
काठमाडौं । विपद्का घटनाले वर्ष २०८१ मा केही नयाँ रेकर्डहरु बनायो । पहिलो रेकर्ड थियो– नेपालको इतिहासमै सबैभन्दा ठूलो वर्षा मापन । दोस्रो, २०७२ सालपछि विपद्का घटनाले सबैभन्दा धेरै मानिसको ज्यान २०८१ सालमा लियो ।
र, तेस्रो– हालसम्मै सबैभन्दा बढी विपद्का घटना २०८१ सालमा रेकर्ड गरियो ।
२०८१ असार २३ र २४ गते नेपालको इतिहासमै सबैभन्दा ठूलो वर्षा मापन गरियो ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागकाको तथ्याङ्कअनुसार असार २४ गते बिहान २४ घण्टाको अवधिमा कञ्चनपुरको दोधारा वर्षा केन्द्रमा ६२४ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
यस्तै, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिलिमिटर र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
पछिल्लो ७८ वर्षको तथ्याङ्कले नेपालमा सबैभन्दा ठूलो वर्षा २०८१ असार २३ र २४ गते सुदूरपश्चिम क्षेत्रमा भएको देखायो । नेपालको इतिहासकै सबैभन्दा ठूलो वर्षाले तीन जनाको ज्यान लियो ।
यसअघि ३१ वर्षअघि अर्थात् २०५० सालमा नेपालमा सबैभन्दा ठूलो वर्षा मापन गरिएको थियो ।
२०५० साउन ५ गते मकवानपुरको टिस्टुङ वर्षा केन्द्रमा ५४० मिलिमिटर वर्षा मापन गरिएको थियो । त्यसअघि चौबिस घण्टामा त्यति ठूलो वर्षा नेपालमा मापन गरिएको थिएन ।
२०५० साउन ३ देखि ६ गतेसम्म अविरल ठूलो वर्षा देशैभरी भएको थियो । साउन ५ गते सबैभन्दा ठूलो वर्षा मापन गरिएको थियो ।
२०५० सालमा भएको मनसुनजन्य विपद् (बाढी, पहिरो, भारीवर्षा र चट्याङ)का घटनाले नेपालको इतिहासमा एकै वर्ष सबैभन्दा ठूलो क्षति गरेको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार २०५० साउन ५ गतेको मुसलधारे वर्षाले देशभर एक हजार १७० जनाको ज्यान लिएको थियो । पाँच लाख मानीस प्रभावित भएका थिए भने ४२ हजार ९९५ हेक्टर जग्गामा लगाईएको कृषि बालीमा असर गरेको थियो ।
तर २०८१ सालमा त्योभन्दा पनि ठूलो वर्षा हुँदा आवश्यक सावधानी र सतर्कता अपनाइएका कारण जनधनको क्षति कम भएको भनाई पोखरेलको छ । २०८१ असोज १० देखि १३ गतेसम्म राजधानी काठमाडौं लगायतका क्षेत्रमा परेको आरिघोप्टे वर्षाले ठूलो जनधनको क्षति गरेको थियो ।
चार दिनको वर्षाले २५० जनाभन्दा बढीको ज्यान लियो भने ४६ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी गरेको थियो ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार २०८१ सालमा देशभर ८ हजार ९१५ वटा विपद्का घटनाहरु रेकर्ड गरिए । यति ठूलो संख्यामा विपद्का घटना यसअघि रेकर्ड भएका थिएनन् ।
रेकर्ड भएको विपद्का घटनामा– बाढी, पहिरो, चट्याङ, भारी वर्षा, आगलागी, जनावर आक्रमण, हवाई दुर्घटना, सर्पदंश, वन डढेलो, हावाहुरी, हिउँ पहिरो लगायतका घटना समेटिएको छ । सडक दुर्घटना यसमा समावेश गरिएको छैन ।
२०८१ सालमा विपद्का घटनामा परी ७४६ जनाले ज्यान गुमाएको केन्द्रको तथ्याङ्कले देखाउँछ । २०७२ सालपछि गत वर्ष विपद्का घटनाले सबैभन्दा बढीको ज्यान लिएको देखिन्छ ।
२०७२ सालमा विनाशकारी भूकम्प र अन्य विपद्का कारण ९ हजार २७३ जनाको मृत्यु भएको थियो ।
केन्द्रको तथ्याङ्क अनुसार २०८१ सालमा विपद्का घटनामा परी ६९ जना बेपत्ता भए, जसको अत्तोपत्तो अझै छैन । उक्त वर्ष विपद्का घटनामा परी १ हजार ७११ जना घाइते भएका थिए ।
विपद्का घटनाले २०८१ सालमा ७ हजार ७५३ घरमा आंशिक क्षति, ३ हजार ९२२ घरामा पूण क्षति र ५० अर्बभन्दा बढीको आर्थिक क्षति गरेको तथ्याङ्कले देखाउँछ ।
पछिल्ला वर्षहरुमा सरकारले विपद् जोखिम न्यूनिकरणमा खर्च बढाए पनि यसले गर्ने क्षति कम गर्न सकेको छैन । प्रत्येक वर्ष घटना बढीरहेका छन्, मानविय र आर्थिक क्षति पनि बढीरहेको छ । किन यस्तो भइरहेको छ त ?
