
काठमाडौं । काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोष राजावादी भनिने धादिङका सन्तोषकुमार सिलवाललाई पक्राउ गरेको छ । गएको चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनक्रममा आगजनी, तोडफोड, लुटपाट गरिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो । शुक्रबार (वैशाख ५) राति उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं एसपी सुधीरराज शाहीले जानकारी दिए ।
काठमाडौंको महादेवस्थानस्थित एउटा घरबाट सिलवाललाई पक्राउ गरिएको उनले बताए । “कोटेश्वर, महादेवस्थानबाट उनलाई (सन्तोष सिलवाल) हिजो राति साढे १२/१ बजेतिर पक्राउ गरेका हौँ,” एसपी शाहीले बाह्रखरीसित भने ।
तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि ‘फरार’ सिलवाल प्रहरीको खोजी सूचीमा थिए । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो ।
प्रहरीले फरार रहेको भनेकै बेला उनी सार्वजनिक रूपमा देखिएका थिए । शुक्रबारै (वैशाख ५) दिउँसो उनी काठमाडौंमा पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । भिडियो लाइभ गरिएको उक्त पत्रकार सम्मेलनमा उनले ‘राज्य’विरुद्ध अनेक आरोप लगाएका थिए ।
उनलाई पक्राउ गर्न सीआईबीले शुक्रबार बेलुका निर्देशन प्राप्त गरेको थियो । त्यसपछि करिब चार घण्टाको समयमा उनलाई पक्राउ गरिएको हो । घटनाको अनुसन्धान भने जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ ।
सिलवाललाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । परिसरले नै मुद्दा प्रक्रिया अघि बढाउनेछ ।
“हामी (सीआईबी)ले उनलाई राति नै जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइसक्यौँ,” एसपी शाहीले भने ।
सिलवाल राजसंस्था पुनर्स्थापनाका निम्ति अभियान चलाउँदै आएको एनी टाइम फोर्स (एटीएफ) नामक समूहका संयोजक भएको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोही समूहमा आबद्ध युवाले तीनकुनेको एउटा निजी घरमा आगजनी गरेका थिए । आगजनीमा संलग्नमध्ये रामेछापका २२ वर्षीय सरोज गौतम र अछामका २० वर्षीय गोकर्ण शाहीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरू दुवैजना एटीएफका सदस्य रहेका प्रहरीले जनाएको छ ।
उक्त आगजनीमा परेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । यस्तै, प्रहरीको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो ।
अभद्र व्यवहार गरेको आरोपमा सिलवाल ०८० सालमा पनि पक्राउ परेका थिए ।
तीनकुने प्रदर्शनमा संलग्न केही व्यक्तिलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाइसकेको छ ।