२ फेब्रुअरी २४ बाट सुरु भएको रुस–यक्रेन युद्धमा हालसम्म १९ जना नेपालको मृत्यु भएको औपचारिक पुष्टि भइसकेको छ । थप १५ जना मारिएको आशंकामा रुसले सम्बन्धित नेपाली परिवारसँग डीएनए रिपोर्ट मागेको छ । 

उनीहरू सबैको मृत्यु रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्ने क्रममा भएको हो ।  यसका अतिरिक्त रुसी सेनामा भर्ती भएका पाँचजना नेपालीलाई युद्धका क्रममा युक्रेनी सेनाले पक्राउ गरी युद्धबन्दी बनाएको छ ।

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गर्न अनुरोध गर्ने परिवारको संख्या ६ सय नाघेको भण्डारीले बताइन् । युक्रेनसँग युद्धका क्रममा आफ्नो ठूलो संख्यामा सेना हताहत भएपछि रुसले नेपालीलाई विभिन्न प्रलोभन देखाई भर्ना गर्न थालेको हो । 

रुसी सेनामा हालसम्म कति नेपाली भर्ती भएका छन् त्यसको यकिन विवरण नेपाल सरकारसँग छैन । रुसी सेनामा नेपालीको भर्तीलाई सरकारले अवैधानिक बताउँदै आएको छ । 

सरकारले पटक–पटक रुससँग भर्ती भएका नेपालीको विवरण, भर्ती रोक्न, भर्ती भएकालाई फिर्ता पठाउन, मृत्यु भएकाको शव पठाउन, मृत्यु र घाइते भएकाको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन आग्रह गदै आएको छ । तर रुसले नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको छ ।

रुसी सेनामा भर्ती भएकाहरूले आफूहरू मृत्युको मुखमा रहेको र आफूहरूलाई स्वदेश फर्काउन पहल गर्न अनुरोध गरेपछि आफन्तले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा गई निवेदन दिएका थिए ।
 
रुसी सेनामा भर्ती भएका परिवारका सदस्यलाई सरकारले फिर्ता ल्याउन चासो नदेखाएको महसूस गरेपछि पीडित परिवारले अनसन सुरु गरेका हुन् । अनसनरत उनीहरूलाई तीनपटक प्रहरीले पक्राउ गरी लग्दै छाड्दै गरेको भण्डारीले बताइन् ।

“हामीले आमरण अनसन र अनसन सुरु गरेको १२ दिन भयो । केही साथीहरूको स्वास्थ्य बिग्रिएको छ । हाम्रा माग सुन्न सरकारका कुनै प्रतिनिधि आएका छैनन् । हामीले ठूलो माग राखेका छैनौं । मात्र भनेका छौं– नेपाली नागरिकको जीवन रक्षा गरिदेउ,” भण्डारीले मंगलबार बताइन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले रुसी सेनामा भर्ती भइरहेका नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा रुसी अधिकारीहरूसँग कुराकानी भइरहेको बताए । “कुराकानी भइरहेको छ । देखाउन मिल्ने प्रगति भइसकेको छैन,” उनले भने ।

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीमध्ये ७ जनालाई क्षतिपूर्ति दिने प्रक्रिया रुसले सुरु गरेको उनले जनाए ।  रुसले मागेअनुसार क्षतिपूर्तिका लागि आवश्यक कागजात बनाउने र पठाउने काम भइरहेको उनले जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro