चौतारी (चौपारी) भनिने वरपिपल, समी वा अरू कुनै ठूला रुखको वरपर प्रायः ढुंगाले चिठेर बस्ने ठाउँ बनाइएको सार्वजनिक विश्राम स्थल पनि केही दशक यता सङ्कटमा परेका छन् । मासिने गति यस्तै रह्यो भने केही दशकपछि ‘चौतारी’ शब्दकोमा सीमित हुने देखिन्छ ।
बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिका क्रममा सडक किनारमा रहेका तीन सयभन्दा बढी वरपिपलका चौतारा काटिएको समाचारले यसको सङ्कटापन्न अवस्था उजागर भएको छ । सडक स्तरोन्नतिको पहिलो चरणमा सडक किनारमा रहेका तीन सयभन्दा बढी चौताराहरू कटानमा परेका हुन् ।
यसक्रममा रुख पनि काटिएका छन् । त्यसरी काटिएका रुख त नयाँ वृक्षरोपणबाट पूर्ति पनि गरिनसक्छन् । तर, चौताराहरूको भने अस्तित्व सधैँका लागि समाप्त हुने जोखिक बढी देखिन्छ । यसै पनि चौताराहरूको उपेक्षा गर्न थालिइसकेको छ ।
नेपाली समाजमा विशेषगरी पहाडी भेगमा चौताराहरू थाकेका बेला सुस्ताउने, घामपानीमा ओत लाग्ने विश्रामस्थलका साथै सामाजिक जीवनका केन्द्र पनि हुन् । लामो कालखण्डसम्म त चौतारा नै गाउँलेहरूका लागि सामाजिक, सांस्कृतिक परम्परा कायम राख्ने सार्वजनिक मञ्च रहिआएका थिए ।
पछिल्ला दिनमा सडकजस्ता भौतिक संरचनाको निर्माण र विस्तार, व्यक्तिहरूको लालची प्रवृत्ति तथा जनउपेक्षाको मार चौताराहरूमाथि पनि परेको देखिएको छ । मूलबाटो नै अपायकमा परेपछि त्यसका छेउमा बनाइएका चौताराहरूप्रति ध्यान नजानु पनि अस्वाभाविक होइन ।
नेपालका हकमा भने चौतारा सामाजिक परम्पराको जीवन्त उदाहरण हुन् भने सांस्कृतिक निरन्तरताका उदाहरण पनि हुन् । चौतारो बाटाघाटामा बनाइएका भौतिक संरचनाभन्दा पनि बढी सांस्कृतिक परम्परा र सामाजिक सम्बन्धका केन्द्र पनि हुन् ।
संरचना र उपयोगमा केही अन्तर भए पनि विभिन्न प्रकारको चौताराको प्रचलन नेपालभरमात्र होइन दक्षिण र पूर्वी एसियाका साथै अफ्रिकामा पनि पाइन्छ । तर प्रायः व्यक्ति वा परिवार विशेषले चिनेर छाडेका नेपालका अधिकांश चौतारा कुनै न कुनै सम्झना जोडिएका हुन्छन् । ती मासिए भने स्थानीय इतिहास पनि नाश हुनेछन् ।
कदाचित् कुनै चौतारा बृहत्तर हितका लागि भत्काउनै परेका खण्डमा सकेसम्म नजिकै अर्को बनाउनुपर्ने कानुन निर्माण गर्न सके यो परम्परागत सामाजिक केन्द्र र संस्कृति जोगाउन सकिनेछ । पुर्खाले सन्ताका लागि छाडेको अमूल्य नासोमध्येको चौतारा जोगाउन सरकार र समाजको ध्यान जानु आवश्यक छ ।
मन्दिरको जस्तै चौताराको पनि पुरातात्विक तथा सांस्कृतिक महत्त्व हुन्छ । नेपालको गाउँले संस्कृतिका प्रतिविम्बका रूपमा रहेका चौताराहरूको संरक्षणका लागि राज्यले विशेष ध्यान नदिने हो भने केही दशकमा यिनको अस्तित्व नै लोप हुनसक्ने देखिन्छ ।
चौताराहरूको संरक्षणका लागि ठूलो धनराशि वा प्राविधिक क्षमता आवश्यक पनि हुँदैन । यस्तै सबै स्थानीय पालिकाहरूलाई अग्रसर र संलग्न गराउन सके धेरै समय पनि लाग्नेछैन । चौताराको महत्त्व बुझेर संरक्षणको अभियान सञ्चालन गर्ने सरकारको अठोट नै पर्याप्त हुनेछ ।
चुरे संरक्षणका लागि राष्ट्रपतिका नाममा परियोजना सुरु गरिए वा रोजगारीका लागि प्रधानमन्त्रीका नाममा योजना लागु गरिएजस्तै चौतारा संरक्षणका लागि पनि अभियान चलाइनु उपयुक्त हुनेछ । कारण एउटाचौतारो जोगाउनु नेपाली समाजको मूल्य, आत्मा र वातावरणीय गरिमाको संरक्षण गर्नु पनि हो ।