“मानिसकै कारण यस्तो भएको हो । पछिल्लो समय खोला नजिक, भिरालो भूभागमा र डाँडाको टुप्पामा घर बनाउने क्रम बढ्यो । यसले जोखिम र क्षति दुवै बढायो,” राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेलले बाह्रखरीसँग भने ।
गत वर्ष पहिरोमा परी ३५१, बाढीमा परी ९७, चट्याङ् लागेर ७८, आगलागीमा परी ७७, जनावरको आक्रमणमा परी ४३, लोक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशका कारण १९, वन डढेलोमा परी १०, हावाहुरीका कारण ७, भारी वर्षाका कारण र अन्य कारण ९ जनाको मृत्यु भएको थियो ।
२०८० सालको तुलनामा २०८१ मा विपद्का घटनामा परी २४७ जना बढीको ज्यान गएको छ ।
२०८० सालमा रेकर्ड भएका ६ हजार ३८९ वटा विपद्का घटनामा परी ४९९ जनाको मृत्यु, ३१ जना बेपत्ता र १ हजार ६११ जना घाइते भएका थिए ।
“विपद्को जोखिम र क्षति बढेपछि त्यसलाई न्यूनिकरण गर्न हामीले प्रयास पनि बढाउनु पर्छ । यसको लागि दक्ष जनशक्ति बढाउनु पर्छ ।
बजेट र प्रविधिको प्रयोग बढाउनु पर्छ,” प्राधिकरणका पूर्व कार्यकारी प्रमुख पोखरेलको तर्क छ ।
केन्द्रको तथ्याङ्कअनुसार विपद्का घटनाले २०६८ सालमा ५१९ जना, २०६९ मा ४३३ जना, २०७० मा ४२९ जना, २०७१ मा ५२१ जना, २०७२ मा ९ हजार २७३ जना, २०७३ मा ४८६ जना, २०७४ मा ५८८ जना, २०७५ मा ४५५ जना, २०७६ मा ४०७ जना, २०७७ मा ५९४ जना, २०७८ मा ५०८ जना, २०७९ मा ४८४ जना, २०८० मा ४९९ जना र २०८१ मा ७४६ जनाको ज्यान लिएको छ ।
बितेको १४ वर्षमा विपद्का घटनाबाट प्रत्येक वर्ष औसतमा १ हजार ११३ जनाभन्दा बढीको मृत्यु भएको केन्द्रको तथ्याङ्कले देखाउँछ ।
आउँदा दिनमा विपद्का घटनाबाट हुने जोखिम कम गर्न नीति निर्माणमा व्यापक ध्यान दिनुपर्ने पोखरेल बताउँछन् ।
हरेक विकास निर्माणका कार्य सुरु गर्नुअघि विपद् जोखिम मूल्यांकन गर्नुपर्ने र त्यसको आधारमा विकास निर्माण अघि बढाए भविष्यमा जोखिम कम हुने विश्वास उनको छ ।